नेपाल र भियतनामका व्यवसायी बीच छलफल, महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने

हिमाल प्रेस २५ मंसिर २०८२ २०:४७
28
SHARES
नेपाल र भियतनामका व्यवसायी बीच छलफल, महासंघ र भियतनाम चेम्बर बीच सहकार्य हुने

काठमाडौँ– नेपाल र भियतनामबीच दौत्य सम्बन्ध स्थापनाको ५० बर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायी बीच आर्थिक सन्बन्ध बिस्तार गर्ने विषयमा छलफल भएको छ।

बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरुले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरेका छन्।

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्य अगाडि बढाउन आग्रह गरे।

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध ५० वर्ष पुगेको उल्लेख गर्दै अध्यक्ष ढकालले अब दुई देशबीच आर्थिक सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए।

‘दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा ठूलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठूलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु,’ उनले भने, ‘नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु।’

उनले दुई देशका अर्थतन्त्र एकआपसमा पूरक बन्न सक्ने पनि बताए। भियतनाममा कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उनको भनाइ थियो।

‘नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानून पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनमा सुधार भएको छ, साथै विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ,’ उनले भने।

नेपालमा पर्यटन क्षेत्रमा विशेष गरी होटल, रिर्सोट, केबलकार, साहसिक पर्यटन, वेलनेस सेन्टरहरमा क्षेत्रीय लगानी बढिरहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्तालाई आफूहरु स्वागत गर्न चाहेको बताए।

उनले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निमन्त्रणा दिए।

भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताए।

नेपाल उद्योग वाणिज्य महासंघलाई भियतनाममा स्वागत गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै उनले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिए।

त्यस अवसरमा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गरे।

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानीका क्षेत्रमा भएको सम्भावना सदुपयोग गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: २५ मंसिर २०८२ २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast