मोरिस हेर्जोगको ‘अन्नपूर्ण प्रिमियर ८०००’ अब नेपालीमा

हिमाल प्रेस ४ पुष २०८२ १३:३२
8
SHARES
मोरिस हेर्जोगको ‘अन्नपूर्ण प्रिमियर ८०००’ अब नेपालीमा

काठमाडौँ- ‘अन्नपूर्ण प्रिमियर ८०००’ को नेपाली संस्करणको विमोचन गरिएको छ। फ्रान्सेली दूतावास र अलायन्स फ्रान्सेजद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा उक्त पुस्तक विमोचन गरिएको हो।

‘अन्नपूर्ण प्रिमियर ८०००’ सन् १९५० को फ्रान्स-नेपाली अभियानका नेता मोरिस हेर्जोगद्वारा लेखिएको कृति हो। उक्त अभियानले अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण गर्दै ८ हजार मिटरभन्दा अग्लो हिमालको विश्वकै पहिलो आरोहणको कीर्तिमान कायम गरेको थियो।

नेपालस्थित फ्रान्सेली दूतावासले पुस्तकको नेपाली संस्करणले नेपालका पाठकवर्गलाई उक्त ऐतिहासिक दस्तावेजसम्म पहुँच सहज बनाउने विश्वास  गरेको छ।  नेपालका लागि फ्रान्सेली राजदूत भिर्जिनी कोर्तभालले नेपाली पाठकले पर्वतारोहणको इतिहासमा अद्वितीय क्षण बनेको, गहिरो प्रभाव पार्ने साहसिक यात्राको यो अनौठो कथाको खोज-अन्वेषणमा आनन्द लिने बताए।

पुस्तकका अनुवादक तथा अलायन्स फ्रान्सेजका फ्रान्सेली भाषा शिक्षक अशोक शाक्य र रिजेन्द्र श्रेष्ठले नेपाली अनुवादबाट केही अंश वाचन गरेका थिए। साथै कार्यक्रममा पूर्णिमा श्रेष्ठ र पत्रकार कुन्द दीक्षितबीच पर्वतारोहण, अन्नपूर्णलगायतका विविध पक्षबारे संवाद गरिएको थियो।

सो अवसरमा सन् १९७७ मा अन्नपूर्ण आरोहण गर्ने पहिलो नेपाली पर्वतारोही स्व. सोनाम वालुङ शेर्पालाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, पर्वतारोही तथा अन्नपूर्णको पहिलो आरोहणको ७५औँ वार्षिकोत्सवका सद्भावना दूत पूर्णिमा श्रेष्ठ, सन् १९७७ मा अन्नपूर्ण आरोहण गर्ने पहिलो नेपाली स्व. सोनाम वालुङ शेर्पाकी धर्मपत्नी छिरिङ डोमा लामा, नेपाल पर्वतारोहण संघ (एनएमए) का अध्यक्ष फुरगेल्जे शेर्पा, मोरिस हेर्जोग ट्रेकिङ ट्रेलका अध्यक्ष तेज गुरुङलगायतको उपस्थिति थियो।

पुस्तकको नेपाली संस्करणको अनुवाद फ्रान्सेली दूतावासको आर्थिक सहयोगमा गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast