इटहरीमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु

हिमाल प्रेस ५ पुष २०८२ १८:२५
18
SHARES
इटहरीमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु

इटहरी– इटहरीमा शनिबारदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु भएको छ। उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले गरे।

जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रूपमा विकास गरेर लैजाने उद्देश्यका साथ सुरु भएको सम्मेलनको पहिलो दिन चारवटा ‘कि नोट’ प्रस्तुत गरियो। जसमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सीईएनएएसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की र क्षेत्रीय अंग्रेजी भाषा कार्यालय, अमेरिकी दूतावास, काठमाडौँ नेपाल रोजर एफ कोहेनले प्रस्तुती गरे। सम्मेलनमा चारवटा ‘कि नोट’ स्पिच प्रस्तुत हुने कार्यक्रम छ।

सम्मेलनमार्फत मानविकी, शिक्षा, व्यवस्थापन, भाषाशिक्षण जस्ता विविध क्षेत्रका विद्वान्, अनुसन्धानकर्ता, नीतिनिर्माता तथा सरोकारवालाहरूबीच अन्तरविषयक संवाद र सहयोगलाई विशेष महत्व दिँदै समकालीन चुनौतीहरूप्रति समग्र दृष्टिकोणलाई बढावा दिन योगदान पुग्ने विश्वास लिइएको छ।

जसका लागि विषय विज्ञहरुले ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले बताए।

सम्मेलनको उद्घाटन सत्रमा पूर्वमन्त्री रिजालले समय सापेक्ष शिक्षामा नयाँ नयाँ अध्ययन अनुसन्धान हुनुपर्ने बताए। उनले अध्ययन अनुसन्धानले देखाएको बाटोका आधारमा अघि बढेर देशलाई रूपान्तरणको दिशामा अघि बढाउनुपर्नेमा जोड दिए।

सोही क्रममा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले राजनीतिक दल र नेताप्रति हरेक सर्वसाधारणको वितृष्ण जागिरहेका बेला साँच्चै दल नेता तथा दलको रूपान्तरण गरेर परिवर्तन ल्याउने शिक्षाको सुधारबाटै अनुसन्धान हुनुपर्ने बताए।

‘अहिले पछिल्लो समय जहाँ पनि नेतालाई मात्र गाली गर्छन्,’ उनले भने, ‘यस्ता शैक्षिक सम्मेलनले अब विषयवस्तुलाई समय अनुसार बदलेर सकारात्मक परिवर्तन ल्याउनुपर्छ।’

इटहरीका मेयर हेमकर्ण पौडेलले सम्मेलनले इटहरीको शैक्षिक विकासमा योगदान पुगेको बताए। उनले समाजका हरेक नागरिकलाई सकारात्मक बाटोतर्फ अग्रसर हुनेगरी अब शिक्षामा अध्ययन अनुसन्धान गर्नुपर्ने बताए।

नेपालकै सामूदायिक कलेजमध्ये जनता बहुमुखी कलेज धेरै विद्यार्थी भएको कलेजमा पर्छ। त्यसमा पनि कोशी प्रदेशको केन्द्रमा पर्ने र सबैलाई पायक पर्ने अनि विद्यार्थी अध्ययन गर्न आउनेको रोजाईको केन्द्र बनेको छ।

सम्मेलनले इटहरीको शैक्षिक विकासमा योगदान पुगेको र अन्य निजी कलेजलाई अभिभाकत्व निर्वाह गर्ने भूमिका खेल्न सफल भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले बताए। सम्मेलनमा विदेशका चार देशबाट देशका वक्ता र नेपालका नाम चलेका शैक्षिक विज्ञहरुको प्रस्तुति रहेको छ।

कार्यक्रममा विशेषगरी कोशी प्रदेशकै बढी सहभागी छन्।

५१ लाख रुपैयाँको अक्षयकोष

इटहरीका उद्योगी व्यापारी भीमबहादुर पौडेलले जनता बहुमुखी क्याम्पसमा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न ५१ लाख रुपैयाँको अक्षयकोष खडा गर्ने भएका छन्।

शनिबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनका क्रमममा अक्षयकोष खडा गर्ने घोषणा गरेका हुन्।

प्रकाशित: ५ पुष २०८२ १८:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast