ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकासमन्त्री कुलमान घिसिङ
काठमाडौँ- केही दिनयता ३ ‘वैकल्पिक’ शक्तिबीच एकता हुने भनिएपनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच मात्र सहमति भएको छ। यो सहमतिमा ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ समेटिएका छैनन्।
शनिबार मात्रै घिसिङले पार्टीको नाम रास्वपा र चुनाव चिन्ह घण्टी नै लिएर निर्वाचनमा जानुपर्ने भएकाले एकता नभएको बताएका थिए। त्यसबारे पनि संरक्षक घिसिङले ब्रिफिङ गरेका थिए । यता रवि र बालेनबीच भने रास्वपा नै रहने गरी सहमति भएको छ।
तीन नेताबीच शक्ति बाँडफाँडमा सहमति नहुँदा घिसिङ यो एकता प्रक्रियाबाट बाहिरिएका छन्। रातभरको छलफलपछि आइतबार बिहान रवि र बालेनले मात्रै सात बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
रविले हिजो नै बालेनलाई घिसिङलाई पछि ल्याउने गरी सहमति गर्नुपर्ने प्रस्ताव अघि सारेका थिए। रास्वपाले पार्टी अध्यक्षमा रवि र भाबी प्रधानमन्त्रीका उम्मेदवारका रूपमा बालेनलाई अघि सार्ने छ।




