काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जागिर, सरुवा वा नियुक्तिका विषयमा व्यक्तिगत सिफारिस नगर्न आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री पुनले सिफारिस र चाकरी संस्कृतिले नै नेपालमा कुशासन र भ्रष्टाचार जरो गाडेको बताए।
‘हार्दिक अनुरोध छ, कसैले पनि ‘फलानो ठाउँमा यस्तो जागिर वा स्थान खाली रहेछ, लौ न मन्त्रीज्यू भनिदिनुस् न’ भनेर अनुरोध नगर्नु होला,’ मन्त्री पुनले लेखेका छन्। नियम-कानुन मिचेर गरिने यस्ता अनुरोधले शासन प्रणाली नै कमजोर बनाएको उनको भनाइ छ।
मन्त्री पुनले नेताहरूले व्यक्तिगत तथा पार्टी स्वार्थका लागि अनैतिक तरिकाले चाकरीकै भरमा लोभी, पापी र अयोग्य व्यक्तिलाई उच्च पदमा नियुक्त गर्दा कुशासन र भ्रष्टाचार चरम बिन्दुमा पुगेको उल्लेख गरेका छन्। यही प्रवृत्तिको परिणामस्वरूप देशमा ‘जेनजी विस्फोट’ जस्तो असन्तुष्टि देखिएको उनले बताए।
‘यही कारणले देशले आज गम्भीर सामाजिक र प्रशासनिक संकट भोगिरहेको छ,’ उनले लेखेका छन्।



