‘झर्‍यो जिन्दगी’ माथि विमर्श

हिमाल प्रेस ३ पुष २०८२ २१:२२
16
SHARES
‘झर्‍यो जिन्दगी’ माथि विमर्श

‘झर्‍यो  जिन्दगी फुट्यो जिन्दगी, छल्केर आँखामा बल्यो जिन्दगी। काँडामा हाँसेको मिठो जिन्दगी, सपनीमा नाचेको झुटो जिन्दगी। गहराको दहमा डुब्यो जिन्दगी…’

कालीप्रसाद रिजालको शब्द रहेको यो गीतमा स्वर दिएका छन् नारायणगोपालले। सुगम संगीतका क्षेत्रमा यो गीत कालजयी मानिन्छ। गीत प्रणय सम्बन्धमा आधारित छ। त्यसैले पनि युवा पुस्ताबीचमा यो गीत लोकप्रिय छ। यहाँ भने सुगम संगीतको नभएर कथासंग्रहको चर्चा गर्न लागिएको हो।

कथासंग्रहको शीर्षक छ- ‘झर्‍यो जिन्दगी’। यसका रचनाकार हुन् उषा अधिकारी। कालीप्रसाद रिजालले प्रेममा सफलता प्राप्त गर्न नसकेको सन्दर्भमा त्यो गीत लेखे पनि अधिकारीले चाहिँ नेपालीमा बढ्दै गएको विदेशमोहले जिन्दगी रसातलको यात्रामा लागेको मूल विषयमा आधारित रहेर कथा रचना गरेकी हुन्।

यही संग्रहमाथि पाटन संयुक्त क्याम्पसको नेपाली विभागले संज्ञान विमर्श शृंखलाअन्तर्गत छलफल गरेको छ। कार्यक्रममा उपप्राध्यापक शोभा बराल चापागाईँले कृतिमाथि समीक्षात्मक प्रस्तुति दिएकी थिइन्। उनका अनुसार संग्रहका कथामा विदेश गएका युवाको पीडा, सन्तानले देश छाड्दा अभिभावकमाथि थपिएको निराशा, पारिवारिक विखण्डन, बेमेलजस्ता समसामयिक समस्या समेटिएका छन्।

यस्ता घटनाले व्यक्तिलाई मानसिक सन्ताप निम्त्याएको, एकाग्रता कायम हुन नसकेको, सकारात्मक क्षणहरू सम्झँदा पनि छोराछोरी विदेश गएका बाबुआमाको मन छटपटिएको देखाइएको छ।

विदेश गएका नेपालीले त्यहाँको संस्कृतिसँग घुलमिल हुन नसक्दा आइपरेका समस्या कथाले लिएका अन्य विषय हुन्। केही कथा बाल्यकालीन संस्मरणमा आधारित छन्। कथाकारले भोगेको बाल्यकालीन घटनालाई जीवन्त रूपमा समेटेकी छन्।

चापागाईँले भनिन्, ‘केही कथा मानव र प्रकृतिसँग सम्बन्धित छन्।’ बाँस, जमुनाजस्ता वृक्षहरूलाई कथामा ल्याएर कथाकारले मान्छे र प्रकृतिबीच अन्योन्याश्रित सम्बन्ध स्पष्ट पारेकी छन्।’ सहरी क्षेत्रमा भाडामा बस्ने परिवारले भोग्नुपरेका सास्तीलाई कथाकारले कलात्मक रूपमा प्रस्तुत गरेको चापागाईँले बताइन्। चापागाईँका अनुसार पुरुषको भोगवादी चरित्रले निम्त्याएका विकृति कथामा पाइन्छ। उनले भनिन्, ‘कथाका विषय विविध छन्। ससाना घटनालाई टिपेर कथा उनिएका छन्। विषयवस्तु आफ्नै वरिपरिबाट लिइएको छ।’

चापागाईँका अनुसार जीवनशैलीबाट मात्रै नभएर कलासंस्कृति, सभ्यता, सामाजिक मूल्यमान्यताजस्ता विषयबाट पनि जिन्दगी पतोनोन्मुख हुँदै गएको निष्कर्ष कथासंग्रहको रहेको छ।

उपप्राध्यापक महानन्द जोशीले पछिल्लो समयमा मानिसका आकांक्षा, सामाजिक समस्या र परिवेश परिवर्तन भइरहेको विषयमा कथाकार अद्यावधिक रहेको धारणा व्यक्त गरे। उनका अनुसार यस्ता विषयलाई कथामा सरल भाषामा प्रस्तुत गर्न सक्नु कथाकारको मौलिक विशेषता हो। उपप्राध्यापक डा. जीवनकुमार श्रेष्ठले अधिकारीका कथामा ससाना घटनालाई महत्त्व दिइएको बताए।

उनले भने, ‘पुरुषको चासोमा नपर्ने विषय महिलाका लागि निकै मार्मिक हुँदो रहेछ भन्ने यथार्थलाई कथाकार अधिकारीले कथासंग्रहमा प्रस्तुत गरेकी छन्।’ उपप्राध्यापक चतुर्भजलालदास केवरतले स्वदेशमा आर्थिक समस्या र अवसरको कमीका कारण युवा विदेश जानुपर्ने सन्दर्भलाई कथाकारले उठाएको बताए।

उपप्राध्यापक डा. हेम भण्डारीले अधिकारीका कथाहरू पुँजीवादबाट प्रभावित रहेको बताए। उनले भने, ‘कथासंग्रहमा अन्तरसांस्कृतिक, लैंगिक उत्पीडन, सांस्कृतिक विचलन, लैंगिक प्रभुत्वजस्ता विषय पाइन्छन्।’

प्राध्यापन पेसाबाट निवृत्त अधिकारीको ‘झर्‍यो जिन्दगी’  पहिलो कथासंग्रह हो। यसमा २५ वटा कथा संगृहीत छन्।

कथासंग्रहको आवरणचित्र राजीव घिमिरेले तयार पारेका हुन्। घिमिरेले अनुभूतिका रूपमा भनेका छन्, ‘सबै कथाहरूको चित्र बनाउन सकिँदैन, तर यस सङ्ग्रहमा भएका प्रत्येक कथाबाट सयौँ चित्र बनाउन सकिन्छ। यसको पनि कारण छ- किनभने यसका हरेक कथामा विषयवस्तु छ र त्यो विषयवस्तुलाई सुहाउँदो प्लट छ र सन्देश पनि छ। त्यसैले यो अरू भन्दा भिन्नै शैलीको लेखनको सँगालो हो।’

प्रकाशित: ३ पुष २०८२ २१:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast