काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत भदौ २४ गते जेनजी आन्दोलनकका क्रममा आफू काँतर भएर नभागेको बताएका छन्। बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन्।
उनले यसलाई महाभारतमा कौरवहरूले लाक्षागृहमै पाण्डवहरूलाई जलाएर मार्न खोजेको सन्दर्भ जोडे। ‘उसबेला लाक्षा गृहभित्र हालेर पाण्डवहरूलाई डढाएर मार्न खोजेका थिए। एकतिरबाट आगो लगाए उनीहरू अर्कातिरबाट भाग्दिए। भागेकै हुन् पाण्डवहरू। काँतर भएर भागेको होइन। बुद्धि पुर्याएर भागेको हो,’ उनले भने, ‘बहादुर भएर हातमा धनुवाण समातेर, गधा लिएर साहसका साथ म जल्छु तर भाग्दिनँ भनेको भए उनीहरू जल्थे। जल्न हुँदैनथ्यो। त्यस्ता परिस्थिति आउँदो रहेछ। दुष्टहरूको घेराबन्दी तोड्न पर्ने रहेछ। त्यस्ता प्रयासलाई असफल पार्नुपर्ने रहेछ। जस्तो पाण्डवले पारेका थिए।’
भदौ २४ गते भागेको नभई आफूले बालुवाटार मात्रै छाडेको बताए। ‘मैले किन बालुवाटा छाडेँ भन्दा नछाड्न सक्थेँ। के-के खुवाएर ल्याएको छ, बेहोसका मान्छे आक्रमण गर्न आउँछन्। आत्मरक्षाका लागि प्रहार गर्दा हताहत हुने भयो। हताहतभन्दा ओल्लो घरबाट पल्लो घर सर्दिएँ भने राम्रो होइन?,’ ओलीले भने।
उनले बच्चाबच्चीहरूले लखेट्दा भागिदियो भने उनीहरू खुसी हुने पनि बताए। ‘उसले खेदेको जस्तो गर्छ, आफू कुद्दिन पर्छ। डरायो, भाग्यो भन्छन्, खुसी हुन्छन् बच्चाहरू,’ उनले भने।




