सरकारले जेनजी म्यान्डेट कार्यान्वयन गर्नुपर्छ, चुनाव तोकिएकै मितिमा गरौँ : भट्टराई

हिमाल प्रेस १६ मंसिर २०८२ ११:२७
20
SHARES
सरकारले जेनजी म्यान्डेट कार्यान्वयन गर्नुपर्छ, चुनाव तोकिएकै मितिमा गरौँ : भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डा.बाबुराम भट्टराईले जेनजी विद्रोह र त्यसले प्रस्तुत गरेको राजनीतिक म्यान्डेटलाई तत्काल कार्यान्वयनमा लैजान सरकार र आन्दोलनकारी दुवै पक्षले जिम्मेवारीपूर्वक अघि बढ्नुपर्नेमा जोड दिएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले सुशीला कार्की नेतृत्वको सरकार र जेनजी समूहबीच प्रस्तुत सहमतिपत्रमा तुरुन्त हस्ताक्षर भएर प्रक्रिया अघि बढ्नुपर्ने बताए।

उनले जेनजी पुस्ताको विद्रोहले नेपाली अर्थ-राजनीतिको पुरानो संरचना आमूल परिवर्तनको माग गरिरहेको स्पष्ट भएको उल्लेख गर्दै अब पुरानो राजनीतिको सामान्य डेन्टिङ-पेन्टिङ वा पपुलिस्ट नाराका माध्यमबाट जनआक्रोशलाई दमन गर्ने प्रयास असफल हुने चेतावनी दिए। ‘राजा-रजौटा शैलीमा ‘देवदूत’ उत्पादन गरेर युवाहरूको आक्रोश भजाउने दुष्प्रयास देशलाई अझ ठूलो विस्फोटतिर लैजान सक्छ,’ डा.भट्टराईले लेखे।

भट्टराईका अनुसार संकटग्रस्त राज्य र समाजभित्र दशकौँदेखि संचित बहुआयामिक अन्तरविरोधलाई स्याउलाले छोपेर लुकाउने प्रयास इतिहासमा कहिल्यै सफल नभएको अनुभवले पनि अब संरचनागत परिवर्तनतर्फ गम्भीर ध्यान दिन आवश्यक भएको छ।

गौरीबहादुर कार्की अध्यक्ष रहेको भदौ  २३-२४ को घटनाको छानबिन समितिले कछुवागतिमा होइन रकेटको गतिमा काम सम्पन्न गरी सिफारिस कार्यान्वयन गर्नुपर्ने उनको माग छ। ढिलो भयो भने समस्याको समाधानभन्दा पनि असन्तुष्टि अझ बढ्ने उनले चेतावनी दिए।

डा.भट्टराईले आगामी फागुन २१ गते तोकिएको मितिमा स्वतन्त्र, निष्पक्ष र निर्बाध रूपमा निर्वाचन सम्पन्न गर्न पनि सरकारलाई आग्रह गरे। उनले निर्वाचनलाई औपचारिकता मात्र नभई आगामी राजनीतिक पुनर्संरचनाका लागि निर्णायक चरणका रूपमा अघि बढाउनुपर्ने बताए।

त्यसैगरी, उनले निर्वाचनपछि पुराना दल र नेतृत्वलाई लोकतान्त्रिक ढंगले सम्मानपूर्वक बिदाइ गर्दै नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिबीच बृहत् ध्रुवीकरण, मोर्चाबन्दी र सहकार्य स्थापना गर्नुपर्नेमा जोड दिए। उनका अनुसार यही प्रक्रियामार्फत देशले ‘अग्रगामी नयाँ लोकतान्त्रिक नेतृत्व’ प्राप्त गर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast