मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत, एमाले पनि सत्तापक्षकै कित्तामा

हिमाल प्रेस ४ पुष २०८२ २०:१८ | Friday, December 19, 2025
40
SHARES
मधेशका मुख्यमन्त्रीले पाए विश्वासको मत, एमाले पनि सत्तापक्षकै कित्तामा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव

जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार साँझ बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन्।

यादवलाई सरकार बनाउन समर्थन गरेका सात दलका साथै नेकपा एमालेलेसमेत विश्वासको मत दिएको छ। उनले गठबन्धनका साथै एमालेको समेत मत प्राप्त गरेका छन्।

१०७ सदस्यीय प्रदेशसभामा बहुमतको संख्या प्राप्त गर्न ५४ सांसदको समर्थन आवश्यक हुन्छ। मुख्यमन्त्री यादवले भने ९२ मत प्राप्त गरे। उनको विपक्षमा कसैले मतदान गरेनन्।

कांग्रेस संसदीय दलका नेतासमेत रहेका यादव मंसिर १९ गते संविधानको धारा १६८ (२) बमोजिम ७७ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

उनलाई मुख्यमन्त्री बनाउन कांग्रेसका साथै जसपा नेपाल, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का सांसदहरूले समर्थन जनाएका थिए।

यसअघि एमालेबाट मुख्यमन्त्री बनेका सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेर राजीनामा दिएपछि कांग्रेस मधेश प्रदेशका सभापतिसमेत रहेका यादव मुख्यमन्त्री नियुक्त भएका थिए।

प्रकाशित: ४ पुष २०८२ २०:१८ | Friday, December 19, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast