फाइल तस्बिर
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले असफल भइसकेको संविधानलाई टेकेर हुने निर्वाचनले मुलुकलाई निकास दिन नसक्ने बताएका छन्।
बुधबारबाट काठमाडौँमा सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष लिङ्देनले जेनजी आन्दोलनपछि बनेको सरकारले यथास्थितिमा गर्न लागेको निर्वाचनले मुलुकलाई निकास नभइ थप संकटमा धकेल्ने बताए। उनले वर्तमान सरकारले जेनजीको भावनाअनुसार आफ्नो कामलाई अघि बढाउनुपर्नेमा जोड दिए। लिङ्देनले जनताको बीचमा चरम अलोकप्रिय सावित भएका कारण केही दलले पार्टीको नाम समेत परिवर्तन गरेको धारणा राखे।
अहिलेको अवस्थामा जनताले विश्वास गरेको पार्टी राप्रपामात्रै रहेकाले राप्रपाको काम चूनाव जित्नेमात्रै नभइ देशलाई दिर्घकालीन द्वन्द्वमा जानबाट रोक्ने जिम्मेवारी समेत रहेको उनले उल्लेख गरे।
आफूले पार्टीको हितविपरित कुनै पनि काम नगरेको भन्दै उनले पार्टीभित्र विवाद देखिएजस्तो सन्देश बाहिर जान दिन नहुने बताए। उनले पार्टीभित्रका असहमतिलाई महाधिवेशनमार्फत समाधान गर्न सकिने बताए।
बैठकमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा सहितको राजनीतिक प्रतिवेदन, महामन्त्री राजेन्द्र गुरुङले सचिवालयसम्बन्धि प्रतिवेदन, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक र लेखापरीक्षण प्रतिवेदन पेश गरेका थिए। बैठक बिहीबार सम्पन्न हुने राप्रपाले जनाएको छ।



