अबुधाबीस्थित नेपाली दूतावासले मनायो विश्व ध्यान दिवस

हिमाल प्रेस ६ पुष २०८२ २१:१२ | Sunday, December 21, 2025
36
SHARES
अबुधाबीस्थित नेपाली दूतावासले मनायो विश्व ध्यान दिवस

अबुधाबी (यूएई)- अबुधाबीस्थित नेपाली राजदूतावासले एक कार्यक्रम गर्दै विश्व ध्यान दिवस मनाएको छ।

जीवन विज्ञान प्रतिष्ठान नेपालको सहयोगमा आयोजना गरिएको कार्यक्रममा दूतावासका कर्मचारी र परिवारका सदस्यहरू, जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक तथा अबुधाबीमा रहेका नेपालीहरूको उपस्थिति थियो।

कार्यक्रममा राजदूत तेजबहादुर क्षेत्रीले नेपाल भगवान गौतम बुद्धको जन्मूभूमि र शान्तिको तपोभूमि भएकाले विश्व ध्यान दिवसका माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन ठूलो मद्दत पुग्ने बताए। उनले ध्यान गर्नाले जीवनशैलीको विकास, शारीरिक तथा मानसिक शान्ति प्राप्ति, तनावबाट मुक्ति र जीवनमा नवीनतम् सकारात्मक ऊर्जा उत्पादन हुने एवं कार्यसम्पादनमा समेत उल्लेखनीय सफलता प्राप्त हुने भएकाले नियमितरूपमा ध्यान गर्ने बानी बसाल्नुपर्ने बताए।

कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका प्रशिक्षक चन्द्रलक्ष्मी श्रेष्ठले नियमित ध्यानबाट हुने फाइदाहरूबारे प्रस्तुतीकरण दिएकी थिइन्। साथै ध्यान विधिहरूको प्रयोगात्मक प्रशिक्षण र ध्यान गर्ने प्रक्रियाहरूबारे जानकारी गराइन्।

स्वस्थ, सुखी र शान्त जीवन जीउनका लागि मान्छेलाई आवश्यक पर्ने सबैभन्दा महत्वपूर्ण शक्ति ध्यान भएको उनले उल्लेख गरिन्। ‘यो अदृश्य शक्ति प्राप्त गर्न दृढ विश्वासका साथ हरेक दिन करिब १५ मिनेट नियमित ध्यान गर्न आवश्यक छ,’ उनले भनिन्। संयुक्त राष्ट्रसंघद्वारा मनाइने यो विश्व ध्यान दिवसलाई जीवन विज्ञान प्रतिष्ठानले उच्च महत्त्वका साथ मनाउने गरेको बताउँदै उनले अनलाइनका माध्यमबाट पनि ध्यान गर्न सक्ने जानकारी गराइन्।

कार्यक्रमको सञ्चालन दूतावासका प्रथम सचिव भूपेन्द्र घिमिरेले गरेका थिए।

प्रकाशित: ६ पुष २०८२ २१:१२ | Sunday, December 21, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast