व्यावसायिक कृषिमा ढकाल परिवार, कालिज, सुन्तला र अकबरेबाट लाखौं आम्दानी

हिमाल प्रेस ८ पुष २०८२ १५:०२ | Tuesday, December 23, 2025
26
SHARES
व्यावसायिक कृषिमा ढकाल परिवार, कालिज, सुन्तला र अकबरेबाट लाखौं आम्दानी

पोखरा- रोजगारीका लागि युवा विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी नगरपालिका-१ तल्लीपोखरी नयाँगाउँका दिनेश ढकालको परिवारले व्यावसायिक कृषि फार्म सञ्चालन गरेका छन्।

दिनेशसहित उनका बुबा पिताम्बर, आमा ताराका साथै श्रीमती सदिक्षालगायत व्यावसायिक कृषिमा होमिएका छन्। डिटिपिएस नामक कृषि फार्म दर्ता गरी उनीहरूले व्यावसायिक कृषि सुरु गरेका हुन्।

परिवारमा एकअर्काको साथ र सहयोगले सफलता हासिल गरेको उनीहरूको भनाइ छ। ढकाल परिवारले २०४० सालदेखि गर्दै आएको परम्परागत सुन्तला खेतीसँगै २०७४ सालदेखि कृषि फार्म मार्फत दर्ता गरी सुन्तला खेतीका अतिरिक्त कालिजपालन, अदुवा र अकबरे खुर्सानी खेती गर्दै आएका छन्।

उनीहरूले आफूबाहेक अन्य तीन जनालाई प्रत्यक्ष रोजगारी दिएका छन्। सुन्तलाखेती हाल १४ रोपनी क्षेत्रफलमा फैलिएको छ। सुन्तला खेतीबाटै वार्षिक पाँच/छ लाख रुपैयाँसम्म आम्दानी हुने दिनेशले बताए।

उनको फार्ममा साना ठूला गरी एक हजार बोट रहेकामा करिब २५० बोटमा सुन्तला फलेका छन्। राम्रो फल्ने एउटै बोटमा २० क्रेटसम्म फल्ने गरेको छ।

ढकाल परिवारले सात वर्ष अघि सुरु गरेको व्यावसायिक कालिजपालन पनि फस्टाउँदै गएको छ। फार्ममा हाल १३ हजारको संख्या कालिज छन्। तीन वर्षअघि जापान जाने सोचमा रहेकामा कालिज फस्टाउँदै गएपछि विदेश जाने मोह त्यागेको दिनेशले बताए।

प्रतिकालिज भाले दुई हजार ५०० र पोथि एक हजार ५०० रुपैयाँमा बिक्री हुने गरेको छ। सुरुमा २०७६ सालमा एक सयको संख्याबाट उनले कालिजपालन सुरु गरेका थिए। ‘व्यावसायिक कालिजपालनमा धेरै सम्भावना छ,स्वदेशभित्र मात्र नभइ चीन, दुबइ जस्ता देशमा कालिजको माग धेरै छ’, उनले भने, ‘कालिजपालनमा राज्यले प्रोत्साहन गर्ने होभने यही व्यवसायबाट मैले १५० जनासम्मलाई रोजगारी दिन सक्छु।’

तीन वर्षयता सुन्तला बगानभित्र अकबरे खुर्सानी तथा अदुवा खेती पनि गर्दै आएका छन्। अकबरे खुर्सानी वार्षिक छ/सात क्वीन्टलसम्म उत्पादन हुने गरेको जानकारी दिँदै ढकालले प्रतिकेजी होलसेलमा २५० रुपैयाँदेखि खुद्रा ४०० रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताए। उनहरूले अकबरे खुर्सानीबाट वार्षिम तीन लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन्।

सुन्तलाखेती, कालिजपालन, अकबरे खुर्सानी, अदुवासहित कूल २८ रोपनी क्षेत्रफलमा फार्म फैलिएको छ। व्यावसायिक कृषिमा राज्यको भने साथ र सहयोग आवश्यक हुने बताउँदै ढकालले आफूहरूले लामो समयदेखि फार्म सञ्चालन गरे पनि राज्यका तर्फबाट हालसम्म प्राविधिक सहयोग पाउन नसकेको दुःखेसो गरे।

‘प्राविधिक सहयोगका लागि आग्रह गर्दै फर्ममा आइदिनका लागि पटक पटक फोन गरे पनि सम्बन्धित निकायले चासो नदिएको मेरो अनुुभव छ’, उनले भने,‘केही गर्छुु भन्नेलाई राज्यका तर्फबाट प्रोत्साहन नभएमा युवाहरूलाई आकर्षित गर्न सकिन्छ।’

प्रकाशित: ८ पुष २०८२ १५:०२ | Tuesday, December 23, 2025

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast