प्रतिनिधिसभा चुनाव वैशाखमा भएपनि फरक पर्दैन : कांग्रेस महामन्त्री शर्मा

हिमाल प्रेस २६ मंसिर २०८२ १०:४२ | Friday, December 12, 2025
34
SHARES
प्रतिनिधिसभा चुनाव वैशाखमा भएपनि फरक पर्दैन : कांग्रेस महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभाको चुनाव आगामी वैशाखसम्म सरे पनि फरक नपर्ने बताएका छन्। सरकारले आगामी फागुन २१ गते निर्वचनको मिति तोकेको छ।

समाजिक सञ्जाल फेसबुकमा लेख्दै शर्माले वैशाखमा निर्वाचनको मिति सार्दा स्वभाविकै हुनुका तीन कारण प्रस्तुत गरेका छन्। जेनजीलाई अपनत्व महसुस गराउन, निर्वाचन वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई सहज बनाउन वैशाखसम्म मिति सार्दा स्वभाविकै हुने उनको भनाइ छ।

शर्माले लेखेका छन्,‘जेनजी समूहहरुलाई अपनत्वमा गाँस्न, विश्वसनीय चुनावी वातावरण विकसित गर्न र हिमाली क्षेत्रलाई समेत सहज बनाउन निर्वाचन थोरै पर वैशाखमा पुग्नुपरे त्यसलाई स्वभाविक रुपमै स्वीकार गर्नुपर्ने हुन्छ। सहमति र सहकार्यमार्फत आगामी यात्रालाई सहज बनाउनु हामी सबैको साझा दायित्व हो।’

शर्माले जेनजीहरूसँग सरकारले गरेको सहमतिलाई समेत स्वागत गर्दै कार्यान्वयनमा फागुन २१ को निर्वाचनको मिति बाधक हुन नहुने पनि बताएका छन्।

जेनजी र सरकारबीचको सहमतिलाई स्वागत गरे पनि उनले यसमा दलहरूलाई सहभागी नगराइएकोप्रति भने असन्तुष्टि व्यक्त गरेका छन्। कार्यान्वयनका क्रममा यसविषयमा गम्भीर बन्न सरकारलाई शर्माको सुझाव छ।

प्रकाशित: २६ मंसिर २०८२ १०:४२ | Friday, December 12, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast