‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छ :गृहमन्त्री

हिमाल प्रेस २२ मंसिर २०८२ ७:००
10
SHARES
‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छ :गृहमन्त्री

काठमाडौँ- गृहमन्त्री ओमप्रकाश अर्यालले ‘जेनजी’ आन्दोलनका अगुवाले राखेका विषयलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। उनले कतिपय सवाल सम्बोधन गर्न पहलकदमी लिइने बताए।

आइतबार गृह मन्त्रालयमा ‘जेनजी’ अगुवासहित भएको छलफलमा मन्त्री अर्यालले आन्दोलनको जगमा बनेको सरकारले ‘जेनजी’ को भावना प्रतिकूल हुने कुनै निर्णयबारे सोच्नसमेत नसक्ने बताए।

उनले भने,’जेनजी भाइबहिनीले उठाउनुभएका मागमा हाम्रो ध्यानाकर्षण भइरहेकै छ। मन्त्रालय र मातहतका निकाय अझै बढी जिम्मेवार र सजग ढंगबाट प्रस्तुत भइरहेको छ। जायज माग सम्बोधन गर्न हामी सधैँ तयार नै छौँ।’

मन्त्री अर्यालले भदौ २३ र २४ गतेका घटनालाई सरकारले एउटा ‘लेन्स’बाट मात्र नहेरेको भन्दै सबै पक्षको आवाजअनुसार निष्पक्ष रूपमा काम गरिने स्पष्ट पारे।

उनले भने, ‘सरकारले एकपक्षीय रूपमा मात्रै सुन्नुहुँदैन। सबैका जायज कुरा सुनिरहेका छौँ। सबै नवपुस्तालाई मेरो आग्रह पनि छ, आफूले गल्ती नगरेको भए प्रहरी प्रशासनलाई अनुसन्धानमा सघाएर अघि बढौँ । पक्राउ परेकाहरूका विषयमा सरकारले आवश्यक अनुसन्धान गर्दैछ। त्यसमा को कति निर्दोष छ भन्ने विषयमा अझै सत्यतथ्य बुझेर थप निष्कर्षमा पुग्नेछौँ।’

‘जेनजी’ युवाहरूले देशैभर आन्दोलनमा उत्रेका कतिपयलाई पक्राउ गरिएको र कतिपयलाई मुद्दा लगाएर जेल चलान गरिएको भन्दै आन्दोलनकर्मीलाई अपराधीकरण नगर्न आग्रह गरेका थिए।

छलफलमा ‘जेनजी’ अगुवाको तर्फबाट १० जना प्रतिनिधि, महान्यायाधिवक्ता सविता भण्डारी, गृह सचिव रामेश्वर दङ्गाल तथा नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका पदाधिकारीको उपस्थिति रहेको थियो।

प्रकाशित: २२ मंसिर २०८२ ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast