काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा वैकल्पिक राजनीतिक शक्तिका अभिभावक डा.बाबुराम भट्टराईलाई प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता डा.जनक शाहले पार्टीको नेतृत्वमा रहेर आगामी निर्वाचनमा होमिन सुझाव दिएका छन्।
डा.शाहले चुनावी रणनीतिबारे छलफल गर्न ढिलाइ भइसकेको जस्तो देखिएको बताउँदै हालको राजनीति लोकप्रियतावादबाट उदाएका विचारविहीन नयाँ शक्तिको चर्चा, प्रधानमन्त्री पदको भागबन्डा र नाटकपूर्ण स्टन्टमै सीमित भइरहेको टिप्पणी गरेका छन्। उनले यस्ता गतिविधिबाट राजनीतिक निकास ननिस्कने दाबी गर्दै त्यस किसिमको चर्चामा प्रलोपा कतै नदेखिएको बताएका छन्।
डा.शाहले हाल प्रलोपा ‘नयाँले नखोज्ने र पुरानाले नपत्याउने’ अवस्थामा पुगेको तर्क गरे। त्यसैले पार्टीको रणनीति पुराना पार्टी र पुराना तीन नेताको स्पष्ट विकल्प प्रस्तुत गर्ने, नयाँ पुस्ता तथा जेनजीलाई विश्वासमा लिने र नागरिकमा आशा जगाउनेतर्फ केन्द्रित हुनुपर्ने उनले सुझाएका छन्।
डा.शाहले पार्टीको संरक्षक तथा समग्र नयाँ वैकल्पिक शक्तिको सुरुवातकर्ता भएका कारण साथै नवयुवामाझ डा.भट्टराईप्रति रहेको सकारात्मक दृष्टिकोणलाई ध्यानमा राख्दै यो जटिल राजनीतिक परिस्थितिलाई अग्रगमनसहित तार्किक निष्कर्षमा पुर्याउन परिपक्व अभिभावकीय नेतृत्व आवश्यक रहेको बताएका छन्।
डा.शाहले प्रलोपा डा.भट्टराईकै नेतृत्वमा निर्वाचनमा जानुपर्ने सुझाव दिँदै पार्टीको चुनाव चिन्ह नछोडी सहकार्य गर्नुपर्ने र चुनावी तालमेल रणनीतिलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।




