काठमाडौँ- नेपालका सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म सञ्चालन भइरहेका प्राविधिक तथा व्यवसायिक शिक्षा कार्यक्रमका शिक्षकहरू विभिन्न समस्या भोग्न बाध्य भएको भन्दै नेपाल इन्जिनियर्स एशोसिएसनले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनसमक्ष ज्ञापनपत्र पेस गरेको छ।
देशभरका सामुदायिक विद्यालयमा करिब तीन हजारभन्दा बढी प्राविधिक धारका प्रशिक्षक तथा सहायक प्रशिक्षक (इन्जिनियर) कार्यरत रहेको एशोसिएसनले जनाएको छ। कम्प्युटर, सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङका आधारभूत विषय अध्यापन गराउने उद्देश्यले नियुक्त गरिएका ती शिक्षकहरू लामो समयदेखि करार तथा अस्थायी सेवामै सीमित रहनु परेको गुनासो गरिएको छ।
ज्ञापनपत्रमा स्थानीय तह मातहत विद्यालय सञ्चालन भइरहेकाले कतिपय स्थानमा स्थानीय जनप्रतिनिधि र विद्यालय व्यवस्थापन समितिको मनपरीका कारण शिक्षकहरू उत्पीडनमा परेको उल्लेख छ। कतिपय विद्यालयमा प्राविधिक विषय पढाउने शिक्षकलाई कक्षा घटुवा गरी सामाजिक, स्वास्थ्य, गणितजस्ता गैरप्राविधिक विषय पढाउन बाध्य बनाइएको आरोप पनि लगाइएको छ।
नेपाल इन्जिनियर्स एशोसिएसनले प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन (पहिलो संशोधन) निर्देशिका २०६९ मा उल्लेख गरिएका प्रावधानहरू व्यवहारमा कार्यान्वयन नभएको जनाएको छ। निर्देशिकाले प्रशिक्षकलाई उनकै विषयगत कक्षा पढाउने, प्राविधिक विषयमा निर्दिष्ट जनशक्ति मात्र नियुक्त गर्ने तथा कार्यक्रम सञ्चालन र मूल्यांकनमा स्पष्ट कार्यविभाजनको व्यवस्था गरेको भए पनि अधिकांश स्थानीय तह र विद्यालयले ती व्यवस्था बेवास्ता गरेको एशोसिएसनको ठहर छ।
ज्ञापनपत्रमा प्राविधिक शिक्षकहरू वर्षौँदेखि करार सेवामै सीमित हुनु, स्थायी दरबन्दी र पेसागत उन्नतिको सुनिश्चितता नहुनु, तालिम, मूल्यांकन, प्रमाणीकरण र पदोन्नतिको स्पष्ट प्रणाली नहुनु प्रमुख समस्या रहेको उल्लेख छ। यसले विद्यार्थीको सिकाइ उपलब्धि कमजोर हुनुका साथै प्राविधिक शिक्षा कार्यक्रमको गुणस्तरमा समेत गिरावट आएको दाबी गरिएको छ।
एशोसिएसनले कक्षा ९–१२ का प्राविधिक शिक्षकको सेवा सुरक्षाको सुनिश्चितता, स्थायी दरबन्दी व्यवस्था, हाल कार्यरत करार तथा अस्थायी शिक्षकको एकीकृत अभिलेख तयार गरी आवश्यकता र प्राथमिकताका आधारमा नियुक्ति तथा नियमितिकरण, विषयगत अध्यापनको सुनिश्चितता र प्राविधिक तथा व्यवसायिक शिक्षासम्बन्धी एकीकृत कार्यविधि लागू गर्न माग गरेको छ।
देशका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनको आधार विद्यालय तहको प्राविधिक शिक्षा भएको उल्लेख गर्दै त्यसका मेरुदण्डका रूपमा रहेका शिक्षकहरू अन्योल, अव्यवस्था र उत्पीडनमा रहनु राष्ट्रकै औद्योगिक, वैज्ञानिक तथा प्राविधिक विकासका लागि चुनौती भएको एशोसिएसनले जनाएको छ। ज्ञापनपत्रमार्फत मन्त्रालयलाई तत्काल प्रभावकारी र व्यवहारिक कदम चाल्न आग्रह गरिएको छ।







