कागजात नभएका र चेसिस नम्बर फेरिएका पाँचवटा जीप नियन्त्रणमा

हिमाल प्रेस ८ पुष २०८२ २०:३८ | Tuesday, December 23, 2025
36
SHARES
कागजात नभएका र चेसिस नम्बर फेरिएका पाँचवटा जीप नियन्त्रणमा

इटहरी- सवारी नम्बर, इन्जिन नम्बर र चेसिस नम्बर परिवर्तन गरिएका पाँच वटा जिप प्रहरीले नियन्त्रणमा लिएको छ। ताप्लेजुङका भित्री सडकमा लामो समयदेखि सञ्चालन भइरहेको अवस्थामा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले ती जिपहरू नियन्त्रणमा लिएको हो।

नियमित चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका ती जिपमा प्रयोग भएका सवारी नम्बर, चेसिस नम्बर र इन्जिन नम्बर यातायात व्यवस्था कार्यालयको कुनै पनि अभिलेखमा फेला नपरेपछि ती सवारीसाधन अवैध रूपमा सञ्चालनमा रहेको पुष्टि भएको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार नम्बर र पहिचान परिवर्तन गरिएका यस्ता सवारी साधन चोरी, तस्करी तथा राजश्व छलीको आशंकासँग जोडिने गरेका छन्। दुर्गम जिल्लाका भित्री सडकलाई प्रयोग गरी यस्ता सवारीसाधन सञ्चालन हुनु राज्यको राजश्व, सार्वजनिक सुरक्षा र सडक व्यवस्थापनका लागि चुनौती बनेको देखिन्छ।

अवैधरूपमा सञ्चालनमा रहेका ती बोलेरो जीपहरू आवश्यक कानुनी कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सवारी चोरी नियन्त्रण, अवैध कारोबार रोकथाम र सडक सुरक्षालाई प्राथमिकतामा राख्दै नम्बर प्लेट, चेसिस नम्बर, इन्जिन नम्बर र कागजातको कडाइका साथ चेकजाँचलाई अझ सशक्त बनाइने जनाएको छ।

प्रकाशित: ८ पुष २०८२ २०:३८ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast