बेइजिङमा गुञ्जियो नेपालको आध्यात्मिकता

अजय अलौकिक २३ मंसिर २०८२ १५:५५
24
SHARES
बेइजिङमा गुञ्जियो नेपालको आध्यात्मिकता

बेइजिङ– दिव्यभूमि नेपाल प्राकृतिक सौन्दर्यको खानी हो। नेपाल योग, आयुर्वेद र आध्यात्मिक विचार र उपचारजस्ता प्राचीन सनातन संस्कृतिका लागि परिचित छ। नेपालमा आध्यात्मिक पर्यटन गर्दा पर्यटकले नेपालका पवित्र स्थलहरू र परम्पराहरूको समृद्धिलाई आत्मसात् गरेर आफ्नो आत्मासम्म गहिरो यात्रा गर्न सक्छन्। एक रूपान्तकारी अनुभव गर्न सक्छन्।

बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले मंगलबार नेपालमा आध्यात्मिक पर्यटन सम्बन्धमा एक कार्यक्रम आयोजना गरेको छ। चीन ओहोरदोहोर गरिरहने नेपाली योगगुरु रमेश सिटौला अर्थात् ‘अमर गुरु’ को साथमा उपस्थित चिनियाँहरू योग कार्यक्रममा सहभागी भएका थिए। डेढ घण्टा लामो कार्यक्रममा ध्वनि पात्रको धुनको साथमा सहभागीहरूले ध्यान गरेका थिए। अमर गुरुले उपस्थित चिनियाँहरूलाई ध्यान कार्यक्रममार्फत एकाग्रता र शून्यताको परिचय दिएका थिए।

कार्यक्रमको आरम्भ कार्यवाहक राजदूत रोशन खनालको स्वागत मन्तव्यबाट भएको थियो। खनालले विश्व स्वास्थ्य संगठनको साधारणसभाले सन् २०२४ डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको अवसर पारेर कार्यक्रम आयोजना गर्न पाउँदा खुसी लागेको बताइन्। उनले यस वर्ष अर्थात् सन् २०२५ लाई चीनमा नेपाल भ्रमण वर्षका रूपमा मनाइँदै गरेको अवसरमा नेपालको परिदृश्य योग र ध्यान गर्न चाहनेहरू तथा शान्त वातावरणमा आयुर्वेद र स्पा उपचार अनुभव गर्न चाहनेहरूका लागि उपयुक्त गन्तव्य भएको पनि औँल्याइन्। चीन नेपालबीच सम्बन्ध पुरानो रहेको उनको भनाइ थियो।

खनालले भनिन्, ‘हाम्रो सम्बन्ध तेस्रो शताब्दी जतिको पुरानो हो। उति बेला बुद्धिजीवी र साधुहरूको आदानप्रदानमार्फत ज्ञान र सीपको साझा गरिन्थ्यो। बौद्ध धर्म हाम्रो दुई राष्ट्रको आध्यात्मिक र सांस्कृतिक धागोको झिल्को बनेको छ, जसले सदैवको सह-अस्तित्व र समझदारीको सम्बन्धलाई बलियो बनाएको छ।’

इकोनोमिक मिनिस्टर पार्वती अर्यालले नेपालमा आध्यात्मिक पर्यटन विषयक प्रस्तुतिसहित जानकारी दिइन्। उनले योगको आरम्भ हिन्दुहरूका आराध्यदेव महादेवले कैलाशबाट थालेको बताउँदै काठमाडौँ, लुम्बिनीलगायत नेपालका अधिकांश भूभाग योग र धार्मिक तथा आध्यात्मिक पर्यटनका लागि उपयुक्त रहेको औँल्याइन्। ‘हजारौँ मानिसले हरेक वर्ष कैलाश पर्वतदेखि बुद्धको जन्मस्थल विश्व शान्ति पार्कसम्म आध्यात्मिकताको यात्रा गर्छन्। हामी नेपालको भ्रमण गर्न र मठ, मन्दिर र अन्य स्थल र क्षेत्र अनुभव गर्न र जीवित आध्यात्मिक गुरुहरूसँग आध्यात्मिकतामार्फत शान्ति र ज्ञान महसुस गर्न तथा अभ्यास गर्न अपिल गर्दछौँ’, उनले उपस्थित चिनियाँहरूलाई आग्रह गरिन्।

नेपालको लुम्बिनीमा जन्मिएका शाक्यमुनि बुद्धले योगलाई अर्को चरणमा पुर्‍याउँदै औँल्याउँदै नेपालको आध्यात्मिक पर्यटन सम्बन्धमा जानकारी पनि दिइन्। शान्ति र खुसीको खोजमा प्रत्येक वर्ष हजारौँ यात्रुले नेपालमा यात्रा र बसोबास गर्न आफ्नो भ्रमण छनोट गर्छन् भन्दै उनले काठमाडौँ उपत्यकाका दरबार क्षेत्र, पशुपतिनाथ, स्वयम्भू, मुक्तिनाथ तथा शाक्यमुनिको जन्मस्थल लुम्बिनीको भ्रमणसँगै उनीहरूले आध्यात्मिक पर्यटनको अनुभव गर्ने बताइन्।

नेपालमा पुरातात्त्विक, सांस्कृतिक सम्पदाका साथै धार्मिक र आध्यात्मिक पर्यटनको मिश्रण पाइन्छ। नेपालका पवित्र स्थल, पर्वहरू र अभ्यासले पर्यटकहरूलाई आध्यात्मिकताको अन्वेषण र अनुभव गर्ने अवसर दिन्छ।

दूतावासद्वारा आयोजित उक्त कार्यक्रमको मुख्य आकर्षण ध्यान थियो। समारोहमा दूतावास कर्मचारीसहित ३५ जना चिनियाँहरूको उत्साहजनक सहभागिता थियो। कार्यक्रमअघि अमर गुरुको परिचयसहितको भिडियो प्रसारण गरिएको थियो।

युन क्वोची बवह्वा च्वानमइकी चाङ लिलीले अमर गुरुको बारेमा जानकारी दिएकी थिइन्। अमर गुरु सन् २०१२ देखि निरन्तर रूपमा योग कार्यक्रमका लागि चीन आउनेजाने गर्दै आएका छन्। उनले चीन र चिनियाँ समाजमा योग दर्शन फैलाउँदै दुई देशबीच जनस्तरीय सम्बन्धमा योगदान पुर्याउँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast