मधेशको मुख्यमन्त्रीका लागि रस्साकस्सी, सात दलबीच जुटेन सहमति

हिमाल प्रेस १८ मंसिर २०८२ २१:४५
26
SHARES
मधेशको मुख्यमन्त्रीका लागि रस्साकस्सी, सात दलबीच जुटेन सहमति

काठमाडौँ- मधेश प्रदेशका नयाँ मुख्यमन्त्री चयन गर्न बसेको सातदलीय गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ। नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) आ-आफ्नो अडानमा कायमै रहेपछि सहमति जुट्न नसकेको हो।

यद्यपि केही नेताहरूले भने सहमति भइसकेको बताउँदै मुख्यमन्त्रीको नाम शुक्रबारमात्रै सार्वजनिक गर्ने बताएका छन्।

जनता समाजवादी पार्टी (नेपाल) का प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सात दलबाटै मुख्यमन्त्रीमा दाबी पेस गर्ने सहमति भएको जानकारी दिए। सात दलबाटै मुख्यमन्त्रीमा दाबी पेस गर्ने सहमति भएको बताए पनि उनले नाम भने सार्वजनिक गरेनन्।

‘सात दलको बीचमा सहमति जुटिसकको छ। भोलि दुई बजे हामी मुख्यमन्त्रीमा दाबी पेस गर्छौँ,’ बैठकपछि सञ्चारकर्मीसँग उनले भने,‘मुख्यमन्त्रीको नाम अहिले सार्वजनिक नगर्ने सहमति छ। भोलि दाबी पेस गर्ने बेलामै थाहा पाइहाल्नु हुन्छ।’

नेपाली कांग्रेसका मुख्य सचेतक कुँवरकान्त झाले पनि सातदलीय गठबन्धनबाटै मुख्यमन्त्रीमा दाबी पेस गर्ने सहमति भएको बताए। यद्यपि उनले पनि मुख्यमन्त्रीको नाम र दलको नाम बताएनन्। ‘हामीहरूबीच सहमति भइसकेको छ, भोलि दाबी पेस गर्छौँ,’ झाले भने,‘नाम र दल सार्वजनिक नगर्ने कुरा भएको छ।’

जसपा नेपालका संसदीय दलका नेता यादव र कांग्रेसका प्रमुख सचेतक झाले सहमति भइसकेको बताए पनि मुख्यमन्त्री को हुनेबारे अन्तिम टुंगो लगाउन बाँकी रहेको बैठकमा सहभागी एक नेताले भने। सात दलीय गठबन्धन कायम राख्ने भनिए पनि मुख्यमन्त्री कुन दलबाट हुनबारे टुंगो लाग्न बाँकी रहेको उनले बताए।

‘दुई तीन चरणको छलफल भएको छ। वर्तमान राजनीतिक परिस्थितिअनुसार सातदलीय गठबन्धन कायमै रहनुपर्छ भन्ने भएको छ,’ ती नेताले भने,‘तर, मुख्यमन्त्री कुन दलबाट को हुनेबारे टुंगो लगाउन बाँकी छ। सहमति भइसकेको भए नाम सार्वजनिक गर्दा भइहाल्थ्यो नि। सहमति नै भएको छैन। राजनीतिमा लिखित सहमति आवश्यक हुन्छ, खोई त लिखित सहमति?’

बाहिर केही नेताले सहमति भइसकेको बताए पनि मुख्यमन्त्री को हुने टुंगो लगाउनै बाँकी रहेको उनले बताए। यद्यपि सातदलीय गठबन्धनकै अनुसार अगाडि बढ्नुपर्नेमा सबै दल सहमत रहेको उनको भनाइ छ।

कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा, नेपाली कम्युनिस्ट पार्टी (माओवादी केन्द्र र एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टीसहितका दल सातदलीय गठबन्धनमा आवद्ध छन्।

जसपा नेपाल र जनमत पार्टी ‘रेस’ बाट बाहिर रहे पनि कांग्रेस र लोसपाले मुख्यमन्त्रीका लागि दाबी गरिरहेको छ। कांग्रेसका तर्फबाट संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोसपाका तर्फबाट विश्वासको मत पाउन नसकेपछि यसअघि राजीनामा दिएका जितेन्द्र सोनलले मुख्यमन्त्रीका लागि दाबी गरेका छन्।

कांग्रेस र लोसपा आ–आफ्नो अडानमा कायमै रहेपछि सातदलीय बैठकमा सहमति जुट्न नसकेको नेताहरूले जनाएका छन्। बैठक स्रोतका अनुसार लोसपाले आफ्नो अडान कायम राखिरहँदा बैठकमा सहभागी अन्य केही दलले कांग्रेसका तर्फबाट संसदीय दलका नेता कृष्णप्रसादबाहेकको नाम प्रस्ताव गर्नुपर्ने बताएको थियो। संसदीय दलका नेतउ कृष्णप्रसाद भने आफैँ मुख्यमन्त्री बन्न चाहेका छन्।

लोसपाका एक नेताले भने मुख्यमन्त्रीको अडानबाट आफूहरू पछि नहट्ने बताए। अरू प्रदेशहरूमा कांग्रेस र एमालेको सरकार रहेकाले मधेशमा आफूहरूको सरकार बन्नुपर्ने उ

सहमति जुट्न नसकेपछि शुक्रबार बिहान ९ बजे फेरि सात दलको बैठक बस्ने एक नेताले बताए। ‘सहमति जुट्न बाँकी छ। मुख्यमन्त्रीकै लागि कुरा मिलेको छैन, भोलि बिहान ९ बजे फेरि छलफलमा बस्छौँ,’ अर्का एक नेताले बताए।

यसअघिका मुख्यमन्त्री नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले राजीनामा दिएपछि प्रदेश प्रमुख सुरेन्द्र लाभले मुख्यमन्त्रीको दाबी पेस गर्न शुक्रबार दिनको ५ बजेसम्मको समय दिएका छन्।

प्रकाशित: १८ मंसिर २०८२ २१:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast