लथालिंग जनकपुर-जयनगर रेल्वे सेवा : चार वर्ष बितिसक्दा पनि छैनन् आफ्नै कर्मचारी

सुभाष कर्ण २८ मंसिर २०८२ १८:०६
56
SHARES
लथालिंग जनकपुर-जयनगर रेल्वे सेवा : चार वर्ष बितिसक्दा पनि छैनन् आफ्नै कर्मचारी फाइल तस्बिर

जनकपुरधाम- चार वर्षअघि तामझामका साथ सञ्चालनमा ल्याइएको जयनगर-जनकपुर-बिजलपुरा रेल सेवा यतिबेला लथालि‌ंग अवस्थामा पुगेको छ। सरकारको बेवास्ता र कमजोर व्यवस्थापनका कारण नेपालको एकमात्र रेल्वे लथालिंग अवस्थामा पुगेको हो।

लामो प्रतीक्षापछि २०७८ चैत ११ गतेदेखि नेपाल रेल्वे कम्पनी लिमिटेडले रेल सेवा औपचारिकरूपमा सञ्चालनमा ल्याएको थियो। तर, सञ्चालनको चार वर्ष नपुग्दै रेल्वे व्यवस्थापन पूर्ण रूपमा अस्तव्यस्त बनेको छ।

रेल्वेले कर्मचारीको तलबमा करोडौँ खर्च गरिरहेको छ। तर, यहाँ कार्यरत अधिकांश कर्मचारी ज्यालादारीमा नियुक्त गरिएका छन्। स्थायी कर्मचारीको अभाव र नेतृत्वविहीन अवस्थाले रेल सञ्चालन लथालिंग अवस्थामा पुगेको हो।

नेतृत्वविहीन रेल्वे

गएको भदौ महिनादेखि नेपाल रेल्वे कम्पनी प्रबन्ध सञ्चालक र प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा छ। प्रबन्ध सञ्चालक निरञ्जन झाको कार्यकाल सकिएपछि यो पद रिक्त अवस्थामा छ। लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको रेल्वेमा हाल त्यो निमित्तसमेत छैनन्।

निमित्तको जिम्मेवारी पाएका तुलाबहादुर डांँगीले राजीनामा दिएर कार्यालय आउन छाडेका छन्। यद्यपि उनको राजीनामा स्वीकृत भने भइसकेको छैन। अहिले रेल्वेमा खरिदार तहका केवलबहादुर नेपाली र उत्तिमलाल पण्डित गरी जम्मा दुई जना स्थायी कर्मचारीमात्र कार्यरत छन्।

प्रबन्ध सञ्चालक नियुक्त गर्न गत कात्तिक महिनामै विज्ञापन भएर अन्तर्वार्तासमेत भइसकेको छ। तर, नेपाल रेल्वे बोर्डको बैठक बस्न नसक्दा प्रबन्ध सञ्चालक नियुक्त हुन सकेको छैन। प्रबन्ध सञ्चालकका लागि तत्कालीन प्रबन्ध सञ्चालकसहित तीन जनाले आवेदन दिएका छन्।

हाल महानिर्देशक हरिकुमार पोखरेललाई भौतिक मन्त्रालयले अख्तियारी दिए पनि उनी काठमाडौँ बस्दै आएका कारण प्रशासनिक तथा आर्थिक निर्णयका लागि समेत फाइल बोकेर काठमाडौँ धाउनुपर्ने अवस्था रहेको कर्मचारीहरू बताउँछन्।

कलम किन्न पनि काठमाडौँ पुग्नुपर्ने अवस्था

रेल्वे नेतृत्वविहीन अवस्थामा पुगेपछि सामान्य कामका लागि पनि काठमाडौँ धाउनुपर्ने अवस्था सिर्जित भएको कर्मचारीहरूको भनाइ छ।

नाम नबताउने सर्तमा एक कर्मचारीले भने, ‘कर्मचारीको तलबदेखि एउटा डटपेन किन्नका लागि फाइल काठमाडौँ लिएर जानुपर्ने अवस्था छ। नेपाल रेल्वेको आफ्नो लेखापालसमेत छैन। कोष तथा लेखा नियन्त्रण कार्यालयबाट खटाइएका लेखापाल र अधिकारविहीन ज्यालादारीका लेखा सहायकबाट काम चलाइएको छ।’

तीन महिनाको बाँकी तलबमध्ये हालसालै दुई महिनाको तलबमात्र वितरण गरिएको ती कर्मचारीले बताए। रेल सञ्चालनमा आएको चार वर्ष बित्न लाग्दा पनि स्थायी कर्मचारी भर्ना गर्न विज्ञापन हुन सकेको छैन। ‘प्रवेशका लागि पाठ्यक्रम बने पनि स्वीकृत हुन सकेको छैन। पाठ्यक्रम नै स्वीकृत नभएपछि स्थायी कर्मचारी भर्ना गर्न विज्ञापन हुन सकेको छैन,’ अर्का एक कर्मचारीले भने।

आम्दानीभन्दा खर्च बढी

नेपाल रेल्वे कम्पनी लिमिटेडको व्यावसायिक कार्ययोजना-२०८२ अनुसार आर्थिक वर्ष २०७६/७७ देखि २०८०/८१ सम्म १९ करोड २१ लाख रुपैयाँ आम्दानी हुँदा ६७ करोड ३७ लाख खर्च भएको छ। पाँच आर्थिक वर्षमा रेल्वेले कुल ४८ करोड १४ लाख रुपैयाँ घाटा बेहोरेको छ।

आर्थिक वर्ष २०७८/७९ मा मात्र ८ करोड ४६ लाख घाटा भएको थियो। त्यस वर्ष २ करोड ५४ लाख आम्दानी हुँदा ११ करोड रुपैयाँ खर्च भएको थियो। यस्तै २०७९/८० मा १९ करोड ६१ लाख र २०८०/८१ मा १७ करोड ७६ लाख रुपैयाँ घाटा भएको छ।

तलबमै मासिक एक करोड खर्च

रेल्वेले कर्मचारीको तलबमा मात्रै मासिक एक करोड खर्च गर्नुपरिरहेको छ। रेल सञ्चालनका लागि २३ जना भारतीय कर्मचारी पनि नियुक्त गरिएका छन्। भारतीय कर्मचारीको तलबमा मात्रै मासिक ९४ लाख र १४४ जना ज्यालादारी कर्मचारीमा ३० देखि ३२ लाख रूपैयाँ खर्च हुने गरेको रेल्वेको तथ्यांकले देखाउँछ।

ज्यालादारीमा भर्ना भएका कर्मचारीहरूको पीडा झनै गम्भीर छ। एक जना ज्यालादारी कर्मचारी भन्छन्, ‘बिहान ७ बजेदेखि राति ९ बजेसम्म काम गर्न लगाइन्छ। तर ज्यालाको नाममा ५१५ रुपैयाँदेखि ११ सय दिइन्छ। १४ घन्टा काम गर्ने इन्जिनियरले पनि ११ सय रूपैयाँ पाउँछन्।’

यता चालकबाहेक कहिलेकाहीँमात्रै काममा आउने भारतीय कर्मचारीले भने महिनामा डेढ लाख रुपैयाँसम्म तलब पाउने गरेको ज्यालादारी कर्मचारीहरूको भनाइ छ।

रेल सञ्चालनका लागि भारतको कोकन कम्पनीसँग सन् २०२६ सम्म सेवा सञ्चालन र दक्ष जनशक्ति तयार पार्ने सम्झौता छ। नेपालीलाई प्रशिक्षण दिने उद्देश्यका साथ भारतीय कर्मचारीलाई रेल्वेले ल्याएको हो। तर, स्थायी कर्मचारी नै भर्ना हुन नसक्दा दक्ष जनशक्ति उत्पादनस्वरूप दिइने प्रशिक्षण भने अगाडि नै बढेको छैन।

रेल्वेलाई फाइदामा लैजान कम्पनीले व्यावसायिक कार्ययोजना-२०८२ तयार पारेको छ। कार्ययोजना कार्यान्वयन भए पहिलो वर्षमै ३३ करोड ७२ लाख आम्दानी भई रेल्वे नाफामा जाने दाबी गरिएको छ।

तर, खर्च कटौती, जनशक्ति विकास, वैज्ञानिक भाडादर, सम्पत्ति तथा पूर्वाधार व्यवस्थापनजस्ता योजना कागजमै सीमित बनेको पाइएको छ। हाल भारतको जयनगरदेखि महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर क्षेत्रमा रेल सेवा सञ्चालनमा छ। रेल्वे सेवा दैनिक तीनपटक सञ्चालन भइरहेको छ।

प्रकाशित: २८ मंसिर २०८२ १८:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast