गोरखाको जीवनज्योति माविमा शैक्षिक सुधारको नयाँ ‘मोडेल’

रमेश दवाडी १० पुष २०८२ ७:४८
98
SHARES
गोरखाको जीवनज्योति माविमा शैक्षिक सुधारको नयाँ ‘मोडेल’

काठमाडौँ- गोरखाको अजिरकोट गाउँपालिका-३ काफलडाँडामा रहेको जीवनज्योति माध्यमिक विद्यालय पुनः आफ्नो पहिचान फर्काउन जुटेको छ। न्यून आयस्रोत भएका अभिभावक र सीमित स्रोतसाधन भएका कारण विद्यालयले कमजोर शैक्षिक नतिजा निकाल्न थालेपछि सुधार्ने प्रयत्न थालिएको हो।

२०१३ साल फागुन ११ गते साविक हंसपुर गाविस वडा नं ५ का वाणिविलास भट्ट, तीर्थराज अधिकारी, कुलानन्द अधिकारी, टेकनाथ दवाडी, सूर्यप्रसाद दुवाडी र दशरथ अधिकारीको सक्रियतामा स्थापना भएको यस विद्यालयले दशकौँसम्म उत्कृष्ट नतिजासहित यस क्षेत्रका बालबालिकाको भविष्य निर्माणमा भूमिका खेलेको थियो। पछिल्ला वर्षमा कमजोर शैक्षिक नतिजा र घट्दो विश्वासका कारण चुनौती सामना गर्दै आएको थियो। यही अवस्थाबाट माथि उठ्न विद्यालयको चौतर्फी सुधारका साथै कक्षा ९ र १० का विद्यार्थीलाई लक्षित गरी आवासीय पठनपाठन (छात्रावास) कार्यक्रम सुरु गरेको छ।

विद्यालयका प्रधानाध्यापक पर्शुराम अधिकारी विगतको कमजोर नतिजाले विद्यालयप्रतिको विश्वासमा असर पारेकोले त्यसलाई चिर्न सुधारका कार्यक्रम सुरु गरिएको बताउँछन्। ‘हिजो हामी आफैँले पढेको विद्यालयलाई जोगाएर राख्न सकिन्छ कि भन्ने सोचले यो कार्यक्रम सुरु गरेका हौं,’ अधिकारी भन्छन्, ‘विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन सके विश्वासको वातावरण आफैँ बन्छ भन्ने हाम्रो धारणा हो।’

विद्यार्थीलाई नियमित अध्ययनको वातावरण दिई अभिभावकको चिन्ता कम गर्ने उद्देश्यले आवासीय कार्यक्रम अघि बढाइएको उनले बताए। त्यसका लागि शिक्षकलाई निरन्तर खटाइएको छ।

विद्यालयमा हाल ८६ जना विद्यार्थी अध्ययनरत छन् भने शिक्षक र कर्मचारी गरी १५ जना जनशक्ति कार्यरत छन्। विद्यालयको छात्रावासमा २२ जना विद्यार्थी बसोबास गर्छन्। विज्ञान, गणित र अंग्रेजी विषयका शिक्षक पालैपालो निरन्तर रूपमा खटिएका छन्। अतिरिक्त कक्षा, नियमित पुनरावृत्ति र निगरानीसहितको पठनपाठनले विद्यार्थीमा पढाइप्रतिको अनुशासन र आत्मविश्वास बढ्दै गएको शिक्षकहरूको अनुभव छ।

प्रधानाध्यापक अधिकारीले शैक्षिक सत्र नसकिँदासम्म कार्यक्रमलाई निरन्तरता दिने र आवश्यक सहयोग जुट्दै गएमा विद्यालयलाई दीर्घकालीन रूपमा आवासीय मोडेलमै अघि बढाउने सोच बनाएको  बताए।

शैक्षिक सुधारका लागि गरिएको सहयोग आह्वानमा हालसम्म ४० हजार रुपैयाँ नगद तथा ९ हजार रुपैयाँ बराबरको जिन्सी सामग्री प्राप्त भएको छ। केही सहयोगीले वार्षिक रूपमा ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। वडा कार्यालयबाट पनि विद्यालयलाई सहयोग प्राप्त भएको छ र थप सहयोगका लागि कार्ययोजना बनाएर पेस गर्ने तयारी भइरहेको प्रधानाध्यापक अधिकारीले बताए।

उनी भन्छन्,‘ वडा कार्यालय, अभिभावक, पूर्वविद्यार्थीबाट विद्यालयलाई सहयोग भएको छ। कार्ययोजना बनाएर वडामा पेस गर्छौं। अजिरकोट गाउँपालिकाभित्र रहेका विद्यालयहरूमध्ये अग्रभागमा पर्न सफल हुन्छौं कि भन्ने हाम्रो सोच छ। त्यही तयारीका साथ अगाडि बढेका छौँ।’

विद्यालयका शिक्षक केशव दवाडीका अनुसार माध्यामिक शिक्षा परीक्षा (एसईई) लक्षित कक्षा भइरहेका छन्। छात्रावासमा बिहानको अतिरिक्त सत्रमा विद्यार्थीहरू आपसमा सिक्ने सिकाउने अभ्यासमा सक्रिय छन्। ‘विद्यार्थीले प्रश्न सोध्ने, उत्तर खोज्ने र साथीलाई बुझाउने अभ्यास गर्दा सिकाइ प्रभावकारी भएको देखिन्छ,’ शिक्षक दवाडी भन्छन्। अभियान सफल बनाउन उनले सबै शिक्षाप्रेमीबाट नैतिक, भौतिक र आर्थिक सहयोग तथा मार्गदर्शनको अपेक्षा गरेका छन्।

विद्यालयको शिक्षा सुधार अभियानमा विद्यालयका पूर्वविद्यार्थीले पनि महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्। पूर्वविद्यार्थी कुस्माखर अधिकारीले विद्यालयले आवासीय पठनपाठन सुरु गरेकोप्रति खुसी व्यक्त गर्दै आर्थिक, भौतिक र शैक्षिक सहयोगको आवश्यकता औँल्याए। उनका अनुसार धेरै पूर्वविद्यार्थी देशविदेशमा रहेकाले विद्यालयमा प्रत्यक्ष उपस्थित हुन नसके पनि सामाजिक सञ्जालमार्फत विद्यालयका गतिविधि र सामग्री सेयर गर्दै सहयोगको आह्वान गरिएको छ। ‘जहाँ छौँ, त्यहीँबाट सबैले सक्ने सहयोग गरौँ, सबै मिलेर विद्यालय राम्रो बनाऔँ भन्ने भावना अहिले पूर्वविद्यार्थीमा देखिन थालेको छ,’ उनी भन्छन्।

पूर्वविद्यार्थी रामप्रसाद अधिकारीले उक्त विद्यालयमा राज्यको ठूलो लगानी भएको बताउँदै लगानी खेर जान दिन नहुने बताए। विद्यार्थी तथा अभिभावको मन जित्न नसके जतिसुकै ठूला कुरा गरे पनि त्यसको अर्थ नहुने अधिकारी बताउँछन्। विद्यालय व्यवस्थापन समितिले विद्यालय सुधारमा सहर तथा देशबाहिर रहेका पूर्वविद्यार्थीसँग कुराकानी, अन्तरक्रिया गरेर सहयोगको आह्वान गर्न सक्नुपर्ने अधिकारीले बताए।

अधिकारीले हिमालप्रेससँग भने, ‘विद्यालयले अभिभावक, विद्यार्थीको मन जित्नुपर्छ। विद्यार्थी प्रतिस्पर्धामा उत्रन सकेनन् भने जतिसुकै ठूला कुरा गरे पनि त्यो कुरामै सीमित हुन्छ। त्यसका लागि विद्यालय व्यवस्थापन समितिले ध्यान दिनुपर्छ। सहरमा बसेका, देशबाहिर रहेका पूर्वविद्यार्थीसँग कुराकानी गर्ने, सल्लाहसुझाव लिई अन्तरक्रिया गर्नुपर्छ।’

