मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब बढीको सामान निकासी पैठारी

हिमाल प्रेस ११ पुष २०८२ ७:४४ | Friday, December 26, 2025
8
SHARES
मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब बढीको सामान निकासी पैठारी

मुस्ताङ- कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट रु ११ अर्ब एक करोड ९५ लाख बराबरको सामान निकासी पैठारी भएको छ। गत ३० भदौदेखि पूर्णरुपमा सञ्चालनमा आएको नेपाल-चीनस्थित कोरला नाकाबाट १० पुससम्ममा निकासी तथा पैठारी गरी उक्त मूल्य बराबरको वित्तीय कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका प्रमुख रमेश खड्काले जानकारी दिए।

कोरला नाका पूर्णरुपमा सञ्चालनमा आएदेखि हालसम्म कोरला नाका हुँदै चीनतर्फबाट रु १० अर्ब ८२ करोड ९८ लाखको मालवस्तु नेपाल भित्रिएको बताए। यसैगरी नेपालबाट हस्तकलालगायतका नेपाली उत्पादन रु १८ करोड ९७ लाख ७८ हजार बराबरको मालवस्तु यहाँको भन्सार कार्यालयमा जाँचपाँस भई चीनतर्फ निकासी भएको भन्सार प्रमुख खड्काले जानकारी दिए।

कोरला नाकाबाट हालसम्म दुई हजार ७४ विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन्। आइतबारदेखि कोरला नाकाबाट थप चिनियाँ विद्युतीय सवारीसाधन नेपाल भित्रिने क्रममा रहेको उनले बताए। यसै महिना बिवाइडी कम्पनीले कोरला नाकाबाट पाँच सय बढी विद्युतीय सवारीसाधन चीनबाट पैठारी गरिरहेको भन्सार जनाएको छ। सोही कम्पनीको ३०० बढी विद्युतीय सवारी भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरिसकेको भन्सार प्रमुख खड्काले बताए।

यहाँको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयबाट जाँचपास भई निकासी तथा पैठारी भएका मालवस्तु तथा विद्युतीय सवारीसाधनबाट रु पाँच अर्ब छ करोड ६२ लाख संकलन भएको भन्सार प्रमुख खड्काले जानकारी दिए। नेपाली बजारमा विद्युतीय कारको प्रयोग बढ्दै गएकाले पछिल्लो समय नेपालका विभिन्न कम्पनीले कोरला नाकाबाट चीनमा बनेका विद्युतीय सवारीसाधन आयात गर्दै आएका छन्।

इन्धनको बचत तथा कार्बन उत्सर्जन घटाउन यस प्रकारका विद्युतीय सवारीसाधन उपयोगी हुने भएकाले सरकारले यस्ता सवारीसाधनलाई भन्सार सहुलियत प्रदान गरिएकाले नेपालमा विद्युतीय सवारीसाधनको माग बढेको हो। हिउँदयामको प्रतिकूल मौसममा समेत चीनबाट धमाधम कोरला नाका हुँदै विद्युतीय सवारीसाधन भित्रिएपछि कोरला नाकाको चहलपहल र भन्सार कार्यालयको कार्यसम्पादन गतिशील बनेको पाइएको छ।

हिउँदयामसँगै ४६१० मिटरको उचाइमा अवस्थित कोरला नाकाको बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्री रहेको छ। प्रतिकूल मौसमका बाबजुत कोरला नाकाबाट विद्युतीय सवारीसाधन नेपाल भित्रिदै छन्। यहाँस्थित मुस्ताङ भन्सारमा जाँचपास सकेका विद्युतीय सवारीसाधनलाई जोमसोमसम्म र जोमसोमबाट पोखरासम्म चालकले गन्तव्यतर्फ पुर्‍याउन थालेका छन्। यसरी मुस्ताङबाट बाहिरिएका विद्युतीय सवारीसाधनलाई पोखराबाट अर्को चालक समूहले सम्बन्धित कम्पनीको शोरुमसम्म पुर्‍याउने गरेका छन्।

त्यसअघि यहाँ भित्रिने विद्युतीय सवारीसाधनलाई चिनियाँ भन्सारबाट स्थानीय सीमापार पास भएका चालकले चलाएर कोरला नाकाको नेपालतर्फ बाहिर निकाल्ने काम गर्छन्। प्रतिकूल मौसमका कारण कोरला नाका बन्द हुने अनुमान गरिए पनि चीनतर्फबाट धमाधम मालवस्तु र विद्युतीय सवारीसाधन भित्रिँदा कोरला नाकाबाट दुई देशबीचको आयातनिर्यात चलायमान भएको हो।

नाकाबाट धमाधम विद्युतीय सवारीसाधन भित्रिन थालेपछि बेनी-जोमसोम-कोरला सडकमा सञ्चालित विद्युतीय ‘चार्जिङ स्टेशन’हरु व्यस्त छन्। हिउँदयामको मौसममा माथिल्लो मुस्ताङका नागरिक धमाधम बेँसी झरिसकेको भए पनि कोरला नाकामा आयात/निर्यातको कारोबार घटेको छैन। भन्सार प्रमुख खड्काले विद्युतीय सवारीसाधनका अलावा हालसम्म दैनिक १०/१२ मालबाहक कन्टेनर मालवस्तु नेपाल-चीन निकासीपैठारी भइरहेको जानकारी दिए। रासस

प्रकाशित: ११ पुष २०८२ ७:४४ | Friday, December 26, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast