नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
काठमाडौँ- नेकपा एमालेभित्र ‘सर्वैसर्वा’ बन्ने केपी शर्मा ओलीको रणनीतिलाई चुनौती दिँदै उभिएका ईश्वर पोखरेलको प्यानलका कारण पार्टीको ११ औँ महाधिवेशन विगतका सहयात्रीहरूबीचको ‘अग्निपरीक्षा’ बनेको छ।
दशकौँदेखि ओलीसँगै रहेका र संकटमा साथ दिएका विश्वासपात्रहरू नै यसपटक फरक कित्तामा उभिएपछि एमालेको आगामी नेतृत्व र नीतिमा नयाँ पराकम्प आउने निश्चित देखिएको हो।
नेकपा एमालेको ११ औँ महाधिवेशन राजधानीमा चलिरहेको छ। तीन दिनदेखि जारी महाधिवेशन केही दिन लम्बिने पक्का छ। नेताहरू टिम बनाएर नेतृत्वका लागि महाधिवेशनमा होमिएका छन्। एकै पदमा धेरै उम्मेदवार परेकाले रुजु गर्न समय लागिरहेको एमाले निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार सोही कारण मतदानमा ढिलाइ भइरहेको छ।
यसपटक अध्यक्षमा केपी शर्मा ओली तेहेरिने प्रयत्नमा छन्। उनलाई सहज रूपमा अध्यक्ष बन्न नदिन ईश्वर पोखरेलले टक्कर दिइरहेका छन्। कुनै बेला एकै समूहमा रहेका यी दुई नेता अहिले प्रतिस्पर्धी बनेका हुन्।
विगतमा ओलीसँग निकट सम्बन्ध भएका नेताहरूसमेत भिन्न प्यानलबाट प्रतिस्पर्धामा उत्रिएका छन्। नवौँ महाधिवेशनमा अध्यक्षमा जितेका ओली १० औँ महाधिवेशनबाट फेरि दोहोरिए। त्यसबेला उनलाई पूर्वमाओवादी समूहका नेता र १० बुँदे समूहले सहयोग गरेका थिए।
एमालेबाट माधवकुमार नेपाल–झलनाथ खनाल बाहिरिँदा उनीहरू निकट केही नेता ओलीसँगै रहेका थिए। ती नेताहरूलाई १० बुँदे नेता भनेर चिनिन्छ। माधव–झलनाथसँग नगई ओलीसँग बुँदामा सहमति गर्दै उनीहरू एमालेमा रहेका थिए। अहिले उनीहरू भिन्न प्यानलमा रहेका छन्।
एमाले र माओवादी एकताबाट बनेको नेकपा ब्युँतिदा कतिपय नेताहरू माओवादीमा नगई ओलीसँगै रहे। ती नेताहरूले १० औँ महाधिवेशनमा ओलीलाई साथ दिएका थिए। ११ औँ महाधिवेशनसम्म आइपुग्दा माओवादी नेताहरू तितरबितर बनेका छन्। कतिपयले पार्टी छाडे भने कतिपय असन्तुष्ट हुँदै छन्।
ओली निकटस्थ नै भिन्न
ओलीले आफू निकटलाई सधैँ च्यापिरहन्छन् भन्ने चर्चा एमाले वृत्तमा चलिरहन्छ। ११ औँ महाधिवेशनसम्म आइपुग्दा ओली निकटस्थ एवं विगतमा ओलीको बचाउ गर्ने नेताहरू फरक कित्तामा उभिएका छन्। कुनै बेला ओली निकटस्थ मानिने अग्नि खरेलले सचिवमा उम्मेदवारी दिएका छन्। उनी कुनै समूहमा छैनन्।
खरेल ओली प्रधानमन्त्री बन्दा लामो समय महान्यायाधिवक्ता थिए। खरेलले ओली अध्यक्ष बन्दा पटकपटक अवसर पाए। ओली यसअघि प्रधानमन्त्री बन्दा पनि खरेल विज्ञ सल्लाहकार थिए। २०७९ सालको निर्वाचनमा खरेलले ओलीको हातबाट टिकट लिएर झापा १ बाट प्रतिनिधिसभामा लडेका थिए। निर्वाचनमा भने कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग हारेका थिए।
ओलीसँग निकट सम्बन्ध भएर अहिले फरक कित्तामा पुगेका अर्का नेता हुन्, गोकुल बास्कोटा। ओली दोस्रो पटक प्रधानमन्त्री बन्दा बास्कोटा अति प्रिय नेता थिए।
ओलीले सञ्चार राज्यमन्त्री बनाएका बास्कोटालाई पछि बढुवा गरेर मन्त्री बनाएका थियो। मन्त्री पदबाट राजीनामा दिएपछि बास्कोटा ओलीको निजी निवास बालकोटमै लामो समय रहे। अहिले तिनै बास्कोटा ईश्वर पोखरेलको प्यानलबाट सचिवमा उम्मेदवार छन्।
ओली निकटस्थ मानिने प्रदीप ज्ञवालीले पनि यसपटक अपेक्षाकृत् पद पाएनन्। अघिल्लो पटक ओली खेमाबाट उपमहासचिव जितेका उनी यसपटक महासचिवका दाबेदार थिए। ओलीले शंकर पोखरेल महासचिवमा दोहो¥याउने निर्णय लिएपछि ज्ञवाली केन्द्रीय सदस्य मात्र उम्मेदवारी दिएका छन्।
विगतमा ओली निकटस्थ नेता राजेन्द्र गौतमको पनि पछिल्लो समय सम्बन्ध बिग्रिएको छ। यसपटक उपमहासचिवमा लड्ने योजना बनाएका गौतमले ओली प्यानलबाट टिकट पाएनन्। यही कारण उम्मेदवारी दिएका थिए। तर उनले उम्मेदवारी फिर्ता लिएको घोषणा गरे।
विगतमा ओलीकै पक्षधरता लिने प्रकाश पौडेलसहितका नेताहरू पनि अहिले फरक कित्तामा छन्। उनीहरू ओलीको शैलीप्रति असन्तुष्ट बन्दै बाहिरिएको बताउँछन्।
‘आधिकारिक लाइनबाट त मेरो नाम आउने कुरा भएन। त्यसैले एकल रूपमा उम्मेदवारी दिएको छु,’ केन्द्रीय सदस्यका दाबेदार पौडेल भन्छन्, ‘ठीक छ। म जित्नेगरी लाग्नेछु।’ पौडेल यसअघि एमाले निकट अखिलका केन्द्रीय अध्यक्षका दाबेदार थिए। ओलीले सुजन कडरियालाई अघि बढाउन चाहँदा पौडेलले ७ मतले चुनाव हारे।
ओलीले आफू निकटहरूलाई प्रयोग गरेर बेवास्ता (युज एन्ड थ्रो) गर्ने गरेको उनका पुराना सहयात्री आरके मैनाली बताउँछन्। ‘ओलीमा यस्तै शैली छ। आफूलाई चाहिँदा मात्र प्रयोग गर्छन्’, मैनाली सम्झन्छन्।
अलग्गिए ‘१० बुँदे’
एमाले विभाजनका बेला एकताका पक्षमा उभिएका नेपाल–खनालका समूहका नेता हुन् १० बुँदे नेता। ती नेतामा पर्छन्, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, योगेश भट्टराई, घनश्याम भुसाल। अघिल्लो महाधिवेशनमा रावलबाहेक उनीहरू ओली निकट थिए। तर अहिले यी सबै नेता ईश्वर पोखरेलको प्यानलमा छन्। रावलले एमाले छाडिसकेका छन्।
यसअघि ओली प्यानलबाटै उपाध्यक्ष जितेका सुरेन्द्र पाण्डे अहिले पोखरेल समूहबाट महासचिव भिड्दै छन्। यसअघि ओली प्यानलबाटै सचिवमा भिडेका योगेश भट्टराई अहिले ईश्वरको समूहबाट उपमहासचिवमा र अघिल्लो कार्यकालका सचिव गोकर्ण विष्ट पोखरेल प्यानलबाटै उपाध्यक्ष भिड्दै छन्। १० बुँदे समूहकी नेतृ रचना खड्का सचिव उम्मेदवार छिन्।
‘ओली प्यानलमा खासै छैनन्। ईश्वरबाट खुलेका छन्’, एक नेताले भने। हुन त यो समूह पनि अहिले तितरबितर छ। १० बुँदे समूहका नेता घनश्याम भुसाल पनि पार्टीबाट बाहिरिएका छन्। रावललाई ओलीले कारबाही गरेर निकाले भने भुसालले पार्टी नै छाडे।
रावल हाल नेपाली कम्युनिस्ट पार्टीमा र भुसाल नेकपा एकीकृत समाजवादी (पुनर्गठन) मा छन्। यही समूहको प्रतिनिधित्व गर्ने अष्टलक्ष्मी र युवराजले महाधिवेशनबाट सक्रिय राजनीतिबाट बाहिरिने घोषणा गरेका छन्। ‘लामो समय पदमा बस्दा पछिल्लो पुस्तालाई मर्का पर्ने भएर हामी बाहिरियौँ,’ शाक्यले भनिन्, ‘ओलीजी जसरी पदमा बसिरहन मन भएन। अब त्याग्नुपर्छ भन्ने लाग्यो।’ अष्टलक्ष्मी र युवराज दुवै १० औँ महाधिवेशनमा ओलीको प्यानलबाट उपाध्यक्ष जितेका थिए।
१० बुँदे निकट एक नेताका अनुसार यसपटक ओलीविरुद्ध ईश्वर मैदान उत्रिएर सहज प्रतिस्पर्धा भयो। ‘हामी उठेको भए पहिल्यै फुटाउन चाहनेहरू अहिले आएर अलग प्यानल बनाए भन्थे। ईश्वर कमरेड नै उठेपछि त ढुक्क भयो नि’, ती नेता भन्छन्, ‘जिते जितिहालिन्छ, नजिते पनि प्रतिस्पर्धा त भयो नि। तर टिम राम्रो बन्यो, पदाधिकारी मिश्रित आउँछ।’
पूर्वमाओवादीहरू ‘हेपिए’
नेकपा विभाजनपछि एमालेमै बसेका माओवादी नेताहरू अहिले संकटमा छन्। एमालेको १० औँ महाधिवेशनमा ओलीले उनीहरूको अपेक्षाअनुसारकै पद दिएका थिए। यसपटक सोचेजस्तो पद हासिल गर्न पाएनन्। अहिले केन्द्रीय पदाधिकारीमा माओवादी पृष्ठभूमिमा दुईजना मात्र छन्। उपाध्यक्षमा रामबहादुर थापा ‘बादल’ र उपमहासचिवमा लेखराज भट्ट। बादल अघिल्लो कार्यकाल पनि उपाध्यक्ष थिए।
लेखराजसँग भने ओलीको सम्बन्ध केही चिसो बन्यो। सोमबार ओली समूहबाट आफ्ना उम्मेदवारको नाम सार्वजनिक गर्दा उनी सचिवमा थिए। तर सचिवमा उम्मेदवारी नदिने अडान लिए। त्यसपछि ओलीले आफ्नो किचन क्वाबिनेटका नेता भानुभक्त ढकाललाई सचिवमा सारेर भट्टलाई उपमहासचिवमा बढुवा गरिएको छ।सचिवकै दाबेदार ज्वालाकुमारी साहको नाम भने एकपटक सार्वजनिक भएपछि काटियो। अहिले उनी मधेश क्लस्टरबाट केन्द्रीय सदस्यमा उठेकी छन्।
माओवादी पृष्ठभूमिका एमाले नेता राज थापाका अनुसार यसपटक महाधिवेशन प्रतिनिधि छनोटबाटै समूहगत प्रतिस्पर्धा बढेको थियो। यही कारण माओवादी पृष्ठभूमिका प्रतिनिधि र उम्मेदवार हेपिएको उनको बुझाइ छ।
ओलीले छाने ‘किचन क्याबिनेट’का नेता
अहिले ओली खेमामा असन्तुष्टि बढेको छ। आफ्नो र आफू निकट नेताको नाम उम्मेदवारीको सूचीमा नपर्दा असन्तुष्टि बढेको हो। ओलीले आफू अनुकूल चल्ने नेता मात्र तयार पारेको इतर पक्षका नेताहरूको बुझाइ छ।
एमालेको महाधिवेशनमा दाबेदार थिए, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङ। तीमध्ये ओलीले पोखरेल रोजेका छन्। पोखरेलले सधँै ओलीको बचाउ गर्दै आएका छन्। ज्ञवाली भने पोखरेल जति निकटस्थ होइनन्। उनको ओलीसँग सामान्य विवाद परिरहन्छ। ओलीले संसद् विघटन गरेका बेला ज्ञवालीले असन्तुष्टि जनाएका थिए। तत्काल ओलीको बचाउमा लागेपछि महाधिवेशनमा प्यानलमा परे।
उपाध्यक्षमा पनि ओलीले गुरु बराललगायतका नेताहरू समेटे। बराल यसअघि एमालेका मनोनीत उपाध्यक्ष हुन्। उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि बराललाई ओलीले स्थायी कमिटीबाट उपाध्यक्ष मनोनीत गरेका थिए। उनले यसअघिको संकटका बेला पनि ओलीका पक्षमा वकालत गरे। उपमहासचिवदेखि सचिवमा पनि ओलीको ‘कोर’ टिम हाबी छ। उपमहासचिवमा विष्णु रिमाल र रघुवीर महासेठ हाबी छन्।
रिमाल ओलीका प्रमुख सल्लाहकार हुन् भने महासेठ केही समययता ओली निकट भनेर चिनिन्छन्। सचिवमा पनि भानुभक्त ढकाल, पद्मा अर्याल, महेश बस्नेतसहितको टिम छ। जुन टिमले यसअघि पनि ओलीका पक्षमा जनमत तान्ने काम गरेका थिए।
पुराना एमाले नेता अमृत बोहोरा भने पार्टीभित्र एकजना मात्र व्यक्ति सर्वैसर्वा हुने प्रवृत्ति मौलाएको बताउँछन्। ‘एकपटक नेता भएपछि सदावहार बनिरहनुपर्ने अवस्था छ। यसपटक यसलाई चिर्न सक्नुपर्छ’, बोहोराले हिमालप्रेससँग भने। बोहोरा पनि यसअघिको महाधिवेशनबाट एमालेको सक्रिय राजनीति त्यागेका नेता हुन्।