विद्यालय साझा सम्पत्ति भएकाले जो जहाँ रहेर पनि सहयोग गर्नुपर्ने अधिकारीले बताए। ‘हामी जो जहाँ जसरी बसेका छौं, विद्यालयलाई सहयोग गर्नुपर्छ। विद्यालय हाम्रो सम्पत्ति हो। गाउँमा केही भएन, सबै बिग्य्रो मात्रै भन्ने, भएको एउटा विद्यालय पनि अस्तव्यस्त भएर गयो भने त्यो राम्रो भएन,’ उनी भन्छन्।

उनले विद्यालयको इतिहासलाई आधार मान्दै वर्तमानमा गति दिने विषयमा सबै एकजुट भएर लाग्नुपर्ने बताए। ‘विद्यालयको भौतिक संरचना पर्याप्त छ। शैक्षिकस्तर वृद्धि गर्नका लागि विद्यार्थीलाई सुविधा, सुरक्षा, निःशुल्क छात्रावास, खानपान, आमाबुबाले गरेकोजस्तै माया शिक्षकले गर्ने, शैक्षिक सामग्रीको व्यवस्थापन गरिदिन सक्यौँ भने विद्यार्थी विद्यालयमा अडिन सक्छन्। २०१३ सालमा स्थापना भएको विद्यालयको इतिहासलाई आधार मान्दै वर्तमानमा गति दिने विषयमा सबै एक भएर लाग्नुपर्छ,’ अधिकारीले भने।

विद्यालयलाई विभिन्न व्यक्ति तथा संस्थाबाट सहयोग प्राप्त भइरहेको छ। अजिरकोट-३ काफलडाँडाका सामाजिक व्यक्तित्व भीमबहादुर थापाले छात्रावासका लागि ५ हजार रुपैयाँ सहयोग गरेका छन्। गोरखा नगरपालिका-९ ठिगुरेस्वाँराका गोविन्द बस्नेत र उनकी श्रीमती अम्रिका बस्नेतले एकथान डिस्पेन्सर प्रदान गरेका छन्।

सुशीला अधिकारी स्मृति प्रतिष्ठानबाट पनि डिस्पेन्सर सहयोग प्राप्त भएको छ। स्थानीयवासी ओतबहादुर अधिकारी र चित्रबहादुर अधिकारीले नगद सहयोग गरेका छन्। विद्यालयले यी सबै सहयोगलाई शैक्षिक सुधारतर्फको सामूहिक कदमका रूपमा लिएको छ।

सुशीला अधिकारी स्मृति प्रतिष्ठानले हरेक वर्ष पुस ५ गते स्व.सुशीला अधिकारीको स्मृतिमा प्रदान गर्दै आएको छात्रवृत्ति यस वर्ष पनि वितरण गरेको छ। त्यसअन्तर्गत २०८१ सालको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कक्षा ५ का आभास दुवाडी, कक्षा ८ का अनुप दवाडी तथा गरिब तथा जेहेनदार विद्यार्थी आयान गुरुङलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयले जनाएको छ। यसले विद्यार्थीमा प्रतिस्पर्धा, आत्मविश्वास र पढाइप्रतिको उत्साह बढाएको विद्यालयको भनाइ छ।

विद्यालयले स्वदेश तथा विदेशमा रहेका शुभचिन्तक, पूर्वविद्यार्थी, पूर्वशिक्षक, दाताहरू, जग्गादाता र सरोकारवालालाई विद्यालयको यो सानो तर महत्त्वपूर्ण प्रयासमा हातेमालो गर्न अपिल गरेको छ। ‘मेरो विद्यालय, मेरो जिम्मेवारी’ भन्ने भावनासहित सबैको साझा प्रयासबाट विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने लक्ष्य विद्यालयले लिएको छ। आवासीय अभियानले भोलि विद्यालयको शैक्षिक इतिहासलाई नयाँ मोड दिने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast