मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

हिमाल प्रेस १७ मंसिर २०८२ १५:१७
22
SHARES
मधेशका मुख्यमन्त्रीले दिए राजीनामा

काठमाडौँ-  मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले पदबाट राजीनामा दिएका छन्। विश्वासको मत पाउने आधार नदेखेपछि उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट राजीनामा दिएका हुन्।

तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले प्रदेश संसदीय दलका नेता यादवलाई कात्तिक २६ गते संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी थिइन्।

उनको नियुक्ति असंवैधानिक भएको भन्दै नियुक्त बदर माग गर्न माग गर्दै नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवसहित ७४ सांसदले सर्वोच्च अदालतमा रिट हालेका थिए।

रिटमाथि सर्वोच्च अदालतले मंसिर १५ गते २४ घन्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो। ‘विश्वासको मत प्राप्त गरे यही सरकारलाई निरन्तरता दिने, विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा धारा १६८ (२) बमोजिम सरकार गठन प्रक्रिया अगाडि बढाउनू’ भनेर सर्वोच्चले परमादेश जारी गरेको थियो।

सर्वोच्चको परमादेशअनुसार मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका लागि बुधबार प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई अनुरोध गरेका थिए। बिहान ८ बजे नै प्रदेशसभा बैठक बोलाइए पनि मुख्यमन्त्री यादव अनुपस्थित भएपछि दिउँसो २ बजेका लागि सारिएको थियो।

यादवले विश्वासको मतको प्रस्तावमा सहयोग गर्न कांग्रेसलगायतका दलहरूलाई आग्रह गरेका थिए। तर, विश्वासको मत प्राप्त गर्ने सम्भावना टरेपछि उनले राजीनामा दिएका हुन्।

यादवले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिरहँदा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य सबै दलका प्रदेश सांसदहरू बाहिरिएका थिए।

प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले नैतिक संकट परेका कारण सबै राजनीतिक दलका सांसदहरू भाग्न बाध्य भएको बताए। एमालेले सबै दललाई सहयोग गरे पनि एमालेलाई परेको बेला सहयोग नगरी बैठकबाट बाहिरिएको उनले बताए।

आफ्नो नियुक्ति असंवैधानिक नभएको सर्वोच्चको परमादेशले ठहर गरिसकेको जिकिर गरे। वाध्यात्मक अवस्थामा आफू मुख्यमन्त्री बनेको उनको भनाइ थियो।

मुख्यमन्त्री यादवले राजीनामा दिएसँगै सर्वोच्चको आदेशअनुसार अब संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकार गठन प्रक्रिया सुरू हुनेछ।

प्रकाशित: १७ मंसिर २०८२ १५:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast