मेसी हेर्न पुगेका प्रशंसकहरूले कोलकत्ताको स्टेडियममा गरे तोडफोड

हिमाल प्रेस २७ मंसिर २०८२ १६:२३ | Saturday, December 13, 2025
28
SHARES
मेसी हेर्न पुगेका प्रशंसकहरूले कोलकत्ताको स्टेडियममा गरे तोडफोड तस्बिर : एफपी

काठमाडौँ- फुटबल स्टार लियोनेल मेसी ‘ग्रेटेस्ट अफ अल टाइम टुर’ अन्तर्गत शनिबार भारतको कोलकत्ता पुगे। त्यहाँ उनी साल्ट लेक स्टेडियममा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए।

मेसी कार्यक्रमबाट निस्किएपछि उनलाई हेर्न मात्र स्टेडियम पुगेका प्रशंसकहरूको आक्रोश चर्किएको थियो। मेसीलाई हेर्न पुगे पनि खराब व्यवस्थापनका कारण उनलाई हेर्न नपाएको प्रशंसकहरूको आरोप छ।

प्रशंसकहरूले कुर्सी र बोतल फ्याँकेर तथा तोडफोड गरेर आफ्नो आक्रोश पोखेका छन्। खराब व्यवस्थापनको आरोप लगाउँदै प्रशसंकहरूले टिकटको पैसा फिर्ता गर्न माग गरेका छन्।

कार्यक्रममा सबैभन्दा सस्तो टिकको मूल्य पाँच हजार भारतीय रूपैयाँ रहेको बताइएको छ। पैसा खर्चेर स्टेडियम पुगे पनि मेसीलाई देख्न नपाएपछि प्रशंसकहरू आक्रोशित बनेका हुन्। उनीहरूले प्रहरीलाई पनि कारबाही गर्न माग गर्दै टिकटको पैसा फिर्ता गर्नुपर्ने बताएका छन्।

मन्त्रीहरू आफ्ना छोराछोरीसहित मेसीसँगै उपस्थित भए पनि साधारण मानिसले केही देख्न नपाएको आरोप प्रशंसकहरूको छ। मेसीको कार्यक्रममा भएको घटनाबारे पश्चिम बंगाल प्रहरीले आफ्नो प्रतिक्रिया दिएको छ।

एडिसनल डाइरेक्टर जनरल (एडीजी) जावेद शमीमले कार्यक्रमका आयोजकलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

उनले भने,‘अहिले अवस्था सामान्य छ। अक अर्को चरण अनुसन्धानको हो। एफआईआर दर्ता गरिएको छ। प्रशंसकहरूले टिकटको पैसा फिर्ता गर्न भनिरहेका छन्। यो कसरी सम्भव हुन्छ भन्ने कुरा हामी हेर्नेछौँ।’

पश्चिम बंगालका डीजीप राजीव कुमारले मेसीले मैदानमा नखेलेपछि प्रशंसकहरू आक्रोशित बनेको बताए।

‘मेसीले किन खेलिरहेका छैनन् भनेर उनीहरू आक्रोशित थिए। तर कार्यक्रम भने मेसी आउने, केही व्यक्तिसँग भेट्ने र फर्किने थियो। सरकारले यस घटनाका सबै फक्षको समीक्षा गर्न एउटा समिति गठन गरेको छ।’

खराब व्यवस्थापन भएको पाइए सम्बन्धित व्यक्तिलाई कानुनी दायरमा ल्याइने उनले बताए।

प्रकाशित: २७ मंसिर २०८२ १६:२३ | Saturday, December 13, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast