काठमाडौँ- आगामी नेतृत्वका विषयलाई लिएर नेपाली कांग्रेसमा कोइराला परिवारका तीन नेताहरू एकजुट हुनुपर्ने आवाज उठेको छ। कांग्रेस नेताहरू डा. शेखर कोइराला, डा. शशांक कोइराला र सुजाता कोइराला एक भएको सन्देश प्रवाह भएमा पार्टीले गति लिन सक्ने विषयमा बहस हुन थालेको हो।
नेपाली कांग्रेसको ७८ वर्ष लामो इतिहाससँग कोइराला परिवारको विरासत जोडिएको छ। कांग्रेसका संस्थापक बीपीदेखि अहिलेका प्रभावशाली नेता डा. शेखरसम्म आइपुग्दा कोइराला परिवारले पार्टीमा ठूलो लगानी गरेको कतै लुक्दैन। कांग्रेसमा उनीहरूको लगानी सामान्य छैन। कांग्रेसमा कोइरालाहरुको दुःखसुख, संघर्ष, बलिदान र प्राप्ति सबै जोडिएको छ।
पार्टीको १५ औँ महाधिवेशनका लागि तयारी भइरहँदा अब पार्टी कसले हाँक्ला भन्ने चासो सर्वसाधारणसम्म देखिन्छ। किनभने कांग्रेसले चयन गर्ने नेतृत्व र तय गर्ने नीतिले मुलुकको राजनीतिक दिशा निर्धारण हुँदै आएको विगत छ। पार्टीका अधिकांश नेताहरू शेरबहादुर देउवाले अब कोइराला परिवारलाई नै कांग्रेसको नेतृत्व जिम्मा लगाउने तयारी गरेको बताउँछन्। देउवाभन्दा अघि कांग्रेस सभापति सुशील कोइराला थिए भने त्यसअघि गिरिजाप्रसाद।
गिरिजाप्रसाद कोइरालाको निधनपछि कांग्रेसमा कोइराला परिवारको हैसियत खस्किँदै गएको बुझाइ पनि कतिपयको छ। यद्यपि गिरिजापछि पार्टीको नेतृत्व गरेका सुशील प्रधानमन्त्री हुँदा नेपालमा संविधानसभाबाट संविधान जारी भएको थियो। मुलुकका लागि त्यति ठूलो कामको अगुवाइ गरे पनि सुशीलले पार्टीमा परिवारबाट उत्तराधिकारी तयार पार्न नसकेको टिप्पणी हुँदै आएको छ।
अहिले कोइराला परिवारबाट राजनीतिमा सक्रिय रहेका डा. शेखर, डा. शशांक र सुजातामा एकअर्काप्रति विश्वासको संकट छ। त्यसैले कोइराला परिवारमा नेतृत्व फर्कने विषय सहज देखिँदैन। पारिवारिक मेलमिलाप औपचारिकता मात्र सीमित छ। उनीहरूले कांग्रेस नेतृत्वको विरासत फर्काउन नसक्दा एक दशकयता देउवाले नेतृत्व लिइरहेका छन्।
कोइराला परिवारका डा. शेखर कोइरालाले पार्टी सभापतिको बलियो दाबेदार प्रस्तुत गरिसकेका छन्। बहिनी सुजाता र भाइ डा. शशांकलाई विश्वासमा लिन नसकेमा डा. शेखरलाई सहज हुने देखिँदैन। यद्यपि डा. शेखर भने यता भाइ भन्दा देउवा मिलाउन तिर लागेका हुन कि झै पनि देखिन्छ। तर देउवासँग भाइले स्पष्ट अबको उमेद्वार दाइ भनिसकेकाले डा. शेखर प्रति देउवा सकारात्मक हुन सक्ने जानकारहरू बताउँछन्।
कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक बीपीका छोरा् हुन् भने पार्टीको चौधौँ महाधिवेशनमा सभापतिका प्रत्यासी बनेका डा. शेखर बीपीका दाइ केशवका छोरा हुन्। मुलुकमा राजनीतिक उथलपुथल मात्र होइन राजतन्त्र हटाउने साहस गरेका गिरिजाप्रसादका पुत्री कोइराला परिवारबाट राजनीतिमा सक्रिय अर्की पात्र हुन्। स्वास्थ्यका कारण केही समय निष्क्रिय रहेकी सुजाता पुनः सक्रिय हुन थालेकी छिन्।
डा. शेखर ०७८ मंसिरमा सम्पन्न १४ औं महाधिवेशनमा पारिवारिक विरासत फर्काउने उद्देश्यका साथ सभापति पदमा प्रत्यासी बनेका थिए। त्यति बेला डा. शशांक र सुजाताले साथ नदिँदा डा. शेखर सफल भएनन्। डा. शशांकले देउवालाई मौन रुपमा समर्थन गरेका थिए भने सुजाता प्रकाशमान सिंहको प्यानलबाट उपसभापति उम्मेदवार थिइन्।
पहिलो चरणमा सभापतिमा शेरबहादुरसँगै डा. शेखर, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याणकुमार गुरुङ उम्मेदवार थिए। देउवाले ५० प्रतिशत कटाउन नसकेपछि देउवा र शेखरबीच पार्टी सभापतिका लागि दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो। कहिल्यै मन्त्री नभएका र पार्टी पदाधिकारी नबनेका डा. शेखरले ४६ सय २३ मतमध्ये १८ सय ५५ मत ल्याएका थिए। देउवा २७ सय ३३ मतसहित सभापति निर्वाचित भएका थिए।
डा. शेखरले चुनाव हार्दा गगन थापा समूहले पनि उनीमाथि घात गरेको टिप्पणी भएको थियो। यद्यपि गगन डा. शेखरकै समूहबाट महामन्त्री निर्वाचित भए। १८ सय ५५ महाधिवेशन प्रतिनिधिले विश्वास गरेका डा. शेखरलाई सभापति देउवा र थापाले वरिष्ठ नेता बनाउन चाहेनन्। डा. शशांकले धोका दिएको र गगनले समूहमा रहेर पनि आफ्नो स्वार्थ पूरा गर्न उद्यत रहेपछि डा. शेखरलाई छायामा पारिएको शेखर निकटकाले सुनाउँछन्। यस्तो अवस्थामा कोइराला परिवारका तीन सदस्यले सहकार्य गरेमा डा. शेखर नेतृत्वमा पुग्न सक्छन्।
मंसिर ६ गते बसेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकले १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने गरी कार्यतालिका सर्वसम्मत पारित गरेपछि कांग्रेसमा महाधिवेशनको वातावरण बनिरहेको छ। यस्तो वातावरणमा सुजाता पूर्ण रुपमा डा. शेखरका पक्षमा खुलिसकेकी छन्। उनले भाइ डा. शशांकलाई पनि सहमत गराएको देखिन्छ। यसअघि आफैँ सभापतिका दाबेदार हुँ भन्दै हिँडेका शशांकले डा. शेखर र आफूमध्ये एकजना सभापति लड्ने बताउन थालेका छन्। उनको यो धारणाबाट स्पष्ट हुन्छ– अब कोइराला परिवारबाट डा. शेखर अघि बढ्नेछन्।
देउवा पनि पत्नी आरजुको राजनीतिक भविष्य सुरक्षित गर्न कोइराला परिवारकै भरपर्ने देखिएको छ। प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि पनि शेखरलाई नेता मान्न तयार देखिएको कोइराला निकट नेताहरू बताउँछन्। त्यसैले शेरबहादुर पछिको पुस्ताबाट शेखर सभापतिका एक्ला उम्मेदवार हुने पक्कापक्की छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा युवामा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्दै लागिपरेका छन्। युवा भन्दैमा दलभित्रको संस्कार र सहकार्य तोडेर अघि बढ्न नसकिने विषयमा पनि कांग्रेसमा बहस भइरहेको छ।
सभापति देउवा राजनीतिमा बोलीको पक्का मानिन्छन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्का सफल नभएपछि देउवाले शेखरलाई समर्थन गर्न लागेको उनी निकट नेताहरूको बुझाइ छ। त्यसपछि सभापति आफ्नो समूहका नेतामा ल्याउने गरी देउवा अघि बढेका छन्। त्यसो त सभापति देउवाको आशीर्वाद लिन खोज्नेको सूचीमा महामन्त्री थापा अग्रपंक्तिमा छन्। देउवाले पार्टीमा अनुभवी नेतृत्व आवश्यक रहेको भन्दै निर्वाचनमा कोइराला परिवारलाई साथ दिन सक्ने संकेत दिएको देउवा निकट एक नेताले बताए।
कोइराला परिवारका दुई भाइ र देउवाबीच भएको बैठकले पनि त्यो संकेत गरेको छ। महाधिवेशनको टुंगो लागेको भोलिपल्टै सभापतिका आकांक्षीमध्येका एक शशांकले अर्का आकांक्षी शेखरबारे धारणा राखेपछि दलभित्र आशा पनि जागेको छ। दलभित्र अब्बल र विवादरहित व्यक्ति नेतृत्वमा पुगेको हेर्न चाहने नेताकार्यकर्ता छन्।
बोल्दा खासै विचार नगर्ने र पिताको साथ पाएकी सुजाता केही आलोचित भए पनि दलभित्र उनको एक प्रकारको लोकप्रियता छ। उनको साथले धेरै राहत अनुभव गरेका शेखरले अब शशांकको पनि साथ पाउनेमा शंक नभएको पारिवारीक व्यक्तिहरु नै बताउँछन्। सुजाताले शेखरलाई १५ औँ महाधिवेशनमा सघाउने विषय साउनमा बताएकी हुन्। उनले शशांक पनि शेखरसँग मिलेर अघि बढ्ने बताएकी थिइन्।
सुजाताले कोइराला परिवारका तीनजना एकजुट नभए कांग्रेस संकटमा पर्ने बताएकी छन्। जुन यथार्थ पनि हो। युवाहरुले आफू अनुकूल बनाउन खोज्दा र प्रतिस्पर्धी हुन सक्नेलाई ढिम्किन नदिँदा अर्को दलमा गएको विषय पनि दलभित्र छलफल भइरहेको छ। यसलाई युवाबाट नेतृत्व खोज्नेको कमजोरी र प्रयोगवाद भन्ने गरिएको छ।
‘हाम्रा बुबाहजुरबाले मुलुकप्रति जुन सपना देख्नुभएको थियो, त्यो पूरा गर्न पनि कोइराला परिवार एक हुनुपर्नेछ,’ सुजाताले भनिन्, ‘शशांक पनि सँगै हुनेमा शंका छैन। अब हामी हाम्रा अभिभावकको सपना पूरा गर्न लाग्नेछौँ। मुलुकले हामीलाई दिएको छ अब हामीले मुलुकलाई दिनेछौँ।’
विराटनगरस्थित कोइराला निवास, जो सधैँ पर्खाल र बाररहित थियो। सुजाताले अग्लो सिमेन्टको पर्खाल हालेर बार लगाएको विराटनगरका कांग्रेसीहरु बताउँथे। त्यसलाई कोइरालाका सन्तान मिल्न नसकेको सांकेतिक अवरोधका रूपमा पनि लिइएको थियो। पर्खाल तोड्न नसक्दा स्वयं शेखर र सुजाताले क्रमशः ०७४ र ०७९ मा आमचुनाव हारेका थिए। अब त्यो पर्खाल ढलेको छ। उनीहरु मिलेका छन्।
कोइराला परिवारको अभूतपूर्व एकताबाट मुलुकको लोकतन्त्र यहाँसम्म आएको हो। बीचमा सत्ताशक्तिका कारण कोइराला परिवारमा मनमुटाव आयो होला। अब सबै चिरेर एकले अर्काको सम्मान र माया गर्दै अघि बढ्ने देखिएको छ।
शशांकले भनेका छन्, ‘कांग्रेस मिलाउन परिवार भित्र मिल्न सक्नुपर्ने हुन्छ। अब त्यो हुन्छ।’ शेखर–शशांक–सुजाता मिल्नुको मुख्य कारण बाध्यता, आवश्यकता र ‘रिअलाइजेसन’ पनि हो।
शेखर भने शशांकसँग मिलेको बाहिर देखाउँदा फाइदा कि नदेखाउँदा फाइदा भन्नेमा छन्। मिलेको संकेत गएमा शशांकले देउवासँग सहकार्य गर्नेछन्। जसको कारण नतिजा सहज शेखरका पक्षमा आउनेछ। देउवाले शेखरभन्दा शशांकलाई सहयोग गर्ने बताउँदै गर्दा त्यो भाष्य शेखरतिर सार्नुपर्ने सुझाव पनि छ। त्यसमा शशांकले भूमिका निर्वाह गर्न सक्नुपर्छ। यस कारण शेखरले अहिल्यै सबै विषय बाहिर ल्याउन नखोजेको देखिन्छ।
जेनजी आन्दोलनपछि कांग्रेसको नेतृत्व कार्यवाहक सभापति पूर्णबहादुरको हातमा गएपछि शशांकले दाजुका पक्षमा ओकालत थालेका हुन्। उनले पूर्णबहादुरको शैली बुझे अनि कसको कुरामा लागेको भन्ने थाहा पाए त्यसपछि उनी दाइसँग मिलेर अघि नबढे कांग्रेस खतरामा पर्ने बुझेको जानकारहरू बताउँछन्।
डा. शशांकमा राजनीतिक ‘स्टिंक’ छ तर उनी कहिलेकाहीँ बहकिन्छन् जसको कारण समस्यामा पनि पर्छन्। शशांकले आफू सुरक्षीत हुन यसो गरेको भन्नेहरु पनि छन् तर उनले दल बलियो बनाउन सक्ने व्यक्ति शेखर नै हो भन्ने बुझेर दाइका पक्षमा लागेको पनि एक पुराना कांग्रेसीले बताए।
कांग्रेस गलत ट्रयाकमा जान लागेको सन्देश गइरहेको छ। कांग्रेसलाई कोइराला परिवारले अघि बढाउन सक्ने भन्दै यसभित्र प्रयोग भएको मसल र पैसाको वर्चस्वलाई हटाउन सक्ने व्यक्ति डा. शेखर नै भएको धारणा पनि बाहिर आएको छ।
१४ औँ महाधिवेशनअघि कोइराला परिवार मिलाउन शुभचिन्तकहरू प्रयासरत थिए। शशांककै कारण मिलेन। किनभने उनले पहिला सहयोग गर्ने बताए तर अन्तिममा मौन बसिदिएर देउवालाई सघाए। डा. शेखरलाई सहयोग गर्ने र शशांक शेखर मिलेर पत्रकार सम्मेलन गर्ने तयारी हुँदा उनी संखुवासभा पुगेर आफैँ सभापति उठ्ने बताए।
उनलाई त्यतिबेला देउवाको इसारामा दीपक खड्काले हेलिकप्टरमार्फत संखुवासभा पुर्याएका थिए। जसको कारण खड्काले मन्त्री पद पाए। १४ औं महाधिवेशनमा पराजित भएपछि शेखरले परिवार मिलाउन नसकेपछि कसरी सभापति भइन्छ र? भन्ने प्रतिक्रिया दिएका थिए। यद्यपि उनको मत कम थिएन।
फागुन २०७२ मा सम्पन्न १३ औँ महाधिवेशनमा बीपीपुत्र शशांक महामन्त्रीमा निर्वाचित भएका थिए। रामचन्द्र पौडेलको समूहबाट शशांक महामन्त्रीको उम्मेदवार बन्दा शेखरले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए। १३ औँ महाधिवेशनमा दुवै भाइ केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
पाँच वर्ष महामन्त्री रहेका शशांकसँग कांग्रेसजन सन्तोष हुन सकेका थिएनन्। त्यही कारण शेखर प्यानलसहित सभापतिका लागि प्रतिस्पर्धामा उत्रिए। शशांक केन्द्रीय सदस्यमा लडे। कांग्रेसमा सभापति हुन नसकेका शेखर र सभापति हुन नचाहेका तर देउवालाई सघाएका शशांकबीच १४ औँ महाधिवेशनयता हार्दिकता पलाउन सकेको थिएन। यस्तो विषयमा सहयोगीको भूमिका पनि गौढ हुने गर्छ।
शशांकका कमजोरी बटुलेर बसेका सहयोगीले अन्तिममा विपक्षीबाट लोभमा परेर प्रयोग हुने गरेका छन्। पार्टीमा निकै मेहनत गरेका शेखर यतिबेला विरासतले होइन आफ्नै कर्मले बलियो देखिएका छन्। सभापतिमा पराजित भए पनि ४० प्रतिशत मतको प्रतिनिधित्व गर्दै छुट्टै समूहको अभ्यास गर्दै आएका शेखर अहिलेसम्म कुनै लाभको पदमा पुगेका छैनन्।
कहिले कसलाई प्रयोग त कहिले कसलाई प्रयोग गरे पनि सुरुमा बीपी र पछि गिरिजाप्रसादबाट राजनीति शिक्षा लिएका डा शेखरलाई भने प्रयोग गर्न सकेका छैनन्। यतिबेला कोइराला परिवारका डा शशांक र सुजाताको समूह छैन। यद्यपि उनीहरु दलभित्र बलिया छन्। त्यसैले उनीहरु मिलेर अघि बढ्न सकेमा कांग्रेस फेरि एकपटक ‘भाइब्रेसन’ आउने देखिन्छ।



