काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा जिल्लाबाट आठौँ पटक चुनावी प्रतिस्पर्धामा सहभागी हुने आकांक्षा राखेका छन्। देउवाले आफू अब अन्तिम पटक चुनावी प्रतिस्पर्धामा उत्रने चाहना व्यक्त गरेका हुन्। २०४८ सालयता भएका चुनावमा निरन्तर निर्वाचित हुने देउवा एक मात्र नेता हुन्। उनी जिल्लाबाट सात पटक निर्वाचित भइसकेका छन्।
‘सभापतिज्यूसँग आसन्न निर्वाचन र पार्टी महाधिवेशनबारे कुराकानी भयो। उहाँले डडेलधुराबाट अन्तिम पटक चुनाव लड्ने इच्छा रहेको बताउनुभएको छ’, देउवासँग सोमबार भेटेका डडेलधुराका कांग्रेस नेता भुवन भट्टले भने।
यसैगरी देउवाले पार्टी महाधिवेशन र आमनिर्वाचनमा युवाको अर्थपूर्ण प्रतिनिधित्व गराउने विषयमा आफ्नो साथ रहने बताएको भट्टले जानकारी दिए। देउवालाई उधृत गर्दै भट्टले भने, ‘पार्टीमा नवयुवाको आकर्षण बढाउनु आवश्यक छ।’
डडेलधुरा कांग्रेसका सचिव हेमराज चटौतले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारबारे बिहीबार बस्ने जिल्ला पार्टी कार्यसमिति बैठकले टुंगो लगाउने बताए। चटौतका अनुसार देउवाले चाहेसम्म जिल्लाबाट अन्य नेताको नाम सिफारिस हुँदैन। उनले भने, ‘सभापतिज्यू जिल्लाका हरेक उमेर र समूहमा लोकप्रिय हुनुहुन्छ। उहाँले चाहेसम्म अरू व्यक्तिलाई उम्मेदवारको नाम सिफारिस गर्दैनौँ।’ देउवाजत्तिको उचाइ प्राप्त नेताका पक्षमा आफूहरू सधैँ सकारात्मक रहेको उनको भनाइ छ।
कांग्रेस नेत्री डिला संग्रौलाले जिल्लाका नेताकार्यकर्ताले रुचाएसम्म देउवाले आकांक्षा राख्नु स्वाभाविक रहेको बताइन्। उनले भनिन्, ‘डडेलधुराका जनताले चाहन्छन् भने कसैले रोकेर हुँदैन। देउवाको चुनाव उठ्ने चाहनालाई सकारात्मक रूपमा लिनुपर्छ।’
प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गतेका लागि तोकिएको छ।
सभापति देउवा कांग्रेसको राजनीतिमा ६० वर्षदेखि संलग्न छन्। ७९ वर्षीय देउवा पहिलोपटक ०४८ सालको आमनिर्वाचनमा डडेलधुराबाट निर्वाचित भएका थिए। देउवा २०५१ र २०५६ सालको संसदीय निर्वाचन, २०६४ र २०७० सालको संविधानसभा निर्वाचन, २०७४ र २०७९ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका थिए। २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री भएका देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका छन्।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते निवासमा आक्रमणबाट गम्भीर घाइते भएका थिए। उनी असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएर उपचारका लागि सिंगापुर गएका थिए। उपचारबाट फर्किएपछि उनी पार्टीमा पुनः सक्रिय भएको नेताहरूले बताएका छन्। पार्टी विधानअनुसार देउवा अब सभापतिमा प्रतिस्पर्धा गर्न पाउँदैनन्। कांग्रेसको १५ औँ महाधिवेशन पुस २६, २७ र २८ गते काठमाडौँमा हुँदै छ।



