‘नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ’

हिमाल प्रेस ५ पुष २०८२ १८:३७ | Saturday, December 20, 2025
16
SHARES
‘नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ’ नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल/ तस्बिर : रासस

काठमाडौँ– नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले सुशासन र सामाजिक न्याय कायम गर्न आफ्नो पार्टीलाई निर्वाचनमार्फत बहुमत दिन आग्रह गरेका छन्।

नेकपाको बागमती, सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेशस्तरीय सन्देशसभामा उनले विगतका कमजोरीलाई सुधार्दै मुलुकबाट भ्रष्टाचार अन्त्य गर्न आफ्नो पार्टीले भूमिका खेल्ने बताए।

सहसंयोजक नेपालले भने, ‘हामीले विगतमा खेलेको भूमिकाको मूल्यांकन गर्नुहोस्, नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो भनेर स्वागत गर्नुहोस्, त्यसलाई स्वीकार्न हामी तयार छौँ।’

उनले आसन्न निर्वाचनमार्फत जनताले नेकपालाई बहुमत दिएको खण्डमा आफ्नो पार्टीले जनअपेक्षा पूरा गर्ने विश्वास दिलाए।

‘जनचाहनालाई साकार पार्नका लागि इमान्दारिताका साथ अघि बढ्नेछौँ। हामीलाई एक पटक मौका दिनुस्, आजसम्म इमान्दारिताको राजनीतिलाई, देशभक्तिको भावनालाई, जनताका सेवाको भावनालाई ध्यानमा राखेर नै भूमिका खेल्दै आइरहेको छौँ। आगामी दिनमा थप सचेत भएर भूमिका निर्वाह गर्नेछौँ,’ उनले भने।

जेनजी पुस्ताको भावना सुशासन कायम र भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने प्रवृत्तिको विपक्षमा रहेजस्तै नेकपाका नेताहरूले पनि विगत लामो समयदेखि यस्तै प्रवृत्तिविरुद्ध जुध्दै आएका उनले जिकिर गरे।

‘त्यसका लागि हामीले तत्कालीन सरकारका प्रमुखलाई मागपत्र बुझाएका छौँ। सुशासनको पक्षमा आवाज बुलन्द गरेका छौँ,’ सहसंयोजक नेपालले भने, ‘त्यसकारण आज जेनजी पुस्ताका साथीहरू नेकपामा समाहित भइरहनुभएको छ, नेकपामाथि गरेको त्यो विश्वासलाई कुठाराघात हुन दिँदैनौँ।’

नेकपाका नेता राजेन्द्र श्रेष्ठले निर्धारित मितिमै निर्वाचन हुनुको विकल्प नभएको जिकिर गर्दै संविधान संशोधनमार्फत जनताको अपेक्षा पूरा गर्नका लागि आफ्नो पार्टीलाई मत दिन आग्रह गरे।

प्रकाशित: ५ पुष २०८२ १८:३७ | Saturday, December 20, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast