अध्यक्षमा पराजित ईश्वर पोखरेलले भने- विजयी कमरेडहरूलाई बधाई

हिमाल प्रेस ३ पुष २०८२ १५:४७ | Thursday, December 18, 2025
28
SHARES
अध्यक्षमा पराजित ईश्वर पोखरेलले भने- विजयी कमरेडहरूलाई बधाई

काठमाडौँ- नेकपा एमालेको ११ औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्ष पदमा पराजित नेता ईश्वर पोखरेलले पार्टी पदाधिकारी तथा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित नेताहरूलाई बधाई तथा शुभकामना दिएका छन्।

बिहीबार अन्तिम मतपरिणाम सार्वजनिक भएपछि पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई तथा शुभकामना दिँदै पार्टीमा लोकतन्त्र, ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्तको पालनजस्ता विषयहरूले नयाँस्तरमा निरन्तरता पाउने विश्वास व्यक्त गरे।

‘नेकपा (एमाले) को एघारौं राष्ट्रिय महाधिवेशन-२०८२ (मंसिर २७-पुस ३) सम्पन्न भएको छ। महाधिवेशनमा निर्वाचित अध्यक्षलगायत सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय कमिटीका सदस्य तथा केन्द्रीय निकायमा निर्वाचित कमरेडहरूमा बधाई तथा कार्यकालको सफलताको शुभकामना। महाधिवेशनमा योगदान पुर्‍याउनु हुने महाधिवेशनका प्रतिनिधि कमरेडहरूलाई धन्यवाद व्यक्त गर्दछु,’ पोखरेलले फेसबुकमा लेखेका छन्।

नेता पोखरेलले थप लेखेका छन्,‘प्रतिस्पर्धामा यसपटक म विजयी बन्न नसके पनि मेरो अध्यक्ष पदमा भएको उमेदवारीप्रति आफ्नो विश्वासको मत प्रदान गर्नु हुने मतदाता प्रतिनिधि कमरेडहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। साथै, महाधिवेशनको दौरानमा उठाएका मुद्दाहरू- जनताको बहुदलीय जनवादको प्रकाशमा पार्टीमा सामूहिक नेतृत्व, विधि र पद्धति अनुसार पार्टी संचालन, पार्टीलाई सही र लोकतान्त्रिक तरिकाले संचालन गर्न ‘नियन्त्रण र सन्तुलन’ को सिद्धान्तको पालन आदि महत्त्वपूर्ण विषयहरूले बहस र छलफलले नयाँस्तरमा निरन्तरता पाउने कुरामा विश्वास व्यक्त गर्दछु।’

आफू विजयी बन्न नसके पनि देशभक्तिपूर्ण आन्दोलन, लोकतान्त्रिक आन्दोलन र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा सहभागिता र संलग्नता अटूट रूपमा रहिरहने नेता पोखरेलले उल्लेख गरेका छन्।

प्रकाशित: ३ पुष २०८२ १५:४७ | Thursday, December 18, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast