अर्थमन्त्री रामेश्वरप्रसाद खनाल/फाइल तस्बिर
काठमाडौँ– अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकारले तीन कार्यभारसहित काम गरिरहेको बताएका छन्।
आइतबार नेपालगञ्ज भन्सार कार्यालयको भन्सार मूल्यांकन ‘डाटावेस’ प्रणालीको शुभारम्भ गर्दै उनले निर्वाचन, भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धन गर्ने सरकारका कार्यभार रहेकाले सोहीअनुसार काम गरिरहेको उल्लेख गरे।
मन्त्री खनालले भन्सार कार्यालयमा सुरु भएको ‘डाटावेस’ प्रणालीले भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवर्द्धनमा सघाउ पुग्ने भन्दै यसबाट अनावश्यक लेनदेनको सम्भावना पनि नहुने बताए।
उनले भने, ‘हामीले सरकारको कार्यभारअनुसार काम अगाडि बढाएका छौँ। राजश्व प्रणाली सुधारका लागि पनि प्राथमिकताका साथ काम गरिरहेका छौँ। मन्त्रालयले आन्तरिक राजश्व प्रशासन र भन्सार कार्यालयमा धेरै समय थाती राखिएका समस्या सम्बोधन गर्दै सुधारका काम गरिरहेको छ।’
मुलुकका सबै स्थानीय तहमा करदाताका लागि पर्याप्त सुविधा दिइएकाले राजश्वका आधार पनि बलियो हुने उल्लेख गर्दै उनले अनुचित लाभका विषयले पनि प्राथमिकता नपाउने बताए।
‘मन्त्रालयका तर्फबाट दीर्घकालका लागि फाइदा हुने धेरै काम भएका छन्। स्थानीय तहमा करदाता लक्षित काम पनि हुँदैछन्। यसले राजश्व र गलत प्रवृत्ति सुधारमा योगदान पुग्नेछ,’ मन्त्री खनालले भने, ‘कतिपय अवस्थामा शंका भएर काम नहुन सक्छ, कतिपय अवस्थामा आचरण खराब भएर पनि काम नहुन सक्छ, त्यस्तो अवस्थामा दोषीमाथि कारवाही हुन्छ।’



