‘झरीपछिको इन्द्रेणी’ मा पुरानादेखि डेब्यु कलाकारसम्म

हिमाल प्रेस २८ मंसिर २०८२ १२:५९ | Sunday, December 14, 2025
16
SHARES
‘झरीपछिको इन्द्रेणी’ मा पुरानादेखि डेब्यु कलाकारसम्म

काठमाडौँ- अर्जुन घिमिरे (पाँडे) निर्देशित ‘झरीपछिको इन्द्रेणी’ नयाँ र पुरानो पुस्ताका कलाकारहरूको मिठो सहकार्यमा बनेको फिल्म हो। यसमा अघिल्लो पुस्ताका कलाकारदेखि नयाँ पुस्ताका कलाकार जोडिएका छन्। नयाँ र अग्रज मात्रै पनि होइन, डेब्यु कलाकार पनि छन्।

कुनै समयका चर्चित कलाकार गणेश उप्रेती र रमेश उप्रेती। फिल्ममा यी दुई अनुभवी कलाकारले अभिनय गरेका छन्। यही फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दैछन्। उनीहरूको डेब्यु काम र नयाँ अनुहार दर्शकले हेर्न पाउनेछन्। त्यस्तै, दीपाश्री निरौला र प्रियना आचार्य ‘मुन्नी’ को पनि विशेष भूमिका रहेको टिमले जनाएकाे छ।

अर्जुन घिमिरेको यो निर्देशकीय पहिलो फिचर फिल्म हो। ‘सक्किगोनी’ सिरियलका निर्देशक तथा कलाकार र आफ्नो कमेडीको अनुभवले फिल्म दर्शकले हेर्न लायक बनेको भन्नेमा उनी विश्वस्त छन्। फिल्मले अहिलेको वर्तमान राजनितिक अस्थिरता, त्यसमा जनता अनि देशमा परेको असरलाई पर्दामा देखाएको छ।

डेब्यु कलाकार विमोचन दवाडीले यो फिल्मबाट आफूलाई नेपाली रजतपटमा स्थापित गर्नेमा विश्वस्त रहेको धारणा राखे। ‘यो फिल्म निर्माणमा जति मेहनत लागेको छ, त्यो मेहनत पर्दामा हेर्दा दर्शकको मन छुन्छ जस्तो लाग्छ। जसले दर्शकको माउथ पब्लिसिटीले विस्तारै दर्शक बढ्दै जाने अपेक्षा छ। हाम्रो मेहनतले फल पनि पाउँछ भन्ने लागेको छ,’ उनले भने।

अर्की डेब्यु कलाकार जेसिका पोखरेलले ‘झरीपछिको इन्द्रेणी’बाट अभिनयमा डेब्यु गर्न पाउँदा उत्साहित रहेको बताइन्। । फिल्मले आफ्नो फिल्मी यात्रालाई सहयोग गर्नेमा उनी विश्वस्त छिन्।

फिल्ममा गणेश, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे (पाँडे), प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायत कलाकारको अभिनय छ।

फिल्म आगामी पुस ४ देखि देशभर प्रदर्शन हुनेछ। निर्देशक घिमिरे स्वयंको कथा रहेको सिनेमाको पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेले मिलेर लेखेका हुन्। बुद्ध थापाले छायांकन गरेको फिल्मका निर्मात्री अनिशा सेन्दाङ लिम्बू हुन्।

प्रकाशित: २८ मंसिर २०८२ १२:५९ | Sunday, December 14, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast