तस्बिर : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको एक्स ह्यान्डलबाट
काठमाडौँ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई गीता उपहार दिएका छन्। दुईदिने भारत भ्रमणका क्रममा बिहीबार साँझ भारत आइपुगेका पुटिनलाई प्रधानमन्त्री मोदीले रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि उपहार दिएका हुन्।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राष्ट्रपति पुटिनलाई रुसी भाषामा लेखिएको गीताको प्रतिलिपि दिएँ। गीताको शिक्षाले विश्वभरका लाखौँलाई प्रेरणा दिन्छ।’
पुटिन दिल्ली ओर्लिँदा स्वागत गर्न प्रधानमन्त्री मोदी आफैँ विमानस्थल पुगेका थिए। विमानस्थलमा औपचारिक स्वागतपछि प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिन एउटै कारमा प्रधानमन्त्री मोदीको आधिकारिक निवास ७, लोक कल्याण मार्ग पुगेका थिए।
युक्रेनसँग युद्ध सुरु भएयता राष्ट्रपति पुटिन पहिलोपटक भारत भ्रमणमा आएका हुन्। यस क्रममा रुसी राष्ट्रपतिले भारतीय प्रधानमन्त्री मोदीसँग २३औँ भारत-रुस वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन्।



