दीपावली युनेस्कोको ‘अमूर्त सांस्कृतिक सम्पदा’ को सूचीमा

हिमाल प्रेस २४ मंसिर २०८२ १६:०२ | Wednesday, December 10, 2025
6
SHARES
दीपावली युनेस्कोको ‘अमूर्त सांस्कृतिक सम्पदा’ को सूचीमा फाइल तस्बिर

काठमाडौँ- दीपावली, प्रकाशको पर्व। असत्यमाथि सत्यको जितको पर्व। यो पर्व विशेषतः नेपाल र भारतमा मनाइन्छ।

युनेस्कोले बुधबार दीपवालीलाई ‘अमूर्त सांस्कृतिक सम्पदा’ को सूचीमा समावेश गरिएको घोषणा गरेको छ। यो घोषणासँगै उज्यालोको पर्वका रूपमा चिनिने दीपावली विश्व सम्पदाको अंग बनेको हो।

युनेस्कोले सामाजिक सञ्जाल एक्समा दीपावलीलाई ‘अमूर्त सांस्कृतिक सम्पदा’ को सूचीमा समावेश गरिएको जनाएको छ।

युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीले विभिन्न संस्कृतिको विविधता तथा परम्पराबारे सचेतना बढाउन भूमिका खेल्दै आएको छ।

वर्तमान पुस्ताले पूर्वजबाट प्राप्त गरेको र भावी पुस्ताले पनि यसलाई विरासतका रूपमा अंगीकार गर्ने परम्परालाई युनेस्कोले ‘अमूर्त सांस्कृतिक सम्पदा’ को सूचीमा समावेश गर्दै आएको छ।

हिन्दू धर्ममा दीपावलीलाई महत्त्वपूर्ण पर्वका रूपमा लिइन्छ। यो पर्वमा करोडौँ मानिस एकसाथ जम्मा भएर घरको सरसफाइ गरी झिलिमिली बत्तीले सजाउने गर्दछन्। मिठाइ बाँडेर एकअर्कासँग शुभकामना साटासाट गरेर धुमधामका साथ दीपावली पर्व मनाइन्छ।

यो हिन्दू महाकाव्य रामायणसँग पनि जोडिएको छ। पाँच दिनसम्म मनाइने दीपावली पर्व असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मानिन्छ। दीपावलीलाई भगवान् रामले लंकाका राजा रावणलाई पराजित गरी १४ वर्षे वनवास सकेर अयोध्या फर्किएको दिनका रूपमा लिइन्छ।

युनेस्कोको ‘अमूर्त सांस्कृतिक सम्पदा’ को सूचीमा दीपावली समावेश हुनु प्रत्येक नेपाली तथा भारतीयका लागि गर्वको क्षण हो। यो पर्व धनसमृद्धिकी देवी लक्ष्मी पूजासँग समेत जोडिएको छ।

‘असत्यमाथि सत्यको विजय र भगवान रामको अयोध्या फर्किएको प्रतीक बोकेको दीपावली नामक प्रकाशको पर्व विश्भरि मनाइने भएकाले यसलाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा समावेश गरिनु अत्यन्त खुसीको क्षण हो,’ भारतको परराष्ट्र मन्त्रालयले भनेको छ।

यस अवसरमा भारतको दिल्ली सरकारले विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने भएको छ। दिल्ली सरकारले जनाएअनुसार यस अवसरमा प्रमुख भवनहरूमा झिलिमिली बत्ती लगाएर सजावट, मुख्य सडकहरूमा सजावट र विशाल दीप प्रज्वलन समारोहको आयोजना गरिनेछ।

पछिल्लो समय दीपावली नेपाल र भारतमा मात्रै सीमित नभएर अमेरिकाको राष्ट्रपति कार्यालय व्हाइट हाउसमा पनि मनाउन थालिएको छ। अमेरिकी राष्ट्रपतिले ह्वाइट हाउसभित्र दीपावली मनाउने गरेका छन्। अमेरिकाको क्यालिफोर्निया, पेनसिल्भेनियालगायतका राज्यमा प्रान्तीय सरकारले सार्वजनिक बिदा दिने गरेका छन्।

यस वर्ष युनेस्कोले हैटीको ‘कम्पास’, आइसल्यान्डको ‘स्विमिङ पुल संस्कृति’, इराकको सामाजिक परम्परा ‘अल मुहैबिस’, जोर्डनको ‘अल–मिहरास ट्री’, कुवेतको ‘दिवानीया’ घनाको ‘हाइलाइफ’ परम्परालाई यो सूचीमा समावेश गरेको छ।

प्रकाशित: २४ मंसिर २०८२ १६:०२ | Wednesday, December 10, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast