मोरङको रतुवा–केशलिया सडक निर्माणको ठेक्का तोडियो

हिमाल प्रेस २३ मंसिर २०८२ ९:३३
16
SHARES
मोरङको रतुवा–केशलिया सडक निर्माणको ठेक्का तोडियो

काठमाडौँ- हुलाकी राजमार्गअन्तर्गत मोरङको रतुवा–केशलियाको ६ किलोमिटर सडकखण्ड निर्माणको ठेक्का तोडिएको छ।

सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय इटहरीले मंगलबार सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौंडासँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ।

सडक स्तरोन्नति तीन वर्षभित्र सम्पन्न गर्ने गरी उक्त कम्पनीसँग २३ कात्तिक २०७६ मा ८३ करोड ९९ लाख रुपैयाँमा (करसहित) ठेक्का सम्झौता भएको थियो। सडक निर्माण २३ कात्तिक २०७९ भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएकोमा निर्माण प्रगति करिब २५ प्रतिशत मात्र छ। उक्त सडक कुनै ठाउँमा ४ र कुनै ठाउँमा ६ लेनमा स्तारोन्नति गर्ने गरी ठेक्का सम्झौता भएको थियो।

ठेक्का सम्झौताको म्याद दुईपटक थप गरिएको थियो। पछिल्लोपटक थप गरिएको ठेक्का सम्झौता गत जेठमा सकिएको थियो। पटक–पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइट ठप्प बनाएकाले ठेक्का तोडिएको योजना कार्यायल इटहरीका प्रमुख युवराज पोखरेलले बताए।

ठेक्का सम्झौता रद्ध गरिएको निर्माण व्यवसायीको कार्य सम्पादन जमानतवापतको चार करोड १९ लाख र पेश्की वापतको नौ करोड ६७ लाख रुपैयाँ जफतका लागि बैंकमा पत्रचार गरिसकिएको योजना प्रमुख पोखरेलले उल्लेख गरे। पेश्की रकममा दश प्रतिशत व्याजसहित असुल हुनेछ।

योजना कार्यालय इटहरीबाट गत साउनमा ठेक्का किन नतोड्ने? भन्दै निर्माण व्यवसायीलाई १५ दिने स्पष्टीकरण सोधिएको थियो। निर्माण व्यवसायीबाट पेस भएको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्था बमोजिम ठेक्का रद्ध गरिएको हो।

प्रकाशित: २३ मंसिर २०८२ ९:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast