काठमाडौँ- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शुक्रबार एक महत्वपूर्ण खेल हुँदैछ। त्रिवि क्रिकेट मैदानमा रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्स र मार्की खेलाडी आरिफ शेख समावेश जनकपुर बोल्ट्स अपराह्न ४ बजे आमनेसामने हुनेछन्।
हाल तालिकामा लुम्बिनी लायन्स चौथो स्थानमा छ। उसले ६ खेलबाट ६ अंक जोडेको छ। पुछारमा रहेको जनकपुर बोल्ट्सले भने ५ खेलबाट केवल २ अंक मात्र पाएको छ। दुवै टिम प्लेअफको दौडमा रहेका छन्।
आजको खेल लुम्बिनीका लागि निर्णायक हुनेछ। लुम्बिनीले जित हासिल गरेमा प्लेअफ पुग्ने अन्तिम टिम बन्नेछ। तर जनकपुर विजयी भएमा प्लेअफमा पुग्ने निर्णय अन्य खेलका नतिजा र रनरेटले निर्धारण गर्नेछ।
यसअघि नै सुदूरपश्चिम, काठमाडौँ र विराटनगर प्लेअफमा प्रवेश गरिसकेका छन्। एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति हुँदै आएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले प्रत्येक खेलका लागि ९ हजार ४५० टिकट बिक्री गर्दै आएको छ। मंसिर १ देखि सुरु भएको लिग मंसिर २७ गतेसम्म चल्नेछ।
लिग चरण, तीन प्लेअफ र फाइनलसहित एनपीएलमा जम्मा ३२ खेल हुँदै छन्। शनिबारका खेलका लागि साधारण टिकट ५०० र प्रिमियम टिकट १,५०० रुपैयाँ तोकिएको छ।
लिग चरणका अन्य दिनमा टिकट मूल्य क्रमशः ५०० र १,००० रुपैयाँ छ। प्लेअफपछिका खेलका लागि भने जनरल टिकट १,००० र प्रिमियम टिकट २,००० रुपैयाँ निर्धारण गरिएको छ।
यस सिजनमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स गरी आठ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा छन्।



