चार खेलको हारपछि जनकपुरको शानदार कमब्याक, चितवन राइनोज ६ विकेटले पराजित

हिमाल प्रेस १६ मंसिर २०८२ १५:०५
12
SHARES
चार खेलको हारपछि जनकपुरको शानदार कमब्याक, चितवन राइनोज ६ विकेटले पराजित

काठमाडौँ- साविक विजेता जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा अन्ततः हारको श्रृंखला तोड्दै पहिलो जित हात पारेको छ। लगातार चार खेलमा पराजित जनकपुरले मंगलबार भएको पाँचौं खेलमा चितवन राइनोजलाई ६ विकेटले हराउँदै शानदार कमब्याक गर्‍यो।

खेल जिते पनि जनकपुरको प्लेअफ यात्रा भने सहज छैन। अब उसले बाँकी दुवै खेल जित्नुका साथै चितवन र लुम्बिनी दुवैले आफ्ना खेल हार्नुपर्नेछ। पाँचमध्ये तीन खेल गुमाइसकेको चितवनको प्लेअफ यात्रा पनि कठिन बनेको छ र अब उसलाई बाँकी रहेका दुवै खेलमा जित आवश्यक छ।

चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो। जनकपुरका ओपनर माज सदाकतले ३० बलमा ६३ रन बनाए भने आसिफ शेख १८ रनमा आउट भए। अनिलकुमार साहले ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रन बनाए र सदाकतसँग उनले दोस्रो विकेटका लागि ७९ रनको महत्त्वपूर्ण साझेदारी गरे। यान निकोल लोफ्टी इटन ११ रनमा रनआउट भए भने आदित्य महता १८ रनमा नटआउट रहे। चितवनका सोहेल तन्विर, अमरसिंह रौटेला र कमलसिंह ऐरीले १/१ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको चितवनले ४ विकेटमा १७६ रन बनाएको थियो। ओपनर डेभिड मलान र अर्जुन साउदबीच १३.४ ओभरमा ११२ रनको बलियो साझेदारी भयो। साउदले ३९ बलमा ५२ रन बनाए भने मलानले ५४ बलमा ४ चौका र ५ छक्कासहित ८० रनको इनिङ खेले। तर मध्यक्रमले योगदान जनाउन सकेन। सैफ जइब ७ रनमा, रवि बोपारा ३ रनमा आउट भए। अन्त्यतिर कप्तान कुशल मल्लले १४ बलमा ३० रन जोडेर स्कोर उकासे। जनकपुरका सदाकत, अनिल साह, रुपेश सिंह र लोफ्टी इटनले १/१ विकेट लिए।

चितवनले यस खेलमा रिजन ढकाल र दीपक बोहारको स्थानमा सौगात ढकाल र अमरसिंह रौटेलालाई समावेश गरेको थियो भने जनकपुरतर्फ अनिलकुमार साह फर्किएका थिए। सचिन भट्टले पनि टोलीमा स्थान पाए। ललित राजवंशी र किशोर महतो भने प्लेइङ-११ मा पुगेनन्।

प्रकाशित: १६ मंसिर २०८२ १५:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast