नेपाललाई लेजर आँखाको उपचारको विश्व गन्तव्यतर्फ डोर्‍याउँदै माट्रिका

दृष्टिको विज्ञान, साधना र डा‍‍. किशोरराज प्रधानको यात्रागाथा

हिमाल प्रेस २७ मंसिर २०८२ १६:३४
22
SHARES
नेपाललाई लेजर आँखाको उपचारको विश्व गन्तव्यतर्फ डोर्‍याउँदै माट्रिका

आँखारोगको प्रसंग निस्कनेबित्तिकै नेपाली स्मृतिमा तीनवटा अस्पतालका नाम आउँछन्। ती हुन्- नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर, तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा र त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरस्थित बीपी कोइराला आँखा अध्ययन केन्द्र। त्यसपछि यसअन्तर्गतका युनिटका साथै लायन्स क्लबको नीलो झन्डा र सेवाभावमा व्यस्त चिकित्सकहरूको सक्रियता झल्किन्छ।

यी अस्पतालका चिकित्सकहरूले सरकारी सेवाभन्दा पनि सहज ढंगले आँखाका लागि काम गरिरहेका छन्। यी सबैले दशकौँदेखि नेपाली आँखालाई उज्यालो दिइरहेका छन्। तिसँगै अहिले निजी क्षेत्रबाट खुलेका आँखा अस्पताल पनि उत्तिकै सक्रिय छन्। कतिपयले त अत्याधुनिक प्रविधि भित्र्याएर काम गरेका आँखा अस्पताल पनि छन्।

समयसँगै दृष्टिको परिभाषा फेरिँदै गयो। अब आँखाको उपचार रोग निको पार्ने प्रक्रिया मात्र रहेन, यो त सौन्दर्य, आत्मविश्वास, स्वतन्त्र जीवनशैली र चस्मारहित आँखासँग गाँसिएको उच्चस्तरीय विज्ञान बनेको छ। त्यही विज्ञान र साधनाको संगमस्थल हो– मैतिदेवी र पुरानो बानेश्वरको बीचमा रहेको माट्रिका आई सेन्टर।

काठमाडौँको पुरानो बानेश्वरचोकबाट मैतीदेवीतर्फ झर्दै गर्दा दाहिनेपट्टि देखिने सेतो-नीलो भवन बाहिरबाट सामान्य लाग्न सक्छ। भित्र छिर्नेबित्तिकै थाहा हुन्छ – यो अस्पताल मात्र होइन, दृष्टिको तीर्थ हो। यहाँ भित्ताहरू मौन छन्, तर प्रविधि बोलेको छ। कतिपयका लागि यहीँबाट दृष्टिको नयाँ युग आरम्भ हुन्छ।

‘मातृका’ नाम सुन्दा राजनीतिमा जोडिएका व्यक्ति हुन् जस्तै लाग्छ। अष्टमातृकामध्ये एउटी देवीको नाम अर्थात् आमा भनेर माट्रिका राखिएको यसका संस्थापक चिकित्सक बताउँछन्। यसलाई नेपालमा मेडिकल टुरिजमकै लागि प्रमुख गन्तब्य बनाउने हिसाबमा काम गरिरहेको अस्पतालका रूपमा लिन सकिन्छ। विदेशीले उच्चारण गर्दा सहज होस् भनेर मातृका नभै माट्रिका नाम राखिएको हो।

हुन पनि आँखामा यो नाम नेपालमा भन्दा विदेशमा बढी चलेको छ। हामी आँखाको डाक्टर भन्नेबित्तिकै सन्दुक रुइतलाई सम्झन्छौँ। उनलाई विद्यालयमा विद्यार्थीले पढ्छन् पनि। अहिले नेपालमा धेरै सन्दुक छन्। उनले भन्दा राम्रो योगदान दिएकाहरू पनि छन्।

अहिले नेपालमा आँखाका धेरै डाक्टर छन्। कोही प्रचारमा रमाउँछन् भने कोही अनुसन्धानमा जमेका हुन्छन्। खासै प्रचारमा आउन नचाहेका र अनुसन्धानमा सक्रिय चिकित्सक हुन् डा. किशोरराज प्रधान। यद्यपि उनी नेतृत्व टिमको आविष्कार र अध्ययनअनुसन्धान विश्वमै प्रख्यात छ। नवीनतम वैज्ञानिक विधिको सफल प्रयोगले माट्रिका आँखा केन्द्र मुलुकभित्र मात्र नभएर विदेशमा पनि उत्कृष्ट ब्रान्ड बनेको छ।

माट्रिका : सेवाबाट विश्वमञ्चसम्मको यात्रा

विश्वको नक्सामा नेपालको नाम उज्यालो अक्षरले लेख्ने साहस गरेको संस्था हो माट्रिका। यहाँ बिरामी उपाचार गर्न मात्र होइन, विश्वका अग्रणी चिकित्सक र अनुसन्धानकर्ता ज्ञान लिन पनि आइपुग्छन्। अस्पतालमा पुग्ने जोकोहीले पनि भारत, चीन, सिंगापुर, थाइल्यान्ड, इथियोपिया, भियतनाम, कम्बोडिया, युरोपेली मुलुक, अष्ट्रेलिया र अमेरिका लगातयतका विभिन्न अस्पतालका वरिष्ठ तथा उदीयमान आँखा क्षेत्रका विज्ञ आएर नवीनतम वैज्ञानिक ज्ञान लिइरहेको देख्न सकिन्छ। अस्पतालका प्रमुख चिकित्सक भेट्न पनि सहज हुन्छ। डा‍. किशोर त्यहीँ बिरामीको उपचारमा संलग्न हुन्छन्।

माट्रिकामा विदेशबाट रिफ्रेक्टिभ सर्जन आएर नयाँ ज्ञान लिन्छन्। यसरी माट्रिकाले ‘रिफ्रेक्टिभ सर्जरी’ को नयाँ वैज्ञानिक ज्ञान विश्वमा चिकित्सकलाई साझा गरिरहेका छन्। त्यसैले त विदेशमा समेत माट्रिका लेजर आँखाको शल्यक्रियाका लागि प्रसिद्ध छ। डा. किशोरको टिमले तयार पारेको सफ्टवेयर मेसिनले विश्वभर सेवा दिइरहेको छ। जुन मेसिनमा डा. किशोरको नामको सर्टफम अर्थात् KRP राखेको छ।

माट्रिका आँखा केन्द्रले नेपालको सबैजसो जिल्लामा आफ्नो सेवा विस्तार गरिरहेको छ। कहिले कोसँग मिलेर त कहिले कोसँग मिलेर गाउँगाउँ पुगेको छ माट्रिका। अस्पतालले विभिन्न १७ संगठन, अस्पताल लगायतसँग मिलेर जिल्लाजिल्लामा सेवा दिँदै आएको छ। यसको नारा नै ‘आइज टू द फ्युचर, अप्टोमेट्री इम्प्रुभिङ ग्लोबल वेलनेस’ छ। प्रत्येक वर्ष विश्वभर २३ मार्चमा विश्वदृष्टि विशेषज्ञ दिवस मनाउने गरिन्छ। तर माट्रिकाले त्यो दिन पर्खँदैन समयानुकूल यस्तो कार्यक्रम गरिहन्छ।

माट्रिकामा पुग्नेहरूले २० सेकेन्डमै शल्यक्रिया सम्पन्न गर्ने अत्याधुनिक लेजर प्रविधिको चमत्कार देख्छन्। कोही मेसिनद्वारा गरिने कोर्नियाको सुदृढीकरण प्रक्रिया हेरेर चकित हुन्छन्। कोही केरेटो कोनस (आँखा चुच्चो हुँदै आउने) चस्माको पावर बढाउन पर्ने रोकथाम गर्ने लेजर शैली नियाल्छन्। फर्किँदा उनीहरूको साथमा नयाँ ज्ञान मात्र हुँदैन, गहिरो अनुभूति पनि हुन्छ- नेपाल अब उपचारको यस्तो प्रविधि सिकाउने मुलुकका रुपमा स्थापित हुँदै छ भनेर।

प्रचारभन्दा मौन साधनाको उज्यालो

डा. किशोरका दर्जन बढी अनुसन्धान लेख अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। जर्मनीमा १८७ जना अनुसन्धानकर्तासँग सहकार्य गर्दै उनले अझ उन्नत शल्यक्रिया प्रविधि नेपाल भित्र्याएका हुन्। उनी अहिले जर्मन कम्पनीका लागि नेपालबाट काम गरिरहेका छन्। बेलाबेलामा जर्मनी आउजाउ गरिरहन्छन्। त्यसो त उनी जर्मन कम्पनीबाट खरिद गरेको KNP मेसिन सिकाउन पनि उनी विभिन्न मुलकुकमा पुग्छन्।

प्रधानकै नामबाट चिनिने ‘केआरपी’ अंकित जर्मन लेजर मेसिन आज विश्वका दर्जनौँ देशमा प्रयोग भइरहेको छ। यो मेसिन उनको सहकार्यमा जर्मनीमा विकसित गरिएको हो। त्यसैले त उनको नाम व्यक्ति होइन, आँखा विज्ञानको एउटा चिनारी बनिसकेको छ। उनको नामसँगै नेपालको झण्डा पनि उक्त मेसिनमा रहनेछ।

डा. किशोरको लक्ष्य व्यक्तिगत सफलता होइन, नेपाललाई विश्वको ‘रिफ्रेक्टिभ’ सर्जरी केन्द्रमा स्थापित गर्नु देखिन्छ। उनका अनुसार अब विदेशमा कसैले जर्मनी उपकरणमा कस्मेटिक सर्जरी गर्दा नेपालको झण्डा अंकित उपकरण देख्नेछन्। जुन उनी आफ्नो भन्दा पनि मुलुकको उपलब्धि ठान्छन्।

माट्रिका आखा केन्द्रका संस्थापक र मेडिकल प्रमुख हुन् डा. किशोर। उनी नेपालका पहिलो ‘रिफ्रेक्टिभ सर्जन’ हुन्। उनले माट्रिका आँखा केन्द्रबाट स्मार्टसर्फेस सेवा सुरु गरेको वर्षौ भइसकेको छ। यो सेवा टच-फ्री  मात्र होइन यसले २० सेकेन्डभित्र अपरेसन सम्पन्न गर्नेछ। माट्रिकाआई सेन्टर अपवर्तक शल्यक्रिया वा लेजर आँखा शल्यक्रियाका लागि विश्वको उत्कृष्ट केन्द्रहरूमध्ये एक हो।

लेजर आँखाको शल्यक्रियामार्फत चस्मा र कन्ट्याक्ट लेन्स हटाउन माट्रिका आँखा केन्द्र अग्रणी मानिन्छ। जर्मन प्रविधिमा डा. किशोरराज प्रधान (केआरपी) कै नाममा उपकरण बनेका छन्। विश्वभर बिक्री हुने यो प्रविधि चलाउने प्रशिक्षण उनै डा. किशोरले दिने गरेका छन्।

हामी चस्मा र कन्ट्याक्ट लेन्स हटाउन शल्यक्रिया गर्न सिंगापुर जान्छौँ तर त्यहाँ पनि उनै डा. किशोरको नाममा रहेको मेसिन प्रयोग भइरहेको हुनसक्छ। नेपालमा केरेटोकोनस (आँखा चुच्चो हुने रोग) समस्या धेरैलाई छ। आँखाको यस्तो समस्या समाधान गर्न अनेक उपकरण वा हात र औजार प्रयोगका साथै अनेक ढंगले क्रस लिंकिङ गरिन्छ। भित्रको झिल्ली खुर्केर लेन्सलाई सिलिन्डरसँग जोड्ने हुनाले यो सामान्य भए पनि जोखिमपूर्ण छ। माट्रिकामा त्यस्तो काम मेसिनबाट  त्यो पनि २० सेकेन्डमा हुन्छ। यति मात्रै होइन माट्रिकाले चस्मा हटाउन बिरामीहरूका लागि १० प्रकारका विभिन्न प्रक्रियाहरू अपनाउँदै आएको छ।

माट्रिका आई सेन्टर र माट्रिका आई फाउन्डेसनले स्थापनाकालदेखि मोतीविन्दु र जलविन्दुको समस्या भएका बिरामीलाई उपचारको सेवा प्रदान गर्दै आएको छ। आँखा धमिलो देखिने, टल्किने तथा रातको समयमा सवारीसाधन चलाउन असजिलो हुने जस्ता समस्यालाई माट्रिका आई सेन्टरले निवारण गर्दै आएको छ। भविष्यमा झनै उन्नत उपकरण ल्याएर सेवा दिने उनकै टिमका अन्य अधिकारीहरुले बताए।

नेपालभन्दा विदेशमा परिचित

रिफ्रेक्टिभ सर्जरीका अब्बल चिकित्सकको छवि बनाएका डा. किशोर अहिले नेपालमा भन्दा पनि विदेशमा चिनिने नाम र अनुहार हो। उनी आफू नेपाल हुँ भनेर चिनाउन विदेशमा जहाँ पुग्दा पनि ढाकाको टोपी लगाउँछन्। विदेशी सम्मेलनहरूमा नेपाली दौरासुरुवाल लगाउने अवस्था नहुँदा ढाका टोपीसहित उभिन्छन्। उनको ब्यागमा ढाकाको टोपी र नेपाली दौरासुरुवाल कहिल्यै छुट्दैन।

प्रविधिको भाषामा बोल्छन्, तर हृदयमा नेपाल बोक्छन्। उनका शब्दमा हिमालको स्वाभिमान र विज्ञानको गर्व मिसिएको हुन्छ। यही कारण संसारमा उनी जहाँ पुग्छन् त्यहाँ उनको नाम आदरका साथ सम्बोधन हुन्छ। दृष्टिको कविता र प्रविधिको करुण कथा उनीमा पाउन सकिन्छ। उनको केन्द्रमा पाउन सकिन्छ।

चस्मा कहिलेकाहीँ आँखाको सहारा मात्र हुँदैन, त्यो बन्धन पनि बन्छ। भान्साको वाफले धमिलिएको चस्मा, वर्षामा चिप्लिएको नाक, पौडी खेल्दा हराएको फ्रेम, राति अँध्यारोमा ठोक्किएको निधार – यी सबै पीडाका साझा कथा हुन्। अब ती कथा फेरिँदै छन्। माट्रिकामा चस्मासहित प्रवेश गर्ने व्यक्ति खाली आँखाले बाहिर निस्कन्छ। अत्याधुनिक लेजर प्रविधिबाट केही सेकेन्डमै सम्पन्न हुने प्रक्रिया पीडारहित, सुरक्षित र सहज छ।

उनकै टिममा रहेर काम गरिरहेकी डा‍. योगिता राजभण्डारीका अनुसार माट्रिकामा हुने आँखाको उपचार केवल उपचार मात्र होइन, नयाँ जीवनमा प्रवेश गर्ने ढोका हो। उपचारको सरलीकरण र कम जोखिम युक्त उपचार पद्दति नै हाे। विदेशमा लिने भन्दा पनि सहज र सरल तर अब्बल सेवा हामीले दिइरहेकाे दावी योगिताको छ। योगिता जस्ता सात जना चिकित्सकलाई त्यहाँ यो पद्दतिमा अभ्यास गराइदै छ।

बाल्यकालको पीडाबाट विश्वगौरवसम्म

विराटनगरमा जन्मिएका किशोर सात वर्षको हुँदा वुवाको स्वर्गवास भयो। उनले भने, ‘मेरी आमाले मलाई हुर्काउनुभयो। राम्रै पढ्ला भनेर भारतको खर्साङ ग्यान्टोकको एउटा छात्रावासमा राखेर पढाउनुभयो।’ उनले आफ्नो बाल्यकाल र किशोरावस्था पूरै भारतमा बिताए। पढाइमा अब्बल थिए। विद्यालयको सुझाव र आमाको रुचिले गर्दा उनले विज्ञान पढे।

आईएसी गरेपछि आमाको सल्लाहमा एमबीबीएस गरेको उनी सुनाउँछन्। किशोरले सन् १९९२ मा भारतको मध्य प्रदेशस्थित श्याम मेडिकल कलेजबाट एमबीबीएस गरेका हुन्। त्यसपछि उनी नेपालमा चिकित्सक अभ्यास गर्न आए। उनको अभ्यासका साथै कर्म गर्ने थलो बन्यो काठमाडौँ। त्यही क्रममा उनले बेलायत जाने प्रक्रिया अघि बढाए। उनी बेलायतमा नै जाने  र उतै बस्ने तवरले उनी जान लागेका थिएका थिए।

यसै क्रममा एक पटक स्वास्थ्य शिविरका लागि जाजरकोट गए। उनको ठूलो बुवाको बचन राख्न उनी जाजरकोट गएका थिए। उनले वुवालाई बुझ्न त पाएनन तर उनी कहिल्यै दुःखमा परेनन्। दुख नदेखेका किशोरले एकै पटक जाजरकोटको पिडा देख्दा उनी झस्किए। त्यहाँको अवस्थाले नेपालमा नै केही गर्ने सोच बनाए। चिकित्सक भनेको पनि मानिसजस्तै हुँदा रहेछन् भन्ने कुरा सुनेर उनी परिवर्तन भए। अनि बेलायत जाने हुटहुटी छाडेर स्वदेशमै रहने निधो गरे।

दुःख के हो, कस्तो हुन्छ भन्ने अनुभव नभएकाले पनि शिविरमा आएकाका जाजरकोटका बिरामीको अवस्था देखेर उनी अवाक भएका थिए। ‘वास्तवमा उपचार बेलायतमा बस्नेलाई होइन यहाँ गाउँगाउँमा रहनेलाई चाहिएको रहेछ भन्ने बुझेँ र नेपालमै रहने निर्णय गरेँ।’ त्यही शिविर उनको जीवनको ‘टर्निङ पाेइन्ट’ बन्यो।

‘शिविरमा उपचार गराउन आएका बिरामीको अवस्था हेर्दा मेरो मन रोयो’, किशोरले भावुक हुँदै ती दिनहरू सम्झिए, ‘त्यसपछि मैले निर्णय गरेँ, मेरो लक्ष्य बेलायत हैन नेपाल हो।’ आफ्नो आत्माले यस्ता बिरामी छोडेर विदेश जान हुँदैन भनेको उनी बताउँछन्।

ग्रामीण भेगमा आँखा नदेखेर पीडित वृद्धाहरूको दृश्यले उनको मन मोडिदियो। त्यही दिन उनले निर्णय गरे– मेरो ठाउँ यही हो। डा. किशोर भन्छन्, ‘नेपालको बिरामीलाई उपचार नगरी बेलायतमा जान तुक छैन भन्ने लाग्यो। दुर्गमका बिरामी झलझली आँखामा आइरहे। सोही कारण विदेशमा अध्ययन गर्न मात्र गएँ अहिले यहाँसँग आनन्दले कुरा गर्न पाएँ।’

जाजरकोटबाट काठमाडौँ फर्किएपछि उनमा आँखारोगमा विशेषज्ञता हासिल गर्ने इच्छा जाग्यो। अनि उनी कर्नाटकको कस्तुपा मेडिकल कलेजमा डिप्लोमा इन अप्थाल्मिक मेडिसिन एन्ड सर्जरी पढ्न गए। दुईबर्से कोर्स सकेर आएपछि लायन्स क्लब अफ शान्तिनगरमा पाँच वर्ष काम गरे। ‘पाँच वर्षमा मैले देशका ७२ जिल्ला घुमेर शिविरमार्फत सेवा दिएँ’, उनले भने, ‘त्यो मेरो जीवनको ठूलो उपलब्धि हो।’

डा. किशोरले २००५ मा त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालबाट एमडी इन अप्थाल्मोलोजी गरे। एमडी सकिनेबित्तिकै तिलगंगा आँखा अस्पतालले काममा बोलायो। उनले तिलगंगाअन्तर्गतको हेटौँडा सामुदायिक अस्पतालमा रहेर काम गरे दुई वर्ष। उनको लगन र परिश्रमले रिफ्रेक्टिभ सर्जरीमा फेलोसिप मिल्यो। बाल्यकालमै जान चाहेको मुलुक बेलायत गएर एक वर्ष अध्ययन गरे। बेलायतमा उनले रिफ्रेक्टिभ सर्जरीमा फेलोसिप गरे।

एक वर्षको कोर्स सकेपछि उनले तिलगंगामा रिफ्रेक्टिभ सर्जरी युनिट सुरु गरे। जहाँ उनले आठ हजारभन्दा बढीको सर्जरी गरेर चस्मा लगाउनुपर्ने झन्झट हटाइदिएका छन्। त्यहीँ काम गरेको अनुभव र लगनलाई जर्मनीको एक कम्पनीले उनीसँग सहकार्य गर्यो। अनि उनको सोचअनुरुपको उपकरण बनायो।

त्यसो त किशोर नेपाली भाषा राम्ररी पनि बोल्न जान्दैन थिए। हिन्दी र अंग्रेजीमा मात्र कुरा गर्ने उनी अभ्यास गर्दै जाँदा बिस्तारै नेपालीमा पोख्त भए। गाउँगाउँ डुले, हजारौँको उपचार गरे। तिलगंगा प्रतिष्ठानमा रहँदा हजारौँलाई दृष्टि बाँडे। अनि आमाको माटोमा आफ्नै सपनाको मन्दिर ठड्याए – माट्रिका। आमाले सन्ततिका लागि भनेर राखेको जमिनमा उनले माट्रिका आई सेन्टरको भवन बनाएर सेवा दिन थाले।

किशोरको अगुवाइमा शिविर आयोजना हुन्छ। फाउन्डेसनमार्फत उनी कहिले शिविर त कहिले कुनै समूहसँग मिलेर आँखासम्बन्धी कार्यक्रम गाउँगाउँ पुगेका हुन्छन्। उनी पैसा नहुनेहरुको निःशुल्क उपचार गरिदिन्छन्। उनी भन्छन यहाँ सेवा लिन आउनेहरु पैसा नै नभएर भने फर्कनु पर्दैन।

अर्को पुस्ता तयार गर्न आवश्यक

डा. किशोर एक्ला सर्जन थिए। अनि उपकरण पनि बन्दै थियो। तर अन्य साथी थिएनन्। उनले भने, ‘अब हामी नयाँ पुस्ताको आँखाको उपचारतर्फ अघि बढिरहेका छौँ। अहिलेको पुस्ता निकै मेहनती र अग्रणी पनि छन्। आफैँ उपचारमा लाग्नुभन्दा पनि अधिक किशोर तयार गर्ने काम गरिरहेको छु।’

डा. किशोर यतिबेला नेपाललाई साँच्चै विश्वमा चिनाउने अर्को शसक्त माध्यम बनेका छन्। उनलाई अहिले आफू विदेश नगएर ठिक निर्णय लिएको अनुभव हुने गरेको छ। उनी हास्दै हसाउँदै विरामीको उपचारमा खटिएका हुन्छन्। उनले माट्रिकामा मात्र होइन मेची अस्पतालमा पनि आफ्नो उपकरण राखेका छन्। उनको सफ्टवेर प्रयोग गरेको कम्पनीले उनलाई नेपालको लागि भने थोरै मुल्यमा उपकरण दिने गरेको छ।

यस्तो उपकरण सुदुर पश्चिममा पनि राख्न पाएमा उनले नेपालको सबै क्षेत्रबाट सेवा दिन सक्ने बताए। हुन त उनले शिविर वा अन्य अस्पताल मार्फत नेपाल भरको आँखा रोगीको उपचार गरेका छन्। अव आफू नगै आफ्ना उपकरण राखेर आफूले तयार गरेको चिकित्सकबाट काम भएको हेर्न मन लागेको उनले बताए। अहिले पनि यहाँ साथीहरुले नै काम गर्ने आफू हेर्ने मात्र गर्दा आएको आनन्दको महसुस छुट्टै हुने बताउँछन्।

हामी सबैले आफूले जानेको ज्ञान अर्को पुस्तालाई बाड्नै पर्छ, उनी भन्छन् – अनि मात्र पुस्तान्तरण हुन्छ। जसरी घरको कुल चल्छ त्यसै गरी यो क्षेत्रमा पनि आफ्नो ज्ञान आफूभन्दा पछिल्ला पुस्तालाई सिकाउँदै अघि बढेमा थप विकास हुने डा. किशोरको विश्वास छ।

नेपालको गर्व। दृष्टिको नयाँ इतिहास। उज्यालोतर्फको अविराम यात्रा। उनलाई नेपालमा दृृष्टिदोषमा गर्न सकिने काम धेरै छन् जस्तो लाग्छ। त्यसैले त उनी हाल आफैँले गरिरहेको ‘लेसिक’ र ‘स्माइल’ लेजर सर्जरीभन्दा पनि बढी ‘एडभान्स्ड सर्जरी’ भित्र्याउने योजनामा छन्। ‘त्यसका लागि रिसर्च भइरहेको छ’, उनले भने। उनी त्यसका मुख्य रिसर्चर हुन् भने उनको मातहतमा १ सय ८७ जना नया नया उपकरणका लागि रिसर्चमा छन् । उनीहर अधिक जर्मनीमा काम गरिरहेका छन्।

दृष्टिको उज्यालो र नेपालको पहिचान

आज चस्मा हटाउन विदेश धाउने समय सकिएको छ। अब विश्व नेपालतर्फ आँखा लगाइरहेको छ। माट्रिका र डा. किशोरले एउटा सन्देश दिएका छन्– हिमालको देशले पनि विज्ञानको शिखर चुम्न सक्छ। उनले नेपालमा यस्ता उपकरण भित्र्याई मेचीदेखि महाकालीसम्मका अस्पतालहरुमा युनिट राखेर चिकित्सकलाई प्रशिक्षण दिइरहेका छन्। केही अस्पतालमा उपकरण राख्ने तयारी गरेका छन्। लेजर गर्ने उपकरण भने धेरैमा राखेका छैनन्।

ढाका टोपी लगाएर विश्वलाई सिकाउने नेपाली हातहरूले प्रमाणित गरेका छन्– हामी उपचार मात्र होइन, उज्यालो बाँड्ने देश हौँ। अब आँखा जाँच्न विदेश होइन, मैतीदेवी र पुरानो बानेश्वरको बीचमा एउटा मौन मुस्कानसहित उभिएको चिकित्सक पर्खिरहेका छन्।

डा. किशोरको प्रत्यक्ष प्रशिक्षणमा सिंगापुरमा सात सर्जन कार्यरत छन् भने नेपालमा माट्रिकामा त्यही संख्या। अस्ट्रेलिया र क्यानडामा पनि उत्तिकै। अब खाडी मुलुकमा पनि उनको नाम फैलिइसकेको छ। युरोप त उनको कम्पनी रहेको थलो भयो। त्यहाँका विज्ञहरूलाई उनी नेपालमै बोलाउँछन्। नेपाल आउन विदेशी चिकित्सक रमाउँछन् पनि।

विदेशी चिकित्सकलाई नेपालका कैयन् अस्पतालमा पुर्‌याएर उपचार विधि सिकाउने गर्छन् किशोर। आफ्नी आमासँग बस्ने किशोरको सुखी परिवार छ। उनकी छोरी बेलायतमा अध्ययनरत छिन्। तर उनी नेपाल आएर गरिवीमा परेकालाई सेवा कसरी दिलाउने भनेर  फिलनथ्रोपी, च्यारेटी लगायतको बारेमा इन्टर्न गर्दैछिन्। छोराछोरीलाई नेपालमै बोलाएर काममा लगाउने उनको उद्देश्य छ। छोरा यही नेपालमा नै प्रविधीबारे उच्च शिक्षा लिइरहेको पनि उनले बताए।  उनकी पत्नी सविना श्रेष्ठ पनि स्त्री तथा प्रसूति विज्ञका रुपमा राम्रो छवि बनाएकी चिकित्सक हुन्।

के हो लेजर सर्जरी?

आँखाबाट संसार हेर्ने होइन, संसारलाई नयाँ दृष्टिले हेर्ने चस्मा केवल एउटा साधन हो, तर जब त्यो साधन बाधा बन्न थाल्छ, तब प्रविधि समाधान बन्छ। लेजर प्रविधिबाट दृष्टिदोष सुधार गर्ने प्रक्रिया शल्यक्रिया होइन, जीवनशैलीको सुधार हो। आज माट्रिका आई सेन्टर र डा. किशोरले देखाइरहेका छन् – नेपाल पनि ‘दृष्टिको विश्वगुरु’ बन्न सक्छ। विज्ञान, साधना र सेवाको त्रिवेणीबाट उभिएको यो संस्था केवल उपचार केन्द्र होइन, आशाको उज्यालो दीप हो।यदि आँखाले संसार देख्छ भने, माट्रिकाले त्यो संसारलाई उज्यालो बनाइरहेको छ।

लेजर सर्जरी झट्ट हेर्दा सहज देखिए पनि निकै कम्प्लेक्स सर्जरी हो। यसले आँखामा प्लस-माइनस पावर भएका व्यक्तिहरुलाई उनीहरुको पावर मिलाएर चस्मा लगाउन नपर्ने बनाउने भनेको सामान्य कुरा होइन। जुन सर्जरी गर्न एक मिनेट मात्रै लाग्छ। यसमा नत दुखाइ हुन्छ नत अस्तपताल बस्र नै पर्छ। प्रक्रिया भने लामो र जटिल हुन्छ। यसका लागि अब्बल विशेषज्ञ नै आवश्यक पर्छ।

चस्मा लगाउन पर्नु बाध्यता जसका लागि छ उनीहरुलाई यसको झञ्झटका बारेमा बढी थाहा हुन्छ। स्वीमिङ गर्ने बेलामा, यात्राका क्रममा कतै चस्मा फुटेमा, सेना–प्रहरीमा जागिरका लागि जाँदा यो ठूलो बाधक बन्छ। यसका साथै गृहिणीलाई घरमा सधैँ चस्मा लगाएर बसिरहन पर्दाको झञ्झट हुन्छ नै। यो झञ्झट कम गर्दा उनीहरूलाई सहज महशुस हुने मात्रै हैन ‘कन्फिडेन्स लेबल’ पनि बढ्छ। जुन सेवा नेपालमा उपलब्ध छ।

यो सेवा सर्वसुलभ बनाउन र सबैको पहुँचमा पुर्याउन डा. किशोर लागिपरिरहेका छन्। चस्मा र कन्ट्याक्ट् लेन्समा व्यक्तिको निर्भरता कम गर्न लेजर आँखा शल्यक्रियाको बारेमा बुझ्न सबैलाई आवश्यक छ। आधुनिक जर्मन टेक्नोलोजी र औजरले सजिलैसँग लेजर आइ सर्जरी गरेर चस्मा हटाइदिनेछन्।

रिफ्रेक्टिभ सर्जरी भनेको आँखामा भएको दृष्टि दोषमा चश्मा लगाउनेलाई लेजर प्रविधिबाट चस्मा हटाउने सर्जरी हो। यो सर्जरी गर्न जम्मा ५ मिनेटमा सबै कार्य पुरा हुन्छ। सर्जरीमा न त बेहोस पारिन्छ नत दुख्छ नै। त्यसो त सर्जरी मात्र त २० देखि २५ सेकेण्डमै सकिन्छ।

हामी आजभोलि धेरै जनाको आँखामा चस्मा देख्छौं। विविध कारणले आँखामा दृष्टि दोष भएपछि चस्मा लगाउनुको विकल्प नै छैन। तर पछिल्लो समय चस्माको पनि विकल्प हो यो लेजर प्रविधी। धेरै पावर वाला चस्मा लगाउनेलाई थाहा हुन्छ एक छिन पनि चस्मा भएन भने कस्तो समस्या आउँछ भन्ने। चस्माले हेर्न सजिलो बनाए पनि धेरै कुरामा बाधा बन्न जान्छ। खुट्टा नभएको ब्यक्तिलाई बैशाखी जति आवश्यक हुन्छ त्यसै गरी चश्मा लगाउनेलाई यो त्यति आवश्यक हुन्छ।

यो लेजर सर्जरी दुई तरिकाले गरिन्छ। लेसिक र स्माइल प्रविधिमार्फत। लेसिक सेवा काठमाडौँबाहिर विराटनगरमा पनि सुरु भएको छ। स्माइल प्रविधि माट्रिका र तिलगंगा आँखा अस्पतालमा मात्र उपलब्ध छ। स्माइल प्रविधि लेसिकभन्दा बढी आधुनिक र सुरक्षित हुन्छ। त्यसैले माट्रिकामा स्माइलमार्फत बढी सर्जरी हुन्छ।

युरोप अमेरिकामा यही सेवा लिँदा ७ लाख देखि १० लाखसम्म लाग्छ। माट्रिकाले नेपालमा यस्तो सेवा ४० हजारबाट थालेको हो। दुवै आँखाको सर्जरीका लागि ८० देखि ९० हजार रुपैयाँ शुल्क लिने गरिएको प्रशासन प्रमुख कल्याण ढुंगाना बताउँछन्। उनले भने, ‘यो रकम केही महँगो जस्तो लागे पनि यसले चस्माको वर्षौँदेखिको झन्झट हटाएर जीवन सहज बनाउन ठूलो मद्दत गर्छ।’

(तस्बिरहरू माट्रिकाको वेबसाइट र सञ्जालबाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast