हिउँदमा बासस्थान फेरिएको मुस्ताङको सांता गाउँ

हिमाल प्रेस २३ मंसिर २०८२ १३:४३
4
SHARES
हिउँदमा बासस्थान फेरिएको मुस्ताङको सांता गाउँ

मुस्ताङ- यहाँको मुस्ताङ-डोल्पा सडकको सिमाना नजिक एक सानो गाउँ छ। विसं २०२२ मा पहिचान भएको यस गाउँको नाम हो सांता । पछि पत्ता लागेका कारण यहाँको सांता गाउँलाई मुस्ताङ जिल्लाको सबैभन्दा कान्छो गाउँसमेत भन्ने गरिएको छ।

कठिन भूगोलमा अवस्थित यहाँको सांता गाउँमा करिब १३ घरधुरीको बसोबास छ। मुस्ताङ–डोल्पा सडकसँगै रहेको सांता गाउँ अहिलेको स्थान्तरित बस्ती हो। यो बस्ती अहिलेको बस्तीबाट केही टाढा खोलापारीको भिरालो स्थानमा अवस्थित थियो । त्यहाँ स्थानीयले खेतपाती र पशुपालन गरी जीविकोपार्जन गर्थ्यो।

त्यहाँको स्थानमा खेतपाती गर्न सिँचाइको अभाव भएपछि सांता गाउँका नागरिकले उक्त स्थान छोडेर हालको स्थानमा स्थान्तरित भएका थिए । यहाँ स्थान्तरित बस्ती बसेको पाँच दशक बढी भइसकेको जनाइएको छ। अझै पनि सांता गाउँलेले त्यागेको पुराना भग्नावशेष घर र खेतका अवशेषहरु त्यहाँ विद्यमान छन्।

सांता गाउँ मुस्ताङको जोमसोमदेखि करिब ४० किलोमिटरको दुरीमा पर्छ । संघीयतापछि यहाँको मुस्ताङ–डोल्पा सडक विस्तार हुँदा सांता गाउँलाई कच्ची सडक सञ्जालले छोएको छ । समुन्द्री सतहको चार हजार मिटर अग्लो उचाइमा विस्तार गरिएको मुस्ताङ–डोल्पा सडक अझै थप स्तरोन्नति गर्नुपर्नेछ। यहाँसम्म सडक जोडिएकाले सांता गाउँका नागरिकहरुले पछिल्लो समय राज्यबाट उपलब्ध हुने केही सेवासुविधा सहज रुपमा पाउँन थालेका छन्।

अग्ला अग्ला विशाल पहाडले घेरिएको सांता गाउँको सडक तलपट्टी भिरालो खोचमा अवस्थित छ। अभाव र अशिक्षाको भूमरीमा जकडिएको यहाँको सांता गाउँमा अचेल राज्यको उपस्थित आँकलझुकल देखिन थालेपछि स्थानीयले केही राहतको अनुभूति गर्न थालेका छन्। माथिल्लो डोल्पाका स्थानीयले नागरिक किनमेलका लागि जोमसोम आउजाउँ गर्ने बाटो सांता गाउँ नै हो। कहिलेकाँही फट्टफुट्टा विदेशी पर्यटकहरु सांता गाउँ हुँदै पदयात्रा गर्छन्। सरकारले यहाँको सांता गाउँलाई निषेधित तथा नियन्त्रित क्षेत्रको सूचीमा राखेको छ।

सांता गाउँमा गएको संघीय तथा प्रादेशिक निर्वाचनमा १३ घरधुरीका ३४ जना मतदाता थिए। गाउँमा एक आधारभूत विद्यालय अहिले बन्द अवस्थामा छ। गाउँका बालबालिका विभिन्न संघसंस्थाको सहयोगमा अन्यत्रको स्कुलमा पढाइ दिएपछि यहाँको स्कुल बन्द हुन पुगेको हो। गाउँमा स्थास्थ्य संस्था नहुँदा कुनै गम्भीर प्रकृतिको बिरामी पर्दा त्यहाँका नागरिकलाई निकै ठूलो समस्या पर्ने गर्छ । गाउँमा वैकल्पिक सौर्य ऊर्जा र नेपाल टेलिकमको बिटीएस टावर जडान गरेपछि बिजुली र टेलिफोनको तत्कालको समस्या टरेको छ।

यहाँको स्थान्तरित सांता गाउँको वार्षिक दिनचर्या अरुको गाउँको भन्दा विल्कुल फरक छ। वर्खायाममा सात महिना गाउँमै बसेर खेतीपाती र पशुपालन गरी बस्ने साङता गाउँका नागरिक हिउँदयामको चार/पाँच महिनाको समय भने गाउँ पारीको ‘घोक’ भन्ने पाखामा गएर कटाउँथे। त्यहाँ हिउँदयाम न्यानो हुने भएकाले गाउँ छोडेर घोक भन्ने स्थानमा अस्थायी बसोबास गथ्र्ये। त्यहाँ उनीहरुले अस्थायी टहरा र खेती गर्ने लालपुर्जा वाला जग्गा थियो। वर्षौवर्षदेखि हिउँदयाममा जाडो छल्न त्यहाँ जाने गरेका सांता गाउँका नागरिक विगत सात वर्षदेखि उक्त स्थान छोडेर वारागुङ–५ कै पाक्लिङ, फल्याक र धाकार्रजुङलगायत गाउँहरुमा बस्न थालेका छन् । वर्खायामको गर्मी मौसममा सांता गाउँमा बस्ने र हिउँदयामको जाडोमा पाँच महिना फल्याक, धाकार्रजुङ र पाक्लिङलगायत गाउँमा बस्न थालेको सोही गाउँका वडासदस्य छिरिङ पाल्साङ गुरुङले बताए।

अहिले मुस्ताङ–डोल्पा सडकको सांता गाउँ जाने बाटोमा बग्रेल्ती हिउँ छ । सडकमा बाक्लो हिउँ जमेका कारण गाडी र ट्याक्टर जान सक्ने अवस्था छैन । गाउँसम्म आउजाउ गर्न बाक्लो हिउँको बाटो छिचोल्नुपर्ने हुन्छ। यहाँ गत कात्तिक १० गते हिमपात हुँदा यहाँको सडक पूरै हिउँले अवरुद्ध बनेको छ। हिउँदयाममा जाडो छल्न पारी पाखाको ‘घोक’ भन्ने ठाउँमा बस्न जाँदा समस्या र चुनौती हुने भएकाले हिउँदे बासस्थान फेरिएको वडा सदस्य छिरिङ पाल्साङ गुरुङले जानकारी दिए।

यसपालि हिउँ र चिसो बढेकाले मङ्सिर अगावै गाउँ छोडेर जाडो छल्न फल्याक, पाक्लिङ र धाकार्रजुङ गाउँमा झरेको बताए। गाउँको बाटोमा पूरै हिउँ छ, गाडी चल्दैन, आवतजावत गर्न निकै ठूलो समस्या छ’, वडा सदस्य गुरुङले भने, ‘सांता गाउँमा बस्दा बिरामी परियो भने त उपचार पाउन गाह्रो हुन्छ, हेलिकप्टर चार्टर गरेर उपचार गर्ने हाम्रो सामथ्र्यले भ्याउँदैन।’

जोमसोम नजिकैको गाउँमा आफन्तको घरमा काम गरेर हिउँदयामका उराठिला दिनहरु कटाउने गरेको वडा सदस्य गुरुङले उल्लेख गरे।

‘यता त केही न्यानो हुन्छ, खानेकुरा सस्तो हुन्छ’, वडा सदस्य गुरुङले भने, ‘बिरामी परेमा उपचार गर्न सजिलो छ, यसैले विगत छ/सात वर्षदेखि हामी घोक पाखामा बस्न छोडेर यतै बस्ने गरेका छौँ।’ उनले हिउँद सकिएर गर्मी सुरु भएपछि मात्रै साविककै स्थानमा फर्किने जानकारी दिए। उनका अनुसार अहिले सांता गाउँका १३ घरधुरीमध्ये तीन घरधुरी पाक्लिङ गाउँमा, ४ घरधुरी फल्याक गाउँमा र ७ घरधुरी धाकार्रजुङ गाउँमा आफन्त घरमा बसेको बताए।

प्रकाशित: २३ मंसिर २०८२ १३:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast