म कुनै पदको आकांक्षी होइन, जे दिए पनि लिन्छु : पद्मा अर्याल

हिमाल प्रेस २५ मंसिर २०८२ ६:५९
14
SHARES
म कुनै पदको आकांक्षी होइन, जे दिए पनि लिन्छु : पद्मा अर्याल

काठमाडौँ- नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र नेतृत्व चयन, आन्तरिक लोकतन्त्र र वैचारिक एकताबारे बहस तीव्र बनेको छ। पार्टी सचिव तथा महाधिवेशन प्रचार समिति प्रमुख पद्मा अर्यालले एमालेले ‘दलको लागि मात्र होइन, राष्ट्रको आवश्यकता पूरा गर्ने सक्षम नेतृत्व’ छान्ने तयारी गरेको बताइन्।

उनका अनुसार पार्टीले विश्व समुदायसँग सिधा बहस गर्न सक्ने, ठोस विचार राख्न सक्ने, राष्ट्रिय–अन्तर्राष्ट्रिय चुनौती बुझ्न सक्ने र क्षमतावानमध्येबाट सर्वश्रेष्ठ व्यक्ति चयन गर्ने प्रक्रिया अघि बढाएको छ। अर्यालले भनिन्, ‘सर्वस्वीकार्य नेतृत्व छान्नु नै राम्रो हो, देश निर्माणका लागि अडान, योजना र स्पष्ट एजेन्डा राख्न सक्ने क्षमता अत्यावश्यक छ।’

उनले नेतृत्व चयनमा ‘सहमति पहिलो प्राथमिकता’ हुने स्पष्ट पार्दै, सहमति नजुटे मर्यादित र स्वस्थ प्रतिस्पर्धा अपरिहार्य हुने बताइन्। उनका अनुसार ‘पार्टीभित्र आन्तरिक लोकतन्त्रको संस्कार संस्थागत गर्ने दल एमाले नै हो। त्यसैले प्रतिस्पर्धा कुनै असामान्य विषय होइन।’ उनले भनिन्।

आगामी महाधिवेशनलाई ऐतिहासिक बताउँदै अर्यालले सल्लाघारीमा आयोजना हुने विशाल सभालाई ‘इतिहासमा दस्ताबेज भएर बस्ने सभा’ को रूपमा वर्णन गरिन्। साथै विश्व सम्पदा सूचीमा अटाएको चाँगुनारायण मन्दिर परिसरमा विशेष सांस्कृतिक सन्देश दिने कार्यक्रम आयोजना हुने उनले जानकारी दिइन्।

उनले पार्टीभित्र वैचारिक एकता उच्च रहेको दाबी गर्दै भनिन्, ‘एमालेभित्र वैचारिक भिन्नता छैन, जबज विरोधी कोही छैन, पदका लागि प्रतिस्पर्धा स्वाभाविक हो, तर सिद्धान्तगत कोणमा कुनै मतभेद छैन।’

अर्यालका अनुसार देश निर्माणमा एमाले अहिले विकल्पहीन शक्तिको रूपमा स्थापित भइसकेको छ। उनले भनिन्, ‘अब एकता र बलियो संगठन आवश्यक छ, यो महाधिवेशन नेतृत्व छनोटमै केन्द्रित हुनेछ।’

पार्टीभित्र फरक मत र आन्तरिक बहसबारे प्रश्न उठ्दा अर्यालले सबै विषय बन्द सत्रमै समेटिने बताइन्। उनका अनुसार, ‘पार्टीले आवश्यक प्रक्रिया अपनाउँछ, छलफल हुने विषयहरू उपयुक्त स्थानमै उत्पादन हुन्छन्।’

उनले आफू कुनै पदको आकांक्षी नरहेको प्रष्ट पार्दै भनिन्, ‘म कुनै पद माग्दिनँ, जहाँ म आवश्यक ठान्नुहुन्छ, पार्टी नेतृत्वले जिम्मेवारी दिनुपर्छ, जुन जिम्मेवारी पाउँछु, पूरा गर्न म तयार छु।’

हालै केही व्यक्तिहरूले सार्वजनिक टिप्पणीमार्फत लगाएका आरोपबारे पनि अर्यालले प्रतिक्रिया जनाइन्। उनले भनिन्, ‘केपी शर्मा ओली महिला–मैत्री छैनन् भन्ने कुरा तथ्यमा आधारित छैन, त्यो केही व्यक्तिको व्यक्तिगत आक्रोश मात्रै हो।’

महाधिवेशन नजिकिँदै जाँदा नेतृत्व छनोट, संगठनात्मक रूपान्तरण र पार्टीभित्रको लोकतान्त्रिक अभ्यासबारे भइरहेको खुला बहसले यस महाधिवेशनलाई अघिल्ला महाधिवेशनभन्दा धेरै फरक र ऐतिहासिक बनाइदिएको राजनीतिक विश्लेषकहरूको मूल्यांकन छ।

प्रकाशित: २५ मंसिर २०८२ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast