भारदेउमा लुकेका गुप्तेश्वर महादेव

राजाराम बर्तौला २७ मंसिर २०८२ २०:५७
26
SHARES
भारदेउमा लुकेका गुप्तेश्वर महादेव

ललितपुरको भारदहको उत्तरी पाखोमा गुप्तरुपमा बसेका महादेवको दर्शन सितिमिति हिँडाइले पुग्दैन। भारदहको फेदीबाट एकनासको निरन्तर उकालो सिँढी चढेर गएपछि २५०० मिटरको उचाइमा पुगिन्छ। त्यही विराजमान छन् देवाधिदेव महादेव। लुक्ने कलामा महादेवलाई अरू देवहरूले भेट्टाउँदैनन्। अर्धांगिनी पार्वतीले समेत खोज्नुपर्छ महादेवलाई- कहिले मृगस्थलीमा त कहिले कागेश्वरीमा। गुप्तेश्वरमा लुकेर बसेका महादेव भेट्न भने भारदेउ हुँदै जानुपर्दछ।

शेर्पा इको एडभेन्चरले मंसिर १३ गते गुप्तेश्वरको दर्शन गर्ने र कोन्ज्योसोमको डाँडामाथि पुगेर हिमाल अवलोकन गर्ने गरी पदयात्राको कार्यक्रम बनाएको थियो। कार्यक्रमको रुपरेखा हेरेर पुरानो स्मृति ताजा भयो।

कुरो २०३४ सालको हो, त्यतिखेर म महालेखा नियन्त्रक कार्यालयमा सहलेखापालको जागिर खाँदै कलेज पढ्दै पनि थिएँ। भारदहमा घर भएका सहकर्मी दाइले (थर केसी हो, नाम अहिले बिर्सन पुगेँ) उनको घर हेर्न जाने, एक रात त्यहीँ बस्ने, भोलिपल्ट गुप्तेश्वरको दर्शन गरेर फूलचोकी पुग्ने र काठमाडौँ फर्कने भन्ने प्रस्ताव राखे। फूलचोकी डाँडा उपत्यकाबाट देखिएकै भए पनि शिखरमा पुग्न पाइने भइयो र गुप्तेश्वरमा पुगेर भगवान्को दर्शन पनि गर्न पाइने भइयो भनेर मन प्रसन्न भएको थियो। हामी तीनजना केसी दाइ, गंगाबहादुर केसी र मसहितको टोलीले बाटोमा खाने खाजा सामग्री र बेलुकाका लागि खसीको मासु किनेर यात्रा सुरु गरेका थियौँ।

लगनखेलबाट बस चढेर गोदावरी पुगेपछि हामी जंगलको गोरेटो बाटो उकालो चढेका थियौँ। अहिलेको जस्तो लेले पुग्ने पिच बाटो थिएन। पैदलै जान पर्दथ्यो। भारदह त गोदावरीको दक्षिण उकालो चढेर लेकमा पुगेपछि ओरालो झरेर पुगिन्थ्यो। लेलेबाट गए अर्को एउटा डाँडो काटेर दक्षिण फेदीमा पुग्नपर्ने थियो। दिनभर हिँडेर साँझ भारदेउ पुग्यौँ। भोक र थकाइले यति गलेका थियौँ कि साथमा लगेको काँचो मासु नै चपाएका थियौँ।

भोलिपल्ट बिहान जंगलैजंगल उकालो चढेर गुप्तेश्वर पुगेर त्यहाँबाट पुनः उकालो चढ्दै फूलचोकी पुगेका थियौँ।

विगत सम्झँदै औैँला भाँचेर गन्दा आज ४८ वर्ष भएछ। यस बीचमा कति मानिसले हातको कतिवटा घडीह फेरिसके होलान्। दम दिने घडीको जमानाबाट डिजिटल घडीको जमानामा आइसक्यौँ हामी। हिँडाइको समय, गति, दुरी, मुटुको धडकन, चाल, पहाडको उचाइ सबै हातकै घडीबाट हेर्न मिल्ने र टेलिफोन पनि गर्न मिल्ने घडी लगाउने स्थितिमा हामी पुगेका छौँ। समयसँग मानिसले फड्को मारेको आभास हुन्छ। त्यस बेला गुप्तेश्वर कति उचाइमा छ भन्ने थाहा थिएन। कोन्ज्योसोम भन्ने नाम पनि त्यति चलेको थिएन। हुन त ठाउँ त्यही हो, नदी त्यही, वनजंगल र आवोहावा पनि त्यही, दृश्य कसरी फरक भयो होला? मानिस फरक कसरी भयो होला?

शेर्पा इकोले पदयात्रामा लिएर जाने भएपछि एकपटक पुनः भारदेउको भ्रमण र गुप्तेश्वरको दर्शन गर्ने अभिलाषा बढेर आयो। पदयात्रामा जाने समूहमा सहभागिताका लागि नाम लेखाएँ। पदयात्रीहरू चढेको बस न्युरोडबाट सातदोबाटो, चापागाउँ, लेलेको सरस्वती मन्दिर हुँदै उकालो लाग्यो। केही पर पुगेपछि दायाँ बाटो र अझै केही माथिबाट बायाँ हुँदै भन्ज्याङ चढेर ओरालो लाग्दै भारदेउ पुग्यौँ हामी।

काठमाडौँबाट भारदेउ एउटा डाँडापारि छ। दूरीका हिसाबले त्यस्तै २५ किलोमिटर जति दक्षिणपट्टि। एउटा मेट्रोपोलिटन सिटी, अर्को त्यो सहरमा बस्ने मानिसका लागि खाद्य पदार्थ उत्पादन गर्ने ग्रामीण बस्ती।
यात्राको सुरुमा भारदेउको काल्पनिक चित्र कोरेको थिएँ। केही नभए पनि लेलेको जति भौतिक, सामाजिक र पर्यावरणीय विकासको लहरा तन्किएका होलान् भन्ने लागेको थियो। मेरो आँखाको स्मृतिको पर्दामा लुकेको भारदह ४८ वर्षपछि पुनः हेर्दै छु। बसको सिटमा बसेर मनमा गाउँको चित्रहरू कोर्दै गर्दा र पिच गरेको बाटोमा बस गुडेको देख्दा विकास रूपान्तरण भएको अनुभूति गर्दै थिएँ।

४८ वर्षमा समयले ल्याउने परिवर्तन र मानिसको लगन एवम् परिश्रमले गर्ने विकासे कामहरूले समाजमा ठूलो परिवर्तनको अपेक्षा गरिएको हुन्छ। म पनि त्यही अपेक्षा गर्दै थिएँ। भन्ज्याङ काटेर बसले बस्ती छोएपछि मेरो अपेक्षामा पूर्णविराम लाग्यो। बस्ती उही रहेछ पुरानै। ढाँचा पुरानै, दृश्य उही पुरानै, मानिसको रहनसहन, वातावरण सबै पुरानै। प्राचीन धरोहरको प्रमाणीकरण गरिरहेको जस्तो। समय टक्क रोकिएर फुर्सत लिएजस्तो। भारदेउलाई कुनै चटारो छैन र हतार पनि छैन, जति हतार र चटारो काठमाडौँलाई छ। यसैको एउटा छेउको हिमाली बतासले छोएर जाने भारदेउलाई कुनै चासो छैन। आधुनिकताको गन्ध पदयात्रीहरूले छोडेर जाने अत्तरको बासमा होला तर यो गाउँमा अझै घाँस, दाउरा, पत्कर, खेतीकिसानीको पसिना मगाउँछ।

फेदीमा गुप्तेश्वर जाने पदमार्ग भनेर सूचनापाटी राखिएको छ। यहीँबाट सिमेन्टको जडाइमा बनेको ढुंगे सिँढीको बाटो सुरु हुन्छ। फेदीदेखि माथि कोन्ज्योसोमको शिरसम्म नै। एकोहोरो उकालो हिँड्नुपर्दछ। जंगलको बाटो चराचुरुंगीको चिरबिरसँग रमाउँदै हिँड्न पाइन्छ। हामी बिहान नौ बजे उकालो लाग्दा एक हुल युवती दाउरा र घाँसको भारी बोकेर ओरालो झर्दै थिए। ग्रामीण अर्थतन्त्रको साक्षी बसेको छ यो जंगल।

केही प्रहरी जवान र गाउँका तन्नेरी सामुदायिक भावनाले प्रेरित भएर होला सिँढीमा जमेको पत्कर र फोहरहरू बढार्दै थिए। सामुदायिक भावनाप्रति सचेत देखिएकोमा खुसी लाग्यो। तर बाटोभरि पदयात्रीहरूले फालेका प्लास्टिकका थैला र पानीका बोतल जलाउँदै गरेको देख्दा पर्यावरणीय संरक्षणप्रतिको चेतना अधकल्चो रहेको देख्यौँ। प्लास्टिक जल्दा त्यसबाट निस्कने केमिकलयुक्त प्रदूषित वायुले वातावरण विषाक्त बनाउँछ भनेर सम्झाउँदै साथमा रहेका प्रहरी जवानहरूलाई संकलित प्लास्टिकबाट बोरामा हालेर सहर पठाउन दिएको सुझावले काम गर्‍यो कि गरेन थाहा भएन।

फेदीदेखि गुप्तेश्वरसम्म पुग्न झण्डै तीन घण्टा लाग्यो। बाबा भोलेनाथ गुप्त रूपमा पहराभित्र लुकेर बसेका छन्। बाहिर सानो मन्दिर पनि रहेछ। सम्भवतः यातायातको सुविधा भएर पनि होला युवावयका थुप्रै यात्रीहरू पदमार्ग र मन्दिरमा भेटिए। मन्दिरको दर्शन गरेर पुनः सिँढी चढ्दै उकालो लाग्यौँ र कोन्ज्योसोम पुग्यौँ।

सिँढीबाटै स्वर्ण रङमा निर्मित तीन विशाल मूर्ति देखिन्छन्। बीचमा भगवान् शाक्यमुनि बुद्ध, दायाँ र बायाँ दीपंकर र मैत्रय बुद्धका विशाल मूर्तिहरू पर्वत शिखरमा सुशोभित देखिएका छन्। निर्माण कार्य अझै बाँकी देखिन्छ। धार्मिक र प्राकृतिक दृश्यावलोकनको अदभुत संगम रहेको छ यहाँ। हामी पुग्दा आकाश खुलेको थियो। नीलो आकाशमुनि पूर्वदेखि पश्चिम टलक्क टल्किएका शैलशिखरहरूको दृश्य अद्भूत, मनमोहक, अतिसय मनोहारी र अह्लादकारी थिए। प्रथम दृष्टिमा मुखबाट आह! निस्कन्छ। प्रस्फुटित मौन उद्गार हृदयको मानसबाट। यो टाकुराबाट ३६० डिग्री भ्युमा देखिने दक्षिणका तरेली परेका पहाडहरू, हरिया जंगल, फेदीमा नागबेली बगेका नदी र नेपाली शैलीका पहाडी घर बस्तीहरू हेरिरहुँ लाग्ने देखिन्छन्। रहर मेटिएलान् बरु तृष्णा मेटिँदैनन् यहाँको दृश्यपान गरेर।

गुप्तेश्वर महादेवको मन्दिर २५ सय मिटरको उचाइमा छ। कोन्ज्योसोम २५ सय ८६ मिटर उचाइमा छ। यसको पश्चिमा रहेको फूलचोकीभन्दा ठीक दुई सय मिटर कम। यहाँ चिया, नास्ता र खाना खाने व्यवस्थाका लागि एउटा होटल पनि रहेको छ। हामीले पनि आआफ्नो झोला खोल्यौँ र साथमा लगेका खानेकुरा बाँडेर खाँदै भोक मेट्यौँ। स्थानीय होटलमा सम्धी चिया पाइन्छ– यहाँको थप विशेषता। सम्धी चियाको चुस्की लिएर पुनः ओरालो लाग्यौँ फिर्ती यात्राका लागि।

धित् मर्ने गरी हिमाल हेर्‍यौँ पश्चिममा माछापुछ्रे, मनास्लु, सिसापाङमा (चिनियाँ हिमाल), गणेश, लाङटाङ, दोर्जेलाक्पा। अझै पर पूर्वका हिमाल पनि देखिए तर शिखर हेरेर नाम चिह्न सकिएन। मनभरि, आँखाभरि हिमाललाई राखेर फर्कियौँ। बाटो उही, यात्रु उही दृश्य फरक थियो। अरू फेरिए देखिने गरी भारदेउ भने उस्तै थियो।

   

प्रकाशित: २७ मंसिर २०८२ २०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast