विद्यालयलाई डेस्कबेञ्चसहित उजुरी पेटिका वितरण

हिमाल प्रेस १ पुष २०८२ १५:२१ | Tuesday, December 16, 2025
36
SHARES
विद्यालयलाई डेस्कबेञ्चसहित उजुरी पेटिका वितरण

सिरहा- लहान नगरपालिकाले सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्दै विद्यार्थीलाई उपयुक्त शैक्षिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई भौतिक सामग्री वितरण गरेको छ। यसैक्रममा आज नगरपालिकाले कूल ३३० थान नयाँ डेस्कबेञ्चसहित विद्यालय प्रशासनलाई थप जवाफदेही बनाउन उजुरी पेटिकासमेत वितरण गरेको छ।

एक समारोहबीच नगरप्रमुख महेशप्रसाद चौधरीले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। नगरप्रमुख चौधरीका अनुसार यस कार्यका लागि नगरपालिकाले रु ३० लाख बजेट विनियोजन गरेको थियो। नगरप्रमुख चौधरीले भने,‘सामुदायिक विद्यालयको सुधार नगरी समग्र शिक्षा सुधार सम्भव छैन।’

अघिल्लो आर्थिक वर्षमा ३०० थान डेस्कबेन्च वितरण गरिसकेको र आगामी शैक्षिक सत्रबाट विद्यार्थीलाई कापी र डटपेन उपलब्ध गराउन बजेटको व्यवस्था गरिएको छ।यसका अतिरिक्त, ‘पढ्दै कमाउँदै कार्यक्रम’ अन्तर्गत पशुपति आदर्श माध्यमिक विद्यालयलाई रु २० लाख छुट्याइएको छ। प्रविधियुक्त शिक्षणका लागि ३६ थान स्मार्ट बोर्ड वितरण गर्ने हिसाबले खरिद प्रक्रिया सुरु गरिएको छ।

भौतिक पूर्वाधारतर्फ, लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय, माध्यमिक विद्यालय पडरिया थारुटोल, लेखनाथ माध्यमिक विद्यालयलगायतमा चारकोठे भवन निर्माण सम्पन्न भइसकेको र आवश्यकतानुसार अन्य विद्यालयमा पनि क्रमशः निर्माण गरिने नगरपालिकाले जनाएको छ। नगरपालिकाले दलित तथा मुसहर विद्यार्थीलाई लक्षित गर्दै निःशुल्क ट्युसन कक्षा सञ्चालनको तयारी पनि गरेको छ।

माध्यमिक विद्यालय पडरिया थारुटोलका प्रधानाध्यापक मनोज यादवले नगरपालिकाको यस कदमले विद्यालयको शैक्षिक तथा भौतिक वातावरणमा सुधार ल्याउने विश्वास व्यक्त गरे। लहान नगरक्षेत्रमा जम्मा ६१ वटा सामुदायिक विद्यालय रहेका छन्।

प्रकाशित: १ पुष २०८२ १५:२१ | Tuesday, December 16, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast