वैकल्पिक शक्तिको मिलनलाई ज्ञवालीको कटाक्ष : ‘तारणहार’ जन्माउँछ, तिलस्मी तत्त्वले भ्रम मात्र दिन्छ

हिमाल प्रेस १२ पुष २०८२ ९:१६ | Saturday, December 27, 2025
16
SHARES
वैकल्पिक शक्तिको मिलनलाई ज्ञवालीको कटाक्ष : ‘तारणहार’ जन्माउँछ, तिलस्मी तत्त्वले भ्रम मात्र दिन्छ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली

काठमाडौँ- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विचार मिल्नेहरू एकै ठाउँ उभिनु राम्रो भएको बताएका छन् । यद्यपि पछिल्लो समय एकताको प्रयासमा रहेकाहरूको विचार मिलेको हो कि स्वार्थ भन्ने संशय भने कायमै रहेको उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्,‘सिंहदरबार जलाउने या जल्दा उत्सव मनाउनेहरू पनि लोकतान्त्रिक प्रतिस्पर्धाबाट त्यही सिंहदरबारमा पुग्न खोज्नु सकारात्मक हो । तर यस्ता भेटघाटहरूलाई लिएर यस्तो तरङ्ग ल्याउन खोजिँदै छ– मानौँ, आजसम्म नेपाल नबनेकै अमुक व्यक्तिहरू नमिलेर हो । जस्तो कि दक्षिण भारतीय चलचित्रहरूमा देखिन्छ-कुनै नायक रङ्गमञ्चमा उत्रेर ढ्याक्क खुट्टा बजार्छ, तुफान सिर्जना हुन्छ, अनि सबै खलनायकहरू सोतर हुन्छन्!’

रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबिच भइरहेको पार्टी एकता प्रयासलाई संकेत गर्दै उनले थप भनेका छन्– ‘यो मिलनले यस्तै ‘तारणहार’ जन्माउँछ र देशले मुक्ति पाउँछ भन्ने भ्रान्ति फैलाउन खोजिँदै छ। तर यस्तो तिलस्मी तत्त्वको खोजीले मुलुकलाई कहीँ पनि पुर्याउँदैन। देश बनाउनमा व्यक्तिको भूमिका हुँदैन भन्ने होइन, तर देश बन्ने भनेको अन्ततोगत्वा विचार, संस्था, प्रणाली र सामूहिकताले हो। ’

‘कस्तो शासन प्रणाली अपनाउने? कस्तो आर्थिक नीति लिने? बहुलता र विविधताले भरिएको समाजमा सामाजिक प्रबन्ध कस्तो हुने? तीव्र रुपमा बदलिइरहेको भूराजनीतिक परिदृश्यमा राष्ट्रिय हितको संरक्षण कसरी गर्ने? जलवायु परिवर्तन जस्ता भयावह चुनौतीको सामना कसरी गर्ने? संविधानका कुन विषय संरक्षण गर्ने र के परिमार्जन गर्ने? यावत् प्रश्नमा कुनै विकल्प छैन । छ त केबल नकारात्मकता, निषेध र घृणा’, ज्ञवालीले भनेका छन् ।

घोडा पानीदार हो कि होइन भन्ने टुङ्गो लामो दौडले नै तय गर्ने भन्दै उनले स्वप्न भंगताको क्षण साह्रै पीडादायी हुने स्मरण गराएका छन् ।

प्रकाशित: १२ पुष २०८२ ९:१६ | Saturday, December 27, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast