सेख हसिना : फाइल तस्बिर
काठमाडौँ- बंगलादेशको निवर्तमान प्रधानमन्त्री सेख हसिना नेतृत्वको अवामी लिग आगामी निर्वाचनमा भाग लिन नपाउने भएको छ। बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकारका प्रेस सचिव शफीकुल आलमले अवामी लिगले आगामी फ्रेबुअरीमा हुने संसदीय निर्वाचनमा सहभागी हुन नपाउने बताएका हुन्।
उनका अनुसार पार्टीमाथि लगाइएको राजनीतिक गतिविधि प्रबन्न र निर्वाचन आयोगद्वारा दर्ता रद्द गरिएकोले अवामी लिगको चुनावी सहभागिता सम्भव छैन।
राजधानी ढाकास्थित फरेन सर्भिस एकेडेमीमा अन्तरिम सरकारको सल्लाहकार परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा आलमले सरकारको निर्णयबारे जानकारी दिए।
यस क्रममा अवामी लिगमाथि लगाइएको प्रतिबन्धप्रति चिन्ता व्यक्त गर्दै पाँच अमेरिकी सांसदले मुख्य सल्लाहकारलाई पठाएको पत्रबारे सोधिएको प्रश्नको जवाफमा उनले आफूले पत्र नदेखेको तर सरकारको अडान स्पष्ट रहेको उल्लेख गरे।
‘अवामी लिगका गतिविधिमा प्रतिबन्ध लगाइएको छ र निर्वाचन आयोगले पार्टीको दर्ता रद्द गरिसकेको छ। त्यसैले अवामी लिगले आगामी निर्वाचनमा भगल लिन सक्ने छैन,’ आलमले भने।
यस वर्ष मे महिनामा अन्तरिम सरकारले बंगलादेश अवामी लिग र यसका सम्बद्ध तथा भ्रातृ संगठनहरूको सम्पूर्ण गतिविधिमा प्रतिबन्ध लगाउने राजपत्र अधिसूचना जारी गरेको थियो। अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणमा मुद्दा टुंगो नलागेसम्म प्रतिबन्ध कायम रहने उक्त निर्णय गृह मन्त्रालयअन्तर्गत सार्वजनिक सुरक्षा विभागले आतंकवादविरोधी (संशोधन) अध्यादेशअनुसार लिएको हो।
गत वर्ष जुलाईमा विद्यार्थी नेतृत्वको विद्रोहपछि पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार अपदस्थ भएको करिब एक वर्षपछि बंगलादेश फेब्रुअरी २०२६ मा राष्ट्रिय निर्वाचनतर्फ अग्रसर भइरहेको छ। तर पूर्वप्रधानमन्त्री शेख हसिनाले अवामी लिगविनाको चुनावलाई ‘चुनाव नभई राज्याभिषेक’ को संज्ञा दिएकी छन्।
उनले भनेकी छन्, ‘अवामी लिगविनाको चुनाव चुनाव होइन। जनताको मतविना शासन गरिरहेका युनुसले लोकप्रिय जनादेशबाट पटक–पटक निर्वाचित पार्टीलाई प्रतिबन्ध लगाउन खोजिरहनुभएको छ।’
उनका अनुसार अवामी लिगमाथिको प्रतिबन्ध कायम रहे लाखौँ मतदाता मताधिकारबाट वञ्चित हुनेछन् र त्यस्तो प्रक्रियाबाट बन्ने कुनै पनि सरकार नैतिक वैधताविहीन हुनेछ।
राजनीतिक तनाव चुलिँदै गएको अवस्थामा बंगलादेशले फेब्रुअरी २०२६ मा हुने निर्वाचनलाई निर्णायक मोडका रूपमा हेरिरहेको छ।




