काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैदेशिक शिक्षासम्बन्धी परामर्श सेवा उपलब्ध गराइरहेका शैक्षिक परामर्शदातृ संस्थाहरूको नाममा आज एक सूचना जारी गर्दै स्वीकृतिबिनै सञ्चालनमा रहेका संस्थाप्रति गम्भीर ध्यानाकर्षण गराएको छ।
मन्त्रालयअन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले जारी गरेको सूचनामा वैदेशिक अध्ययनका लागि विभिन्न मुलुकमा पठाइएका विद्यार्थीहरू शिक्षण संस्था नभएका स्थानमा पुग्ने, तालिम केन्द्रलाई शिक्षण संस्थाको रूपमा प्रस्तुत गरिने तथा सम्बन्धित देशबाट औपचारिक मान्यता नपाएका संस्थाका नाममा अफर लेटर झिकाई अध्ययनका लागि पठाइने कारण विद्यार्थीहरू ठगिने र विभिन्न समस्यामा पर्ने गरेको उल्लेख गरिएको छ।
विद्यार्थी, सञ्चार माध्यम, नेपाल मेडिकल काउन्सिल तथा नेपाल सरकारका कूटनीतिक नियोगहरूबाट उजुरी, गुनासा र पृष्ठपोषण प्राप्त भएको मन्त्रालयले जनाएको छ। केही दर्तावाला चिकित्सकसमेत शैक्षिक परामर्श व्यवसायमा संलग्न भई Code of Ethics and Professional Conducts, 2017 को उल्लंघन हुनेगरी विज्ञापन गरिएको भन्दै नेपाल मेडिकल काउन्सिलले विज्ञप्ति नै जारी गरेको मन्त्रालयको भनाइ छ।
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिनुपर्ने व्यवस्था रहेकामा उजुरीमा उल्लेख भएका कतिपय संस्थाहरू मन्त्रालयको अभिलेखमा नरहेको पाइएको छ। यसले समस्या समाधान, अनुसन्धान तथा अनुगमन कार्यमा समेत प्रतिकूल असर परेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले स्वीकृतिप्राप्त संस्थाहरूले मात्र वैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउन, विद्यार्थी तथा अभिभावकहरूले अनुमति प्राप्त संस्थाबाट मात्र सेवा लिन र अफर लेटर प्राप्त गरिने शिक्षण संस्थाको सरकारी आधिकारिकता अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेको छ। साथै गलत वा भ्रामक सूचना तथा विज्ञापन नगर्न पनि सम्बन्धित सबैलाई सचेत गराइएको छ।
शिक्षण संस्थाहरूको सरकारी आधिकारिकता जाँच गर्न सम्बन्धित देशका आधिकारिक वेबसाइट तथा मन्त्रालयले उपलब्ध गराएका लिंकहरू प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ। यस विषयमा कुनै गुनासा भए शिक्षा मन्त्रालयको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाको इमेल [email protected] मार्फत जानकारी गराउन मन्त्रालयले अनुरोध गरेको छ।




