झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार उपचारपछि स्वदेश फर्किँदै

हिमाल प्रेस ७ पुष २०८२ ६:४२ | Monday, December 22, 2025
16
SHARES
झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार उपचारपछि स्वदेश फर्किँदै

काठमाडौँ- पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार तीन महिनासम्म भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचारपछि सोमबार स्वदेश फर्कने भएकी छिन्।

जेनजी आन्दोलनका क्रममा घरमा भएको आगजनीमा गम्भीर घाइते भई जीवन–मरणको अवस्थाबाट गुज्रिएकी चित्रकारको स्वास्थ्य अवस्था अहिले स्थिर र सुधारोन्मुख भएपछि उनलाई नेपाल फर्काउन लागिएको हो।

गत २४ भदौमा खनालदम्पती बसोबास गर्ने निवासमा भएको आगजनीमा चित्रकारको शरीरको करिब १५–१७ प्रतिशत भाग जलेको थियो। विशेष गरी देब्रे हातमा गम्भीर चोट लागेपछि संक्रमण फैलिँदै जाँदा अवस्था जटिल बनेको थियो। सुरुमा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भए पनि फोक्सोमा निमोनियाको संक्रमण बढ्दै गएपछि चिकित्सकको सल्लाहमा उनलाई एयर एम्बुलेन्समार्फत दिल्लीस्थित एपोलो अस्पताल लगिएको थियो।

एपोलो अस्पतालमा भर्ना भएपछि उनको लामो समय आइसियूमा राखेर उपचार गरिएको थियो। संक्रमण नियन्त्रणमा ल्याउन चिकित्सकहरूले कडा प्रयास गर्नुपरेको र अन्ततः संक्रमण फैलिन नदिन कुमभन्दा मुनिको देब्रे हात शल्यक्रिया गरेर काट्नुपरेको थियो। त्यसपछि क्रमशः अवस्था सुधार हुँदै गएपछि उनलाई आइसियूबाट जनरल वार्डमा सारिएको थियो।

पछिल्ला केही सातादेखि उनी अस्पतालबाहिर बसेर नियमित फलोअप र उपचार गराउँदै आएकी थिइन्। पूर्वप्रधानमन्त्री झलनाथ खनालका अनुसार अहिले चित्रकार पूर्ण रूपमा पहिलेकै जस्तो तन्दुरुस्त नभए पनि जीवनरक्षा भएको छ। ‘उहाँ अझै पनि चिकित्सकीय निगरानीमै हुनुहुन्छ। आवश्यक थप उपचार र पुनर्स्थापनाको प्रक्रिया नेपालमै अघि बढाउने गरी फर्काउने निर्णय गरेका हौँ,’ खनालले भने।

नेपाल फर्किएपछि चित्रकारलाई डल्लुस्थित भाडाको घरमा राख्ने तयारी गरिएको खनालले जानकारी दिए। सोही प्रयोजनका लागि डल्लु क्षेत्रमा घर भाडामा लिइएको पनि उनले बताए । ‘अस्पताल र आवश्यक स्वास्थ्य सेवाका लागि पहुँच हुने स्थान रोजेका हौँ,’ खनालले भने ।

चित्रकार सोमबार साँझ नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौं आइपुग्नेछिन् ।

प्रकाशित: ७ पुष २०८२ ६:४२ | Monday, December 22, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast