मधेश : मुख्यमन्त्री यादवले मागेको समय पाएनन्, बिहानै साढे ८ बजे प्रदेशसभा बैठक

हिमाल प्रेस १६ मंसिर २०८२ २१:२६
36
SHARES
मधेश : मुख्यमन्त्री यादवले मागेको समय पाएनन्, बिहानै साढे ८ बजे प्रदेशसभा बैठक

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत लिन बुधबार बिहान ८ बजे प्रदेशसभाको बैठक बोलाइएको छ। उपसभामुख बबिता राउत ईश्वरले बुधबार बिहान साढे ८ बजेका लागि बैठक डाकेकी हुन्।

सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई विश्वासको मत लिन २४ घण्टाको समयावधि तोकेपछि पत्र पाएको आधारमा मंगलबार प्रदेशसभालाई विश्वासको मत लिन दिउँसो २ बजेका लागि समयको वातावरण मिलाइदिन मुख्यमन्त्री यादवले पत्र पठाएका थिए। उनले दिउसो २ बजेका लागि बैठक बोलाइदिन पत्र पठाए पनि मंगलबार साँझ बसेको सर्वदलीय बैठकमा बिहान साढे ८ बजे बैठक बोलाउन सहमति भएअनुसार बैठक आह्वान गरिएको हो।

कुल १०७ सदस्यीय मध्ये मधेश प्रदेशसभा रहेकोमा बहुमतका लागि ५४ प्रदेशसभा सदस्यको आवश्यकता पर्छ। तर मुख्यमन्त्रीसँग हाल २६ जना मात्रै प्रदेशसभा सदस्यको समर्थन छ।

मुख्यमन्त्रीसँग एमालेका २४ जना प्रदेशसभा सदस्य, नेपाल संघीय समाजवादी पार्टीका एक जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रदेशसभा सदस्यको समर्थन छ।

यसैबीच कार्य व्यवस्था परामर्श समितिको बैठक बुधबार बिहान ७ बजे बोलाइएको छ। तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सबैभन्दा ठूलो दलको हैसियतले नेकपा एमालेका नेता यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेपछि विवाद बढेको थियो।

उनको नियुक्तिविरुद्ध प्रतिपक्षी ७ दलीय गठबन्धनसहित सर्वोच्चमा तीनवटा रिट परेको थियो। ती रिटको सुनुवाइ गर्दै सोमबार सर्वोच्चले मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन र विश्वासको मत प्राप्त गर्न नसके पुनः संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो।

प्रकाशित: १६ मंसिर २०८२ २१:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast