आन्तरिक चुनावबाट कहिलेसम्म भाग्छन् प्रचण्ड?

किरण पौडेल ७ पुष २०८२ २१:३१
14
SHARES
आन्तरिक चुनावबाट कहिलेसम्म भाग्छन् प्रचण्ड?

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निर्वाचनबाट तेस्रोपल्ट पार्टी अध्यक्ष चयन हुँदा अर्को वामपन्थी दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को नेतृत्व चयन प्रक्रियाबारे बहस भइरहेको छ। प्रचण्ड झन्डै चार दशकदेखि बिना चुनावी प्रतिस्पर्धा पार्टी प्रमुख रहँदै आएकाले उनीबारे चासो बढेको हो।

लामो समयदेखि पार्टी प्रमुख रहे पनि प्रचण्ड चुनावबाट चयन भएको इतिहास छैन। पार्टीले महाधिवेशन तोके पनि प्रचण्ड कहिले पार्टी पुनर्गठन र त कहिले अन्य दलसँग एकता गरेर नेतृत्वमा रहँदै आएका छन्।

केही महिनाअघि पनि तत्कालीन माओवादीको अधिवेशन तोकिएको थियो। तर प्रचण्डले विभिन्न पार्टीलाई माओवादीमा विलय गराएर दलको नाम परिवर्तन गरिदिए। अहिले उनी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक छन्। पार्टीका संयोजक (अध्यक्ष) प्रचण्ड आफैँ तोकिएका छन्।

प्रचण्डका पुस्ताका अधिकांश नेताहरू चुनावमार्फत अध्यक्ष बेनका छन्। प्रचण्डका पुराना सहयात्री डा.बाबुराम भट्टराई तत्कालीन नेसपा नयाँ शक्तिमा मतदानबाट नै अध्यक्ष चुनिएका थिए। नेपाली कांग्रेसमा त मतदानमार्फत महाधिवेशन गर्ने पार्टी हो।

तत्कालीन माओवादीमा प्रचण्ड पनि मतदानमार्फत चुनिएर अध्यक्ष बन्नुपर्ने आवाज उठेको थियो। केन्द्रीय बैठकमा प्रचण्डले पनि मतपेटिका फिँजाउन तयार हुनुपर्ने आवज उठेको थियो। प्रचण्डले त्यसो भनाइलाई अस्वीकार गरिदिए।

७१ वर्षीय प्रचण्ड पार्टी नेतृत्वमा २०४६ सालदेखि निरन्तर छन्। २०४६ सालमा नेपाल कम्युनिस्ट पार्टी (मशाल) रहेको अवस्था सेक्टर काण्ड भएपछि नेतृत्वमा प्रचण्डको उदय भएको हो। २०४७ सालमा आमनिर्वाचन बिथोल्न तत्कालीन मशालले बनाएको रणनीतिलाई सेक्टर काण्ड भनेर चिनिन्छ।

वामपन्थी राजनीतिका जानकारहरूका अनुसार सेक्टर काण्ड कमजोर योजनाबाट बुनिएको थियो। त्यही कारण तत्कालीन महामन्त्री मोहन वैद्य ‘किरण’लाई कारबाहीस्वरूप एक पद घटुवा गरिएको थियो। किरण कारबाहीमा परेपछि प्रचण्ड महामन्त्री बनेका थिए। त्यसपछि प्रचण्ड सधैँ पहिलो छन्। पार्टीको नाम परिवर्तन भएर भिन्नभिन्न भइसक्दा पनि नेतृत्वमा सधैँ प्रचण्ड छन्।

‘पाँचौँ महाधिवेशन भारतको अयोध्यामा भयो। त्यसबाट पनि प्रचण्ड अध्यक्ष बन्नुभयो,’ नेपाली कम्युनिस्ट पार्टीका नेता मातृका यादव भन्छन्, ‘छैटौँ महाधिवेशन (चितवन), सातौँ (हेटौँडा), आठौँ (विराटनगर) महाधिवेशनमा पनि प्रचण्ड सर्वसम्मत अध्यक्ष बन्नुभयो।’

यादवका अनुसार नवौँ महाधिवेशनअघिसम्म प्रचण्डका पार्टीभित्र पनि प्रतिस्पर्धी थिए तर पनि अध्यक्षमा मतदान भएन। ‘नवौँ महाधिवेशनसम्म आइपुग्दा प्रतिस्पर्धा भएन। अब के हुन्छ भन्न सकिन्न’, यादव भन्छन्।

यसअघि जनार्दन शर्माले अध्यक्षमा उम्मेदवारी दिने हल्ला पनि थियो। तर प्रचण्ड-माधवसहितका नेताले पार्टी एकता गरेपछि जनार्दन नयाँ पार्टीतर्फ लागे। अहिलेको नेकपामा पनि प्रचण्डका प्रतिस्पर्धीका रूपमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, भीम रावललगायत छन्।

कहिले हुन्छ नेकपाको महाधिवेशन?

गत कात्तिक १९ मा ९ दलसहितको एकताले नेकपा बनेको छ। प्रचण्डलाई तत्काल महाधिवेशन गर्ने हतार नदेखिएको नेताहरूको बुझाइ छ। नेकपाका प्रवक्ता अग्नि सापकोटाका अनुसार नेकपाको केन्द्रीय कमिटी बैठक आगामी पुस १३ का लागि बोलाइएको छ।

बैठकले महाधिवेशनका विषयमा निष्कर्ष निकाल्ने उनी बताउँछन्। ‘पार्टी महाधिवेशन कहिले हुन्छ भन्ने कुरा प्रतिनिधिसभा निर्वाचनमा निर्भर रहन्छ,’ सापकोटाले हिमालप्रेससँग भने, ‘चुनाव फागुन २१ मा भए महाधिवेशन वैशाखसम्ममा हुन्छ। नभए अर्को मितिमा छलफल हुन्छ।’

सापकोटाका अनुसार चुनावको मितिका कारण महाधिवेशन तोकिएको छैन। नेकपाभित्र वैचारिक एकता पनि छैन। समाजवादीको जबज र माओवादीभित्र माओवादकै हालिमुहाली छ। अबको महाधिवेशनले नेतृत्व मात्र नभई वैचारिक एकता पनि गर्ने सापकोटाको बुझाइ छ। ‘नेतृत्व को आउँछ भन्न सकिन्न। तर नीतिका बारेमा स्पष्ट छलफल हुन्छ,’ सापकोटाले थपे, ‘हामीले अबको महाधिवेशनमा माक्र्सको सिद्धान्त, समाजवादको परिभाषाबारे पनि छलफल गर्नुपर्ने हुन्छ।’

प्रचण्डका पछाडि तत्कालीन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा एमालेका पूर्वअध्यक्ष झलनाथ खनाल, पूर्वउपाध्यक्षद्वय वामदेव गौतम, भीम रावललगायतका नेता छन्।

यी नेताहरू भने यसअघि आफू रहेको पार्टीमा चुनावी प्रक्रियामा सामेल भइसकेका छन्। नेपाल २०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनमा ओलीसँग पराजित भएका थिए। खनाल २०६५ मा बुटवलमा भएको आठौँ महाधिवेशनमा केपी शर्मा ओलीलाई पराजित गरी अध्यक्षमा निर्वाचित भएका थिए। गौतमले पनि एमालेमा रहँदा उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए।

यसैगरी रावलले त २०७८ सालमा भएको एमालेको दसौँ महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा लडेका थिए। अध्यक्षमा चुनाव हारेका रावललाई ओलीले एमालेबाटै निकालिदिएपछि उनी नेकपामा विलय हुन पुगेका हुन्। यी नेताहरूले आन्तरिक चुनाव गराउन दबाब दिएमा प्रचण्डलाई प्रचण्ड अप्ठ्यारोमा पर्न सक्ने विश्लेषकहरूको बुझाइ छ।

विश्लेषकहरू प्रचण्ड अब आन्तरिक चुनावबाट भाग्न नहुने तर्क गर्छन्। ‘भूकम्पको धक्का र कम्पन/दबाब सबैमा पर्छ। प्रचण्डलाई पनि यो प्रभाव पर्छ। उहाँ (प्रचण्ड)लाई पनि सोच्न बाध्य बनाएको छ,’ राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर भन्छन्, ‘अब प्रचण्डसामु पनि विद्रोहका स्वर गुन्जिन्छन्। अन्य राजनीतिक दलको जस्तै राजनीति प्रचण्डले पनि गर्नुपर्छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast