काठमाडौँ- चलचित्र विकास बोर्डले हलमा प्रदर्शनरत विदेशी फिल्मको आम्दानी विवरण सार्वजनिक गरेको छ। बोर्डले केही समययता नेपाली फिल्मको साप्ताहिक रिपोर्ट सार्वजनिक गर्दै आइरहेको छ।
यसैबीच यो साता बाेर्डले गत शनिबार पुस १२ सम्म हलमा पाँच विदेशी फिल्मको रिपोर्ट सार्वजनिक गरेको हो। जसमा ‘धुरन्धर’, ‘अवतार: फायर एन्ड यस’ ‘तेरे इश्क में’, ‘शाेले’ र ‘मिलियन भ्युज’ रहेको छ।
‘धुरन्धर’ ले १२ पुस सम्म नेपालभर ८ करोड ९९ लाख ९३ हजार २ सय ८८ रुपैयाँ कमाएको छ। फिल्मको २ लाख ७४ हजार ७२३ वटा टिकट बिक्री भएको छ। फिल्म गत मंसिर १८ देखि नेपालमा प्रदर्शन भइरहेको छ। आदित्य धरले निर्देशन गरेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। फिल्ममा रणवीर सिंह, सञ्जय दत्त, अक्षय खन्ना, आर. माधवन, अर्जुन रामपाल, सारा अर्जुनलगायत कलाकारले अभिनय गरेका छन्।
हलिउड फिल्म ‘अवतार : फायर एन्ड यस’ ले पुस १२ सम्म नेपालमा ४ करोड ६५ लाख ७५ हजार ४ सय ७० रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मको १ लाख १४ हजार ३१ वटा टिकट बिक्री भएकोछ। गत पुस ४ देखि नै हलमा चलिरहेको फिल्म जेम्स क्यामरुनले निर्देशन गरेका हुन्। यो ‘अवतार’ को तेस्रो शृङ्खला हो। एक्सन र एडभेञ्चर जनरामा बनेको फिल्ममा केट विन्सलेट, सिगोर्नी वीभर, जो साल्डानालगायत कलाकारको अभिनय छ।
बलिउड फिल्म ‘तेरे इश्क में’ ले पुस १२ सम्म ३ करोड ६२ लाख ७ हजार ५ सय ८८ रुपैयाँ कमाएको रिपोर्टमा उल्लेख छ। गत मंसिर १२ देखि नेपालमा प्रदर्शन भइरहेको फिल्मको मुख्य भूमिकामा अभिनेता धनुष र कृति सेनन छन्। प्रेम कथामा बनेको फिल्म एक्सन र ड्रामा जनरामा बनेको छ। फिल्मका निर्देशक आनन्द एल.राय हुन्।
बलिउड फिल्म ‘शोले’ ले नेपालमा २ लाख २४ हजार ९ सय ५० रुपैयाँ कमाएको छ। बलिउडको चर्चित फिल्म ‘शोलेः द फाइनल कट’ पुस १ देखि नेपालमा प्रदर्शनरत छ। उो सन् १९७५ मा प्रदर्शन भएको फिल्म ५० वर्ष पूरा भएको अवसरमा पुनः प्रदर्शन गरिएको थियो।। रमेश सिप्पीले निर्देशन गरेको फिल्ममा धर्मेन्द्र, अमिताभ बच्चन, हेमा मालिनी, जया बच्चन र अमजद खानको अभिनय रहेको छ।
त्यस्तै अर्को फिल्म ‘मिलियन भ्युज’ ले १९ हजार २ सय ५० रुपैयाँ कमाएको छ। पुस ४ देखि नेपालमा प्रदर्शन फिल्म डार्क मनोवैज्ञानिक थ्रिलर जनरामा बनेको छ। फिल्म अंशुल सिन्हाले निर्देशन गरेका हुन्। फिल्ममा सिद्धि जैसवाल, एम साई सोहन, एमडी असद अल्वस्, चेरीसा जिला, अदिती कनासे, महेश किन्कीकर अलिशा मार्टिन, राकेश सानीलगायत कलाकारको अभिनय छ।




