काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले साविक विजेता जनकपुर बोल्ट्सलाई १७७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेटको क्षतिमा १७६ रन बनायो। चितवनका लागि दुवै ओपनरले अर्धशतक प्रहार गरे। डेभिड मलान र अर्जुन साउदबीच पहिलो विकेटका लागि १३.४ ओभरमा ११२ रनमा साझेदारी भयो।
साउदले ३९ बलमा ४ चौका र ३ छक्काको मद्दतमा ५२ रनको योगदान गरे। उनी यान निकोल लोफ्टी इटनको बलमा सञ्जय कृष्णमूर्तिबाट क्याच भए।
त्यसपछि सइफ जइब ७ र रवी बोपारा ३ रनमै आउट भए। जइबलाई अनिल साहले कृष्णमूर्तिबाट १५औं ओभरको अन्तिम बलमा क्याच गराए। बोपारा १७औं ओभरमा रुपेश सिंहको बलमा पाकिस्तानी खेलाडी माज सदाकतबाट क्याच हुँदै पेभिलियन फर्किए।
१९औं ओभरमा ओपनर मलान ८० रनमा आउट भए। उनले ५४ बलमा ४ चौका र ५ छक्का प्रहार गरे। उनी सदाकतको एलबीडब्लूको धरापमा परेका थिए।
अन्त्यमा कप्तान कुशल मल्लले १४ बलमा २ चौका र २ छक्काको मद्दतमा नटआउट ३० रनको योगदान दिए। बलिङमा जनकपुरका सदाकत, अनिल साह, रुपेश सिंह र लोफ्टी इटनले १-१ विकेट लिए।



