काठमाडौँ- नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीका दुई पुस्ताबीचको आफू मिलनविन्दु भएको बताएका छन्।
विशालनगरस्थित सम्पर्क कार्यालयमा शनिबार प्रजातन्त्र सेनानी संघका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूसँग भएको भेटघाटमा उनले पार्टीभित्र वरिष्ठ र युवा पुस्ताको मिलनविन्दु भएको बताएका हुन्।
कोइरालाले लामो समयदेखि पार्टीभित्र र बाहिरका फोरमहरूमा युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्छ भन्ने कुरा गर्दै आए पनि त्यसको सुनुवाइ नहुँदा पछिल्लो परिस्थिति निर्माण भएको बताए।
आफूले कोभिड महामारीकै समयदेखि युवाका निम्ति केन्द्रमा २०, प्रदेशमा ३० र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधिको माग गरेको उनले स्मरण गराए।
देश र पार्टी अत्यन्तै कठिन मोडमा उभिएको बताउँदै उनले कांग्रेस पार्टी पुनः निर्माणका लागि सेनानीहरूको सहयोगको अझै खाँचो रहेको उल्लेख गरे।
‘सयौँ योद्धा र युवाहरूको रगत पसिनाले निर्माण भएको पार्टीमा अहिले सैद्धान्तिक विचलन आएको छ,’’ कोइरालाले भने,‘पार्टीभित्र मूल्य, मान्यता र निष्ठाको पनि पुनः निर्माण जरूरी छ।’
उनले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातन्त्र सेनानीहरूले पु¥याएको योगदानको सधैँ उच्च कदर हुने बताए।
नेता कोइरालाले सेनानीहरूलाई पार्टीको आसन्न महाधिवेशन र आमनिर्वाचनमा होमिन निर्देशन दिए।



